
रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाउनु पहिला १० मिनेटको भिडियो सन्देश बाहिरिएकाे छ । हत्यामा रुबीकी आमा नै प्रमुख दोषी रहेको भन्दै उनले भिडियो बनाएका हुन् । माधवनारायण नगरपालिका– ६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आफ्नो शरीरमा आफैँले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन् । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि रुबीको हत्या आफैँले गरेको बताएका छन् । भिडियो सन्देशमा उनले रुबीको हत्या आफैँले गरेको स्वीकार गरेका हुन् ।
माधवनारायण नगरपालिका– २ घर भएकी रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो । घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकार गरेका छन् ।
उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेमविवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् ।
उनले जारी गरेको भिडियो सन्देशमा राजन, राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन् । उनको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफ्फरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो ।
हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ । उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरू हुने खाने धनीमानीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।
आफ्नै शरीरमा आगो लगाएर घाइते भएका लक्ष्मण पासवानको यतिवेला रौतहटको गरुडास्थित एक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनले बनाएको भिडियोमा अब आफुहरूको भेट माथि हुनेछ भनेका छन् । हत्या भएको राति आफुहरूले लामो समय कुराकानी गरेको र दुवैजनाले मर्ने निधो गरेको उनको भिडियोमा उल्लेख छ । पासवाले भिडियोमा आफु जेल जान नचाहेको र रुबीलाई भेट्न जान लागेकाले पक्राउ परेका रिक्साचालकको कुनै दोष नरहेको बताएका छन् ।