मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ९ सोमबार o७:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बेचबिखन गरिएको भनिएका युवा/युवती भन्छन्– बेचिएका भए सुरक्षित बसेर कसरी पढिरहेका हुन्थ्यौँ? हाम्रो नाममा राजनीति नगरियोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार o७:o८:oo

बाल संगठनबाट बन्दी सहायता (पिए) नेपालमा बालबालिकाहरू बस्न थालेको १० वर्ष भयो । उनीहरू र तिनका अभिभावकको भनाइमा ०७२ को भूकम्पपछि बाल मन्दिरको भौतिक संरचना भत्किएपछि केटा र केटीलाई एउटै ठाउँमा राख्न थालियो । खान, बस्न समस्या हुन थाल्यो । पढाइ पनि प्रभावित भयो । काठमाडौंको सिफल सुधार केन्द्रमा बस्ने पाँचैजना दसैँको छुट्टीमा घर गए । परिवारका सदस्यले बाल मन्दिरको अवस्था राम्रो नभएको भन्दै कारागार प्रशासनको रोहवरमा पिए नेपालसँग सम्झौता गरे । त्यसपछि पिए नेपालले उनीहरूलाई आश्रय दिएको हो । 

आश्रय पाएका पाँचमध्ये बर्दियाकी २० वर्षीया मुना (परिवर्तित नाम) सेन्ट जेभियर्स कलेजमा ब्याचलर बिए इन साइकोलिजी एन्ड सोसल वर्क विषयमा दोस्रो वर्षमा अध्ययनरत छिन् । ‘भुइँचालोपछि बाल मन्दिरमा सेफ्टी राम्रो थिएन । केटाकेटी सँगै राख्ने, एउटै रुममा सुताइदिने थियो । पर्खाल भत्किएको थियो । जो पनि आउने–जाने भइरहेको थियो । उनीहरूले अप्ठ्यारो भएको अभिभावकलाई सेयर गरे,’ उनले भनिन्, ‘त्यसपछि बाबाले इन्दिरा आमालाई राखिदिन अनुरोध गर्नुभयो । बाबाले सम्झौतापत्रमा साइन गर्नुभयो । अनि म यहाँ आएँ ।’ 

पिए नेपालमा पढाइ राम्रो भएको, हेरचाह र अवसरहरू पनि पाएको उनले बताइन् । आफूहरूको नाममा आइरहेको विषयले तनाव भएको उनको भनाइ छ । ‘यो केसहरू पटक–पटक आइराख्दा हामीलाई डिस्टर्ब भइरहेको छ । इन्दिरा आमाले पालन गरिरहेको वेला बेच्यो भन्दा हाम्रो प्राइभेसी ह्याम्पर भएको छ । आमालाई दोष लगाएकोमा पीडा भएको छ । यो नगर्न रिक्वेस्ट गर्छाैँ,’ उनले भनिन्, ‘यदि म बेचिएकै भए ब्याचलर पढ्दिनँ थिएँ । मानव तस्करी गरेको भए म यहाँ हुँदिनथिएँ होला । म तपाईंसँग बोलिरहेको हुँदैनथेँ । यसरी बेचेको भन्ने मान्छेलाई म के भन्छु भने इभिडेन्सले बोल्नुस् । हाम्रो नाम बेचेर राजनीति नगरियोस् । पोलिटिक्समा हामी बच्चालाई नतान्नुहोला । पटकपटक उचालिएको छ । यो प्रस्ट होस्,’ उनले भनिन् । 

बर्दियाकै २१ वर्षकी सगुन (नाम परिवर्तन)ले बागबजारबाट कम्प्युटर साइन्समा कक्षा १२ पास गरेकी छिन् । बिबिए पढ्ने तयारीमा रहेकी उनको भोगाइ पनि उस्तै छ । सिफलको बाल संगठनमा सेफ्टी भएन भनेर उनले बुबालाई भनेकी थिइन् । त्यसपछि उनका बुबाले पिए नेपालमा पठाउने निधो गरी कागज गरेका थिए । ‘सिफलमा सेफ्टी नभएपछि बुबाले इन्दिरा आमाकहाँ कागज गरेर पठाउनुभयो,’ उनले भनिन्, ‘अहिले इन्दिरा आमालाई हामी देखाएर मानव तस्कर भन्दा टर्चर भएको छ । हाम्रो पनि निजी जीवन हुन्छ । बुझ्नुपर्ने हो । मान्छे यहीँ छ, कसरी बेच्यो ?’ उनले प्रश्न गरिन् ।

बर्दियाकै २० वर्षीया वृन्दा (नाम परिवर्तन)ले केएमसी बागबजारबाटै बिजनेस स्टडीमा कक्षा १२ पास गरेकी छिन् । अहिले काम सिकिरहेकी उनलाई बुबाले बाल मन्दिरबाट निकालेर कागज गरी पिए नेपाल पठाएका हुन् । ‘इन्दिरा आमाबारे कुरा सुन्दा नराम्रो लाग्छ । हाम्रो व्यक्तिगत जीवनलाई पनि असर गर्‍यो । हामीले जुन फेसिलिटी पाएका छौँ त्यो नपाएको भए कहाँ हुन्थ्यौँ होला । सायद यति फेसिलिटी हामीले आफ्नो परिवारबाट पनि पाउँदैन थियौँ होला,’ उनले भनिन् ।

दाङका दिदीभाइ १८ वर्षीया रिमा (नाम परिवर्तन) र १७ वर्षीय हर्षित (नाम परिवर्तन)को पनि भोगाइ उस्तै छ । रिमा बिपी मेमोरियल कलेजमा जनरल मेडिसिन विषयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छिन् भने हर्षित साउथ वेस्टर्न कलेजमा ११ कक्षामा म्यानेजमेन्ट पढिरहेका छन् । उनीहरूलाई सिफल बाल केन्द्रको परिवेश राम्रो नभएपछि आमा विन्दुले पिए नेपालसँग सम्झौता गरेर पठाइन् । ‘ममीले इन्दिरा आमालाई अनुरोध गर्नुभयो । अनि कागज गरेर हामी यता आयौँ । यहाँ पहिलाभन्दा एकदम फरक छ । फेसिलिटीहरू राम्रो छ,’ रिमाले भनिन् । आफूहरू बेचिएको भन्ने आरोपमा उनले भनिन्, ‘यस्तो सुन्दा नराम्रो लाग्छ, बेचेको छैन । बेचेको भए त हामी यहाँ हुन्थ्यौँ ? त्यस्तो आरोप लगाउनेलाई कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।