मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
मारिया सिल्भिया ट्रिगो
२o८२ भदौ १० मंगलबार ११:४७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बोलिभियामा समाजवादी पार्टी पतनको अन्तर्य

Read Time : > 4 मिनेट
मारिया सिल्भिया ट्रिगो
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार ११:४७:oo
  • कुनै समय कोका खेती गर्ने किसान इभो मोरालेस लोकप्रिय समाजवादी आन्दोलनको बलमा देशको सबैभन्दा शक्तिशाली व्यक्ति हुँदै अहिले एक फरार अभियुक्त हुन्

बोलिभियामा थोरै व्यक्तित्वले मात्र इभोेले जस्तै तीव्र ध्रुवीकरण जगाउन सक्छन् । तीन कार्यकालका राष्ट्रपति इभोे कसैका लागि २० लाख मानिसलाई गरिबीबाट उकास्ने व्यक्ति हुन् भने अरूका लागि भ्रष्टाचारको आरोप लागेका एक अधिनायकवादी राजनीतिज्ञ ।

यद्यपि इभोे पदबाट बाहिरिएको ६ वर्षमा देश धेरै बदलिसकेको छ, जुन परिवर्तन उनी स्वयंले पनि भोगेका छन् । मुद्रास्फीति, घट्दो विदेशी मुद्रा भण्डारण र प्राकृतिक ग्यास उद्योग धराशयी हुँदाका संयुक्त प्रभावमा देश आर्थिक संकटमा फसेको छ । र, कुनै समय कोका खेती गर्ने किसान इभो लोकप्रिय समाजवादी आन्दोलनको बलमा देशको सबैभन्दा शक्तिशाली व्यक्ति हुँदै अहिले एक फरार अभियुक्त हुन् । साथै उनीमाथि सो आन्दोलनमा विभाजनको बिउ रोपेको आरोप पनि छ ।

अगस्ट १७ मा बोलिभियाका मतदाता नयाँ राष्ट्रपति र संसद् सदस्यको निर्वाचनमा सहभागी भए । निर्वाचनमा कुनै पनि राष्ट्रपतीय उम्मेदवारले आवश्यक ५० प्रतिशत मत हासिल गर्न सकेनन् । पहिलो र दोस्रो बढी मत हासिल गरेका मध्यपन्थी र दक्षिणपन्थीबिच अब अक्टोबर १९ मा दोस्रो चरणको निर्वाचन हुँदै छ । दुईमध्ये जसले जिते पनि २० वर्षपछि पहिलोपटक बोलिभियाले गैर–वामपन्थी राष्ट्रपति पाउने पक्का भएको छ ।

यो मतपरिणामसँगै ‘मुभमेन्ट फर सोसलिज्म (एमएएस)’ भनेर चिनिने बोलिभियाली समाजवादी पार्टी २० वर्षपछि सत्ताबाहिर हुनेछ । केही विज्ञले यस मतपरिणामका लागि आंशिक कारण इभो रहेको बताएका छन् । पछिल्लो निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार हुनबाट वञ्चित गरिएपछि इभोले आफ्ना समर्थकलाई चुनावमा मतदान नगर्न प्रोत्साहित गरे । कैयाँैले यस रणनीतिले अन्तत: विपक्षीलाई फाइदा पुर्‍याएको ठम्याएका छन् । केही स्थानमा त इभोका कट्टर समर्थकले निर्वाचन भाँड्ने उद्देश्यले सडक अवरुद्ध गरेर ‘इभोेविना कुनै चुनाव नहुने’ नारा लगाएका थिए ।

राष्ट्रपति पदको चुनावमा मोरालेसको निर्णयको असर बुझ्न हामीले त्यहाँको वस्तुस्थिति बुझ्नुपर्छ । विशेषत: देशको विशाल आदिवासी र ग्रामीण मतदातामाझ उनको अझै ठुलो प्रभावलाई ख्याल गर्नुपर्छ । बोलिभिया ल्याटिन अमेरिकामा जनसंख्याको अनुपातमा सबैभन्दा ठुलो आदिवासी नागरिक भएको देश हो । झन्डै ४० प्रतिशतभन्दा बढी नागरिकले आफूलाई आदिवासीको रूपमा चिनाउँछन् । त्यसबाहेक एक चौथाइ नागरिक बसोवास गर्ने ग्रामीण इलाकामा मोरालेसप्रति अझै बलियो समर्थन देखिन्छ ।

युनियन नेतादेखि राष्ट्रपतिसम्म
बोलिभियाको मध्यभागमा अवस्थित उच्च पहाडी क्षेत्रको आदिवासी ‘आयमारा’ परिवारमा जन्मिएका इभो सन् १९८० को दशकमा देशको कोका–उत्पादक मजदुरको संगठनमार्फत बलियो राजनीतिक नेताको रूपमा उदाएका थिए । त्यो समय कोका किसानहरूले आफूले उब्जाउने बाली उन्मूलन गर्न बोलिभियामाथि अन्तर्राष्ट्रिय दबाब रहेकोप्रति असन्तुष्टि र चिन्ता व्यक्त गरिरहेका थिए । कोका लागू पदार्थ कोकेनको कच्चा पदार्थको रूपमा समेत प्रयोग गरिने भएकाले अमेरिकाले त्यसको उत्पादन रोक्न ल्याटिन अमेरिकाभर दबाब दिइरहेको थियो ।

तर, बोलिभियिाली किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको यस खेतीको प्रतिरक्षामा किसान आन्दोलन उठ्यो । राजनीतिज्ञको रूपमा आफ्नो प्रारम्भिक कालमा, इभोले कोका खेती जबर्जस्ती उन्मूलन गर्नुपर्ने दबाबविरुद्ध सार्वजनिक प्रतिरोधको नेतृत्व गरेका थिए । विज्ञहरूका अनुसार उनले युनियनको शक्तिलाई राजनीतिक दलमा परिणत गरे, जुन अन्तत: एमएएस बन्यो । एमएएसबाट उनी सन् १९९७ मा पहिलोपटक सांसद बने । तर, सांसद कार्यकाल सकिने वेलामा उनलाई कोका–कृषकले गरेको विरोध प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा सांसद पद खोसियो । तर, उनले त्यो सजायलाई थप उच्च तहमा पुग्ने टेको बनाउने प्रयोग गरे । सन् २००५ मा इभोले राष्ट्रपति पदको उम्मेदवारी दिए । र, पहिलो प्रयासमै उनी राष्ट्रपति निर्वाचित पनि भए । जितसँगै उनी बोलिभियाको आदिवासी मूलका पहिलो आधुनिक राष्ट्रपति बनेका थिए ।

पदभार ग्रहण गरेपछि उनले देशको खनिज इन्धन उद्योगलाई राष्ट्रियकरण गरे । राज्यको राजस्व बढाए । आर्थिक वृद्धि उच्च कायम राखे । उनको कार्यकालमा सामाजिक खर्चमा भएको वृद्धिले बोलिभियाको असमानता दरमा उल्लेख्य गिरावट आयो । जस्तो, सन् २००५ मा देशमा चरम गरिबीको रेखामुनि रहेको जनसंख्या ६२.९ प्रतिशत रहेकोमा सन् २०१२ मा घटेर ४०.९ प्रतिशत पुगेको थियो ।

इभोको ओरालो यात्रा
यस्ता सुधारले इभोलाई दुईपटक पुन: निर्वाचित गराउन सघायो । यद्यपि, तेस्रो कार्यकालको पछिल्लो समयदेखि उनी विभिन्न विवादमा फस्न थाले । साथै उनमा रहेको बलियो सत्तामोह प्रकट हुन थाल्यो । सन् २०१६ मा इभो सत्तामा रहँदा उनकी एक पूर्वप्रेमिका सत्तालाई प्रयोग गरेर फाइदा लिएको र अवैध धन आर्जन गरेको आरोपमा पक्राउ परिन् । त्यही वर्ष संविधानले बन्देज लगाएको चौथो कार्यकालमा इभोले उठ्न पाउने कि नपाउने भन्ने विषयमा जनमत संग्रह भएको थियो । जसमा उनले चौथो कार्यकालका लागि उम्मेदवार हुन पाउने गरी संविधान संशोधन गर्न नहुने पक्ष झिनो अन्तरले विजयी भयो ।

तर, २०१७ को अन्त्यमा सत्तारुढ पार्टीले देशको सर्वोच्च अदालत, संवैधानिक न्यायाधीकरणलाई चौथो कार्यकालमा उम्मेदवार बन्ने बाटो खोलिदिन अपिल गर्‍यो । अदालतले सो माग सदर गरिदियो । फैसलाको विरोधमा ठुलो प्रदर्शन नै भएको थियो । ‘एमएएस र सरकारको समस्या त्यही वेलादेखि सुरु भएको थियो,’ सन् २०१५ देखि २०१८ बिच इभोको सरकारमा रक्षामन्त्री रहेका रेमी फरेराले भने, ‘पाँच न्यायाधीशको बेन्चले गरेको फैसलासँगै जनमत संग्रहमा लाखौँको मतको अपमान भयो ।’

संवैधानिक अदालतको फैसलापछि इभो सन् २०१९ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बने । चुनावी मतपरिणाममा उनी विजयी भएको घोषणासमेत भयो । तर, लगत्तै चुनावमा व्यापक धाँधली भएको आरोपमा ठुलो विरोध प्रदर्शन भयो । देशको सेनाले समेत साथ छाडेपछि इभो आफैँ देश छाडेर भागे । तर, आजको दिनसम्म उनी र उनका समर्थकले त्यस प्रकरणलाई ‘कु’को संज्ञा दिँदै आएको छ । बिचमा एक वर्ष जेनिन एनेसको शासनपछि भएको निर्वाचनमा पुन: इभोको समर्थनमा उनको शासनमा अर्थमन्त्री रहेका लुइस आर्से राष्ट्रपति बने ।

आर्सेको जितपछि इभो निर्वासनबाट बोलिभिया फर्किने बाटो खुल्यो । आर्सेले राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेको दुई दिनपछि इभो फर्किए । लगत्तै उनले देशको कोका–उत्पादन हुने क्षेत्रमा तीनदिने यात्रा गरे । उनको देश भ्रमणमा ८०० सवारीसाधनको लर्को देखिएको थियो, जसलाई ग्रामीण मतदातालाई परिचालन गरिएको थियो ।

वामपन्थीबिच विभाजनको बिउ
जसरी पनि चौथोपटक राष्ट्रपति बन्ने इभोको महŒवाकांक्षा अझै मरेको थिएन । सोही महŒवाकांक्षाले सन् २०२५ को चुनावमा वामपन्थीबिच कलहको बिउ रोपेको थियो । सन् २०२३ मा संवैधानिक अदालतले सन् २०१७ को निर्णयलाई उल्ट्याउँदै कोही पनि व्यक्ति दुई–कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउने सीमा तोक्यो । फैसलालाई लत्याउँदै इभो भने पार्टीले आफूलाई राष्ट्रपति उम्मेदवार बनाओस् भन्ने चाहन्थे । यसले आर्से र उनीबिच दरार उत्पन्न गर्‍यो । एक समय सन् २०२४ तिर एमएएसको अध्यक्ष पदमा इभो र आर्सेका सहयोगी ग्रोभर गार्सिया दुवैको दाबी रह्यो । मुद्दा अदालतसम्म पुग्यो । अदालतले अन्तत: गार्सियाको पक्षमा फैसला सुनायो । त्यसपछि इभोले आफैँले गठन गर्न सघाएको एमएएस छाडे र नयाँ राजनीतिक दल ‘इभोे प्युलो’ स्थापना गरे । वामपन्थीहरू थप विभाजित भए ।

इभोलाई यही समयमा राजनीतिक मात्र होइन, चारित्रिक संकट पनि आयो । जनवरीमा उनी सन् २०१५ मा पदमा हुँदा एक १५ वर्षे किशोरीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहरिए । ती किशोरीले अर्को वर्ष एक बच्चालाई जन्म दिएको पनि अदालती सुनुवाइमा खुलासा भएको थियो । फैसलापछि उनी पक्राउ पर्नबाट बच्न भाग्दै हिँडिरहेका छन् । तथापि, फरार रहँदा पनि उनले आफ्नो राजनीतिक प्रभाव भने प्रयोग गर्न छाडेनन् । उनले विशेषत: वामपन्थीलाई आक्रमणको निसाना बनाइरहेका थिए । आफ्ना समर्थकलाई कुनै उम्मेदवारलाई मत नदिन भनिरहे ।

उता, एमएएसमा प्रमुख नेताले उम्मेदवारी नदिएपछि ३६ वर्षिय पूर्वमन्त्री एड्आर्डो डेल क्यास्टिलोलाई राष्ट्रपति पदको उम्मेदवार बने । राष्ट्रपतीय उम्मेदवार घोषणा गरिएलगत्तै आफू उम्मेदवार हुन नपाएका इभोले वामपन्थी उम्मेदवारको आलोचना तीव्र बनाए । अगस्ट १७ को निर्वाचनमा क्यास्टिलोले दक्षिणपन्थी प्रतिस्पर्धीले भन्दा धेरै कम मत पाएका छन् । सबैभन्दा धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार रोद्रिगो पाज परेरा र होर्जे क्विरोगाले क्रमश: ३२ प्रतिशत र २६ प्रतिशत मत ल्याएका छन् । जबकि, दुई दशक एकछत्र शासन गरेका एमएएसका उम्मेदवार क्यास्टिलो ३.१७ मत पाउँदै छैटौँ स्थानमा रहे । कयौँले यसमा इभोले समर्थन गर्नुको सट्टा निरन्तर आलोचना गर्नुको पनि भूमिका रहेको विश्वास गरेका छन् ।

अलजजिराबाट