मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
कल्पना धमला
२o८२ भदौ १० मंगलबार o७:५२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मौलिकतातिर फर्किंदै गरेको तिज

Read Time : > 4 मिनेट
कल्पना धमला
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार o७:५२:oo

भड्किलो र विकृत बन्दै गएको तिज पर्व समाजको आलोचनासँगै अहिले बिस्तारै मौलिकमा फर्किन खोजिरहेको छ

हरितालिका अर्थात् तिजलाई पर्वका रूपमा किन मनाइयो भन्ने प्रश्नसँग नेपाली हिन्दु महिलाको भावना, वेदना र विद्रोह जोडिएको पौराणिक इतिहास छ । 

पौराणिक पक्ष : तिज पर्व यही वेलादेखि सुरु भयो भन्ने यकिन छैन । तैपनि, यो पर्व उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । तिज भारतमा भन्दा नेपालमै बढी महत्वसाथ मनाइन्छ । धार्मिक कथाअनुसार पर्वत राजा हिमालयपुत्री पार्वतीको विवाह प्रसंगबाट तिज पर्वको सुरुवात भएको किंवदन्ती सुनिन्छ । हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । तर, पार्वती महादेव (शिव) लाई मन पराउँथिन् । महादेव पति पाऊँ भनेर प्रार्थना, व्रत गरिहेकी हुन्थिन् । उनी महादेव (शिव) सँगै विवाह गर्न चाहन्थिन् । बाबुको निर्णय र आफ्नो इच्छा नमिलेपछि पार्वतीलाई ठुलो संकट पर्‍यो । यो परिस्थितिबारे पार्वतीले आफ्नो साथीसंगीलाई बताइन् । साथीसंगीले पार्वतीको इच्छा पूरा गरिदिन उनलाई घर र समाजबाट हरण गरेर लुकाए । त्यो दिन भाद्र शुक्ल तृतीया तिथि परेको थियो । पर्वत राजा हिमालयकी पुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएको दिन पार्वतीले निराहार प्रार्थना र व्रत गरिन् । उनको पुकारका कारण महादेव प्रकट भए । साथीसंगीले महादेव (शिव) र पार्वतीको विवाह गराइदिए । नाचगान, भोजभतेर गरी खुसियाली मनाए । महादेव र पार्वतीको विवाह प्रसंगलाई हरितालिका अर्थात् यसको लोकप्रसिद्ध नाम तिज पर्वका रूपमा महिलाहरू निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ । हरितालिकाको शाब्दिक अर्थ हो, हरित+आलिका । हरितको अर्थ हो हरण र आलिकाको अर्थ हो साथी । साथीले हरण गरेर लुकाएको किंवदन्ती नै हरितालिका हो । नेपालमा खासगरी हिन्दु समाजमा प्राचीनकालदेखि नै हरितालिका तिजलाई महत्वपूर्ण पर्वका रूपमा मनाइने गरेको पाइन्छ । विवाह भएर टाढा–टाढा पुगेका छोरीचेली, भान्जीलाई घर सम्झने, माइती लिन जाने, कुनै कारणवश आउन नमिल्ने परिस्थितिमा भेटघाट गरेर फर्किने परम्परा बस्यो । माइत आएका छोरीचेली, बाबुआमा, दाजुभाइ जम्मा भए रमाइलो भेटघाटबिच द्वितीयाका दिन मिठो एवम् स्वादिष्ट दर खाने, तृतीयाका दिन व्रत बसी पूजा गर्ने, नाचगानका माध्यमले आफ्ना सुखदु:ख, पिरमर्का व्यक्त गर्ने अवसर तिजले नै जुराउँथ्यो । तिजमा विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै र अविवाहितले सुयोग्य पति (वर) को आशा राखी व्रत गर्ने धार्मिक विश्वास छ । यस दिनमा पानी पनि नखाई व्रत गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । तिज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीको दिन ३६५ वटा दत्तिवनले दाँत माझी विभिन्न ठाउँका माटो शरीरमा लेपन गर्दै स्नान सकेपछि ऋषिमुनीको पूजा गरी तिज पर्वलाई बिदा गर्ने परम्परा रहेको छ ।

सामाजिक पक्ष : मानव समाजको विकासक्रमसँगै हिन्दु धर्म र परम्परामा महिला (नारी) अस्तित्व/पहिचानविहीन हुन पुगे । हिन्दु नारी घरको चुलोचौका र समाजको चौघेराबाट बाहिर निस्किएर बोल्ने, आफ्नो इच्छा, चाहनाअनुसार काम गर्ने छुट थिएन । आफूमाथि परेको पिर, मर्का, अन्याय अत्याचारविरुद्ध बोल्ने र न्याय खोज्ने अवस्था थिएन । धर्म, संस्कार र संस्कृतिमा पुरुष बन्धनको घेरा नाघेर आफूखुसी निर्णय लिन सक्ने कुनै ठाउँ थिएन । सधैँभरि पतिको सम्पत्ति र वंश धान्ने साधनका रूपमा नारीलाई हेरियो । तर, उनको सहअस्तित्व स्वीकार गरिएन । केही बोल्यो भने पोथी बासेको भनियो । बोल्न बन्देज थियो । रजस्वला भएपछि कन्यादान गरेको फल प्राप्त हुँदैन भन्ने धार्मिक कानुनको डरले बालविवाह गरिन्थ्यो । कति त विवाह के हो ? श्रीमान् कस्ता थिए भन्नेसम्म थाहै नपाई ‘बालविधवा’ भएर जीवन बिताउन विवश हुन्थे । बहुविवाहको प्रचलन पनि उत्तिकै थियो । घृणा, हेला, अपमानको सीमा थिएन । महिलालाई बच्चा जन्माउने मेसिन र काम गर्ने दासका रूपमा व्यवहार गरिन्थ्यो । मुख्य पेसा कृषि (खेतिपाती र पशुपालन) भएकाले अत्यधिक श्रमयुक्त काम गर्नुपथ्र्यो । बुहारीलाई राम्रो लगाउन र मिठो खान दिने प्रचलन कमै थियो । यस्तो दर्दनाक जीवन जिउन विवश महिलाले हरितालिका तिज पर्वका वेलामा आफ्ना बाबु, दाजुभाइ लिन आएपछि माइत जान पाउँदा निकै स्वतन्त्र भएको महसुस गर्थे । घरको चर्को श्रमयुक्त कामले थाकेको शरीर, घोचपेच, अपमान, अन्याय र अत्याचारले भावनामा चोट पुगेको मन लिएर माइतमा बाबुआमा, दाजुभाइ, दिदीबहिनीको साथमा बसेर जेजस्तो सकिन्छ, सुखदु:ख बाँड्ने, मिठोमसिनो खाने, राम्रो गहना, कपडा लगाउने आमा दिदीबहिनी, साथीसंगी र आफन्तसँग मन्दिरपरिसर, फराकिलो चौतारा वा चौरमा जम्मा भएर एक–अर्काका जीवनमा परेका सुखदु:ख र समाजमा घटेका घटनालाई गीतसंगीतका माध्यमबाट अभिव्यक्त गरिन्थ्यो । नाचेर, गाएर, रमाएर एकदिन भए पनि आफू स्वतन्त्र भएको अनुभूति गर्ने, आनन्द महसुस हुने भएकाले हिन्दु महिलाले विशेष महत्वसाथ तीज पर्वलाई लिँदै आएका छन् ।

समयको परिवर्तन र संसारको विकासको गतिसँगै नेपाली हिन्दु महिलाको जीवनमा पनि परिवर्तन हुन थाल्यो । तिनले पनि पढ्ने, लेख्ने गर्न थाले । कामका लागि घरबाहिर आउन थाले । पेसा बदलिन थाल्यो । बालविवाह घट्न थाल्यो । महिलाको सहअस्तित्व स्विकार्न थालियो । राजनीतिकर्मी महिलाले तिजलाई महिला अधिकारका पक्षमा चेतना जगाउने माध्यमका रूपमा उपयोग गर्न थाले । अंशबन्डाको हकसहित समानताको मुद्दामा सचेत गराउने खालका राजनीतिक छलफल, बहस, अन्तत्र्रिmया, गीत प्रतियोगिता हुन थाले । अहिले पनि हुने गरेका छन् ।

राजनीतिक परिवर्तन र महिला अधिकारको स्थापनामा सचेत महिलाले तिज पर्व र परम्परालाई मौलिक ढंगले उपयोग गर्दै आउनु सकारात्मक पक्ष पनि हो । गणतन्त्र प्राप्तिपछि महिलाले न्याय, समानता र स्वतन्त्रताको पक्षमा प्राप्त अधिकारलाई केही हदसम्म तिजका माध्यमबाट पनि उच्शृंखलता प्रदर्शन गर्न पुगे । छाडा, अश्लील, संस्कार र संस्कृतिबाहिरका दोहोरी गीत रेकर्ड गर्ने, बजाउने, समाजलाई भड्किलो बनाउने, तारे होटल र पार्टी प्यालेसमा दर खाने नाममा महिनौँ भड्किलो पोसाक, गरगहना प्रदर्शन गर्ने र चाडपर्वको मर्म र भावनाविपरीत भड्किलो र विकृत बनाउने कोसिस पनि भयो । यसबारे निकै ठुलो आलोचना भइरहेकै छ । अहिले बिस्तारै तिज पर्व लयमा फर्किन खोजिरहेको छ । यो वर्ष ढिलो तिज मनाउन सुरु गरियो र गीतहरू पनि धेरै हदसम्म मौलिक बनेका छन् । समूह–समूहका महिला सामान्य पोसाकमा तिज मनाउन निस्किएका छन् । केही राजनीतिक दलका महिलाले पनि तिजबारे बहस, छलफल गरिरहेका छन् । केही समयदेखि भड्किलो बन्दै गएको तिजलाई आआफ्नो गच्छेअनुसार घरमै जम्मा हुने, दर खानेतिर फर्काउन खोजिरहेको आभास भएको छ ।

आर्थिक पक्ष : जुन वेला मानिसको पेसा कृषि थियो, मुद्रा कम र वस्तु विनिमयको प्रचलन बढी थियो । सूचना, सञ्चार र प्रविधिको विकास भएको थिएन । वैदेशिक क्षेत्रमा आवतजावत र सामान आयात, निर्यातको प्रचलन र माध्यम थिएन ।

त्यतिवेला अत्यावश्यक मात्र लत्ताकपडाको प्रयोग गरिन्थ्यो । हातले निर्माण गरिएका गरगहना प्रयोग हुन्थे । कपडा सापेक्षित सबैको उस्तै नै हुन्थ्यो । धनीहरूले सुनको गरगहना लगाउँथे । गरिबले चाँदी र धातुका गहना लगाउँथे । समय र परिस्थितिको गतिअनुसार विज्ञान प्रविधिको विकासले छलाङ मार्दै संसारलाई साँघुरो बनाइदियो । संसारको जुनसुकै कुनामा बसेको मान्छे जुनसुकै कुनामा जान र बस्न सक्ने, जुनसुकै कुनामा उत्पादन भएको सामग्री जुनसुकै कुनामा पुर्‍याउन सकिने भएको छ । तिजकै सन्दर्भमा महिलाले लगाउने रातो चुरा, पोते, टीका, सिन्दुर, रातो साडी, कुर्ता, लेहेंगालगायत अर्बौं मूल्यका सामग्री विदेशबाट भित्रिन्छन् । त्यसैगरी, साउनमा पनि हरिया र पहेँला चुरा, पोते, कपडा उत्तिकै मात्रामा भित्रिन्छन् । यसले देशको अर्थतन्त्रमा गहिरो नकारात्मक प्रभाव पारिरहेको छ । कसैकसैले एकपटक लगाएका गहना, एकपटक लगाएका कपडा अर्कोपटक लगाएर अर्को ठाउँमा नजाने, डिजाइन र फेसनअनुसारका गहना र कपडा बदल्ने सोखका कारण पनि देशको आवश्यकताभन्दा बढी रकम बाहिरिने गरेको छ । एकपटक किनेको सामान प्रयोग गर्न मिल्दासम्म गर्ने, मितव्ययी चिन्तनमा सुधार गर्ने हो भने बिदेसिने रकम कटौती गर्न सम्भव हुन्छ ।

निष्कर्ष : हरेक वस्तु र परम्पराको सकारात्मक र नकारात्मक गुण र विशेषता हुन्छ । तिज पर्वको पनि सकारात्मक र नकारात्मक पक्ष हुने नै भयो । तर, सारमा तिज हरितालिका पर्वलाई कसरी हेर्ने ? बुझ्ने ? यो पर्वले दिन खोजेको सन्देश के हो ? कसरी ग्रहण गर्ने ? भन्ने कुराको गहिराइमा पुग्न आवश्यक हुन्छ । अहिलेसम्म आउँदा यो पर्वलाई मुख्यगरी धार्मिक पर्वकै रूपमा बुझाइएको र बुझिएको छ ।

पहिलो कुरा, धार्मिक आँखाले यो पर्वलाई हेर्दा पार्वतीले साथीसंगीको सहयोगमा समाजसँग विद्रोह गरेर आफ्नो मनोकांक्षा पूरा गरेको यथार्थलाई ओझेलमा पारेर धार्मिक कोणबाट मात्रै व्याख्या गरिएको छ । व्रत, पूजा, पाठ र प्रार्थनामा केन्द्रित गरिएको छ । दोस्रो, सामाजिक, सांस्कृतिक आँखाले हेर्दा आफूले जन्माएको सन्तान (छोरी) आफूबाट टाढा रहनुपर्ने परम्परामा बाबुआमाको साथमा माइत जाने, बाबुआमाको सेखपछि पनि दाजुभाइले यो सामीप्यलाई जीवन्त बनाउन बाबुआमा, दाजुभाइ र दिदीबहिनीको भेटघाट हुने, मिठोमसिनो खाने, राम्रो लगाउने, रमाइलो गर्ने, आनन्द लिएर सुखानुभूतिसहित सामीप्यमा बाँधिने राम्रो पक्ष निर्माण गरेको छ ।

तेस्रो, राजनीतिक आँखाले हेर्दा तिज पर्वको एउटा पक्ष पितृसत्तात्मक सामन्ती समाज र संस्कृतिलाई पार्वती र पार्वतीका साथीसंगीले दह्रो झापड हानेको पाइन्छ भने अर्कातर्फ पार्वतीले आफ्नो इच्छा विद्रोहका माध्यमबाट पूरा गरेकी हुनाले अधिकारका लागि विद्रोह गर्नुपर्ने सन्देश प्रवाह गरेको छ ।

तिज पर्वको धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पक्षलाई केलाउँदा पितृसत्तात्मक सामन्ती समाजविरुद्ध ‘विद्रोह दिवस’का रूपमा मनाउनु नै साँचो अर्थमा तिज पर्व मनाउनुको सार्थकता रहन्छ ।

(धमला नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य हुन्)