
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई एकतामा आउन प्रस्ताव गरेका छन् । सोमबार विप्लवनिवास ललितपुरको हरिसिद्धिमै पुगेर प्रचण्डले एकताको प्रस्ताव गरेका हुन् ।
साउनमा सम्पन्न माओवादी स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णयसमेत गरेको थियो । सोही निर्णयबारे औपचारिक जानकारी गराउँदै प्रचण्डले माओवादी र समाजवादी धारलाई बलियो बनाउनुपर्ने जोड दिएका छन् ।
कम्युनिस्ट एकता राष्ट्रिय राजनीतिको आवश्यकता भएको प्रचण्डले जोड दिए । विप्लवले एकताको विषयमा यही २२ भदौमा सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।
‘मुख्य त पार्टी एकताको विषयमा छलफल भयो । पार्टी एकता अहिले नै हुन्छ भन्ने त होइन । तर, छलफल सकारात्मक भयो ।’ विप्लवको भनाइ उद्धृत गर्दै सचिवालयका सदस्य नारायण सीले भने । नेकपाले २२ भदौदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।