मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
२o८२ भदौ १६ सोमबार o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३० रुपैयाँमा पनि बिकेन जुम्लाको प्याज

भण्डारणको समस्याले चार करोडबराबरको उत्पादन बिग्रिने चिन्तामा किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o९:२o:oo

चन्दननाथ नगरपालिका– १, तलिचौर गाउँकी एकल महिला सावित्री कामीले लामो समयदेखि तरकारी खेती गर्दै आएकी छिन् । पाँचजनाको परिवार पाल्न उनले १० रोपनी जग्गा लिजमा लिएर सागपात, आलु, लसुन, प्याज, टमाटर, फर्सी, काउली, काँक्रालगायतका तरकारी उत्पादन गर्दै आएकी छिन् । यही पेसाबाट उनले गत वर्ष तीन लाख आम्दानी गरेको बताइन् । 

यो वर्ष उनले २० क्विन्टलभन्दा बढी प्याज उत्पादन गरेकी छिन् । तर, स्थानीय बजारमा ३० रुपैयाँ केजीमा पनि बिक्री हुन नसकेको गुनासो गरिन् । तर, गत वर्ष तरकारीबाट राम्रो आम्दानी गरेको भए पनि यो वर्ष मुस्किल भएको उनको भनाइ छ । ‘ठुलो मात्रामा उत्पादन भएको प्याज बिक्री नहुँदा कसरी घर–व्यवहार चलाउने र भाडामा लिएको जग्गाको भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भनिन्, ‘समयमा प्याज बिक्री नहुँदा दिन–प्रतिदिन कुहिँदै जान थालेको छ ।’ सोही गाउँकी सन्ध्या मल्लले पनि घर प्याजले भरिएका कारण स्टोर गर्न समस्या भएको बताइन् । उनले भनिन्, ‘मेरो घर प्याजले भरिएको छ । कहाँ राखौँ । कहाँ फालौँ । ठाउँ छैन । यो सबै समयमा बिक्री नहुँदा र बजारीकरणको समस्याले हो । प्याज आजभोलि प्रतिकेजी ३० रुपैयाँमा पनि बिक्री हुने गरेको छैन ।’

तलिचौरको एक सय ४५ घरधुरीमा अहिले प्रत्येक घरमा कम्तीमा १० क्विन्टल प्याज उत्पादन भएको छ । तर, मूल्य नपाउँदा कसैले पनि बिक्री गर्न नपाएको किसान मल्लले बताइन् । चन्दननाथ नगरपालिका– १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले तलिचौरका किसानको मुख्य आयस्रोत नै तरकारी खेती भएको बताए । नर्वे सरकार र युएनडिपीको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाले ‘कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना सञ्चालन गरेको छ । सोही परियोजनाअन्तर्गत तरकारी उत्पादन पकेट क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गरिएको हो । कृषक पाठशाला, जैविक खेती, थोपा सिँचाइ, प्लास्टिक टनेल, गोठ सुधार, झोलमल र जैविक विषादी निर्माणलगायतका गतिविधिमा दाताले सहयोग गरेका छन् । 

तातोपानी गाउँपालिका– २, जर्मीगाउँका २८ जना र चन्दननाथ नगरपालिका– १, तलिचौरका २२ जना गरी ५० जना युवा किसानलाई व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन ६४ लाख २५ हजार लगानी भएको थियो । सो गाउँमा अहिले चार करोडबराबरको प्याज उत्पादन भएको छ । जुम्लाकै स्थानीय बजारमा खपत हुँदैन । सुर्खेत, नेपालगन्जमा केही मात्रमा बिक्री भए पनि धेरै प्याज थन्किएर बसेको वडाध्यक्ष न्यौपानेले बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्थानीय उत्पादनलाई बजारीकरणको समस्या नै देखिएको छ । उनले भने, ‘बेमौसममा यहाँको तरकारी नपुगेर बाहिरबाट तरकारी आयात हुन्छ । तर, मौसममा यहाँको तरकारी यहाँ खपत हुने गरेको छैन । ठुलो भोलुममा तरकारी उत्पादन गरी बाहिर बजारसम्म सञ्जाल जोड्न आवश्यक छ ।’  

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी भन्छन्– चन्दननाथमा हुँदै आएको स्थानीय उत्पादनलाई बजारीकरणको समस्या देखिएको छ । बेमौसममा यहाँको तरकारी नपुगेर बाहिरबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ । मौसममा पनि यहाँको तरकारी यहीँ खपत हुन सकेको छैन । ठुलो भोलुममा तरकारी उत्पादन गरी बाहिर बजारमा जोड्न आवश्यक छ ।

छुटाउनुभयो की ?