मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
२o८२ भदौ १० मंगलबार १o:o४:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजामा भयावह भोकमरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १o:o४:oo
  • गाजामा लगभग पाँच लाख १४ हजार मानिसहरू अनिकालको सामना गरिरहेका छन् । यो गाजाको जनसंख्याको लगभग एकचौथाइ हो । सेप्टेम्बरको अन्त्यसम्ममा यो संख्या बढेर ६ लाख ४१ हजार पुग्ने अनुमान  गरिएको छ ।

गाजामा मानव निर्मित अनिकाल फैलिएकोमा हामी गहिरो रूपमा चिन्तित छौँ । अगस्ट २२ मा एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) प्रणालीले आधिकारिक रूपमा गाजा सहर र नजिकैका क्षेत्रमा भोकमरी घोषणा गर्‍यो । भोकमरी सम्पूर्ण गाजामा फैलिन सक्ने आइपिसीले चेतावनी दियो । आइपिसीले अफ्रिकाबाहिर अनिकाल घोषणा गरेको यो पहिलोपटक हो । यस विश्वव्यापी भोकमरी अनुगमन गठबन्धनका अनुसार लगभग पाँच लाख १४ हजार मानिसहरू (गाजाको जनसंख्याको लगभग एकचौथाइ) पहिले नै अनिकालको सामना गरिरहेका छन् । सेप्टेम्बरको अन्त्यसम्ममा यो संख्या बढेर ६ लाख ४१ हजार पुग्ने अपेक्षा गरिएको छ ।

यस अन्यायपूर्ण युद्धको पछिल्लो २२ महिनामा इजरायली सेनाले गाजाको महत्वपूर्ण पूर्वाधारअन्तर्गतको निकै महत्वपूर्ण क्षेत्र (अस्पताल र बेकरी) नष्ट गरेको छ, मानवीय सहायता अवरुद्ध गरेको छ र खाद्य सहायता खोजिरहेका हतास प्यालेस्टिनीलाई लक्षित गरी मारेको छ । तर, जानाजानी भोकमरी र सहायताको अवरोधको प्रमाणका बाबजुद प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइपिसीको निष्कर्षलाई ‘सरासर झुट’ भएको दाबी गरेका छन् । यो अस्वीकार्य गम्भीर चिन्ताजनक विषय हो, तथापि आश्चर्यजनक होइन ।

अन्तर्राष्ट्रिय आक्रोशका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने आफ्नो योजना अगाडि बढाइरहेको छ । इजरायली सेनाको निरन्तरको बमबारीले दैनिकजसो गाजावासीको ज्यान लिइरहेको छ । अहिलेसम्म मारिएका अधिकांश प्यालेस्टिनी सर्वसाधारण रहेका इजरायली सैन्य तथ्यांकले रिपोर्ट गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार यस युद्धको क्रममा लगभग २०० पत्रकार पनि मारिएका छन् । २८ वर्षीय अनास अल–सरिफसहित चार अलजजिरा पत्रकारहरूको हालैको मृत्युले फेरि विश्वव्यापी आक्रोश निम्त्याएको छ । इजरायलले आफ्नो युद्ध अपराधको प्रमाण लुकाउन पत्रकारहरूलाई जानाजानी निशाना बनाएको यी लक्षित हत्याले यो स्पष्ट पारेको छ । नेतन्याहूले आइयपिसीको भोकमरी रिपोर्ट अस्वीकार गर्नुले मानवीय संकटको विश्वव्यापी जागरुकतालाई रोक्ने प्रयासलाई थप संकेत गर्दछ र इजरायलले जे भए पनि गाजामा आफ्नो आक्रमण विस्तार गर्न चाहन्छ भन्ने संकेत गर्दछ ।

संयुक्तराष्ट्र संघका सहायता प्रमुख टम फ्लेचरका अनुसार फैलिरहेको अनिकाल पूर्ण रूपमा रोक्न सकिने थियो, तर ‘इजरायलको योजनाबद्ध अवरोधका कारण’, अभावमा रहेका प्यालेस्टिनीसम्म खाना पुग्न सकेन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको माग गर्दै जारी संकटलाई निरन्तरता दिन नहुने बताएका छन् । त्यसकारण, विश्व नेताहरूले एकताबद्ध भएर आफ्नो आवाज उठाउनुपर्छ र गाजामा तत्काल र निर्बाध मानवीय सहायता पुर्‍याउन आवाज उठाउनुपर्छ ।

गाजामा भएको अनिकाललाई कुनै पनि हालतमा रोक्नुपर्छ । सीमानाकामा खाना र औषधि निष्क्रिय हुँदा बालबालिकासहित निर्दोष नागरिकले घातक परिणामको सामना गर्छन् । जुन २०२६ सम्ममा पाँच वर्षमुनिका एक लाख ३२ हजारभन्दा बढी बालबालिका तीव्र कुपोषणबाट मृत्युको जोखिममा पर्न सक्ने आइपिसीको प्रक्षेपण अन्तर्राष्ट्रिय समुदायले अब कदम चाल्नुपर्छ भन्ने कडा चेतावनी हो । यसले इजरायललाई आफ्नो सैन्य कारबाही बढाउनुको सट्टा इजिप्ट र कतारको युद्धविराम प्रस्तावमा सहमत हुन दबाब बढाउनुपर्छ । गाजाका जनता उचित पहलको हकदार छन् न कि सहानुभूति । 

द डेली स्टारबाट