मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार १८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६० वर्षपछि कार्यकारी पदमा बस्दिनँ, राजनीतिको परिभाषा बदल्छु : कल्पना धमला

काठमाडौ ९ का उम्मेदवार धमलाका प्रतिबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १८:४९:oo

काठमाडौं ९ मा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाले ६० वर्षपछि कार्यकारी पदमा नबस्ने प्रतिबद्धता गरेकी छिन्। 

राजधानीमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले निर्वाचित भएपछि आफ्नो संविधानको मौलिक हक कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र आफ्नो निर्वाचन क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजनामा काम गर्ने बताइन्। 

‘६० वर्षपछि कार्यकारी पदमा निर्वाचन लड्नेछैन।  निर्वाचित भएर गएको अवस्थामा संविधानको मौलिक हक कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र यस क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजनामा काम गर्नेछु,’ उनले भनिन्, ‘म राजनीतिलाई पेसाको रूपमा बुझ्दिनँ। जनताको सेवामै समर्पित हुन्छु। मतदाताको शिर झुक्ने गरी काम गर्नेछैन।’ 

त्यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा विज्ञसँग छलफल गरेर मास्टर प्लान बनाउने, त्यस क्षेत्रमा भएका जलाधार क्षेत्रको उपयोग गरेर खानेपानी समस्या समाधान गर्ने, पर्यटन विकासमार्फत रोजगार बनाउने, सांस्कृतिक सहरको रूपमा विकास गर्ने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, बागमती र विष्णुमतीको संगमस्थललाई आधार बनाएर सफा पानी बग्ने अवस्था निर्माण गर्ने, मुख्य सडकमा फ्लाइओभर बनाउने, ट्रमा सेवासहितको अस्पताल, मोबाइल अस्पताल, विद्यालयको गुणस्तर बुढानीलकण्ठ मोडलमा सुधार गर्ने र प्राथमिकता निर्धारण गरेर अल्पकालीन र दीर्घकालीन योजना आफूसँग रहेको बताइन् । 

‘राजनीतिमा इच्छाशक्ति भए सकिन्छ भन्ने स्थापित गर्छु। दीर्घकालीन योजना पाँचवर्षे कार्यकालमै सुरु गर्छु। राजनीति फोहोर छ भन्नेलाई सफा गरेर देखाउने गरी काम गर्नेछु,’ धमलाले भनिन्।