
उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान माग गर्दै थालेको आन्दोलनलाई थप सशक्त बनाएका छन् । आइतबार माइतीघर मण्डलामा भेला भई आन्दोलन सुरु गरेका किसानले सोमबार १२ बजेबाट माइतीघर धर्ना दिनुको सट्टा नयाँ बानेश्वरसम्म र्याली गरेका छन् ।
उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायले सरकारलाई दबाब दिन आन्दोलन थप कडा पारिएको बताए । ‘लामो समयदेखि पाइरहेको सरकारी अनुदान यो वर्षदेखि कटौती गर्ने सरकारको निर्णयबाट सबै उखु किसान निराश छौँ,’ उनले भने, ‘त्यसैले किसानहरू सोमबार आक्रोशित मुद्रामा प्रस्तुत भएका हुन् ।’ माइतीघर–बानेश्वर रुटमा र्याली गर्दा किसानले ‘भिख होइन, अधिकार चाहिन्छ, उखु कृषकको शोषण बन्द गर, सरकारको लापरबाही स्वीकार छैन, विगतको अनुदान अविलम्ब भुक्तान गर, किसान मार्न पाइँदैन,’लगायतका नारा लगाएका थिए ।
महासंघका अनुसार मोरङ, सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कञ्चनपुरका करिब ६ सय किसान आन्दोलनका लागि काठमाडौंमा भेला भएर १५ भदौभित्र माग पूरा गर्न सरकारलाई दबाब दिएका छन् । आन्दोलनका लागि आएका उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले श्रमिकको अधिकार पाउन दु:ख भोग्दै आउनुपरेको गुनासो गरे । ‘हामीले अधिकार लिन पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यता बनेको छ,’ उनले भने, ‘अहिले पनि सरकारी अनुदान खोसिएकोमा निरन्तरता हुनुपर्छ भन्ने माग राखेर आन्दोलनमा छौँ ।’ उनले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
पाँच वर्षअघि पनि काठमाडौंमा गरेका थिए आन्दोलन
पाँच वर्षअघि ०७७ मंसिरमा किसानले उद्योगीबाट ९० करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । त्यसपछि सरकारको समन्वयमा उद्योगीबाट किसानको पैसा असुल गरिएको थियो । अहिले उद्योगीले दिने बक्यौता नरहेको, तर सरकारले नै किसान ठग्न लागेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको सर्लाहीको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताए । उनी पनि आइतबारदेखि किसानसँगै आन्दोलनमा छन् । सर्लाही सबैभन्दा बढी उखुखेती हुने जिल्ला हो । सर्लाहीको पनि गोडैतामा धेरै उखुखेती हुने गरेको छ ।
मेयर यादवले पाँच वर्षअघि उद्योगीविरुद्ध आन्दोलन गरेर पैसा असुलेकाले अहिले फेरि सरकारविरुद्ध आन्दोलन गरेर खोसिएको अनुदान फिर्ता पाउने अपेक्षा राखेको बताए । ‘उखुखेती फस्टाएर चिनीमा आत्मनिर्भर हुन लागेका वेला सरकारी अनुदान कटौती गर्नु राम्रो होइन,’ उनले भने, ‘बरु थपिदिनुपर्छ ।’
उनले गत आवको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले भए पनि तत्कालै रकम निकासा गरिदिनुपर्ने पनि बताए । ‘अहिलेलाई आधा रकम मात्रै निकासा गरे पनि किसानले दसैँ, तिहार र छठ मनाउने थिए,’ उनले भने, ‘थप रकमका लागि फेरि पहल गर्दा हुने थियो, तर सरकाले यो पनि मानेको छैन ।’
उखु किसानले कृषिमन्त्रीसँग गरे वार्ता
किसान प्रतिनिधिले सोमबार करिब ११ बजे सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट गरेका थिए । भेटमा मन्त्री अधिकारीले किसानका समस्या समाधानका लागि अधिकतम पहल भइरहेको आश्वासन दिए । ‘मन्त्रीज्यूले प्रतिक्विन्टल ७० रुपैयाँ नै किसानले पाउनुपर्छ भनेर वकालत गरिरहेको छु भन्नुभयो,’ संयोजक रायले भने, ‘सोमबारको मन्त्रिपरिषद्बाट पनि केही समाधान निकाल्न आश्वस्त पार्नुभएको छ ।’