
गत वर्षको तुलनामा यस वर्ष जापानिज इन्सेफ्लाइटिसको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । वैशाखदेखि ९ भदौसम्म ८४ जनामा संक्रमण देखिएकामा १५ जनाको ज्यान गएको छ । जबकि गत वर्षभर ८६ जनामा संक्रमण भएकोमा २५ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार चार महिनाको अवधिमै १५ जनाको मृत्यु हुनु डरलाग्दो संकेत हो । उनका अनुसार सबैभन्दा धेरै चितवन र कपिलवस्तुका बिरामीको मृत्यु भएको छ ।
चिकित्सकहरूका अनुसार संक्रामक रोगमध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा घातक मानिन्छ । निर्देशक डा. गौतमका अनुसार यसको मृत्यु दर पनि धेरै छ । क्युलेक्स प्रजातिको लामखुट्टले टोक्दा जापानिज इन्सेफ्लाइटिसको संक्रमण हुन्छ ।
‘जापानिज इन्सेफ्लाइटिस निकै घातक संक्रमण हो । यसबाट मृत्यु हुने दर पनि धेरै छ । क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्यो भने यो संक्रमण हुने हो । असारदेखि असोजसम्मको मौसम यस्तो प्रकारको रोग सार्ने लामखुट्टेको लागि राम्रो मानिन्छ,’ उनले भने, ‘क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगर र हाँस आदिलाई टोक्छ । त्यही लामखुट्टेले मानिसमा टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ । यस्तो प्रकारको लामखुट्टेले धान खेतमा बढी फुल पार्छ । त्यहीबाट बढी फैलिन्छ, त्यसैले सजग हुनैपर्छ ।’
उनका अनुसार यस प्रजातिको लामखुट्टे बिहान र साँझको समयमा बढी सक्रिय हुन्छ । यस्तो प्रकारको लामखुट्टेको टोकाइबाट बच्न जाली तथा झुलको प्रयोग गर्न, पशुपक्षीलाई टोकाइबाट जोगाउने, धानखेतमा जाँदा बढी सजग हुने र शरीर छोप्ने गरी लुगा लगाउने गर्नुपर्छ ।
नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बर्सेनि मृत्युदर बढ्दो रहेको भन्दै विश्व स्वास्थ्य संगठन, नेपालले सचेत हुन अनुरोधसमेत गरेको छ । डब्लुएचओको तथ्यांकअनुसार जापानिज इन्सेफ्लाइटिसबाट विश्वमा वार्षिक १५ हजारको मृत्यु हुन्छ । यसको संक्रमणबाट सबैभन्दा बढी १५ वर्षमुनिका बालबालिका प्रताडित हुन्छन् ।
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट ३० प्रतिशतसम्मको मृत्युदर हुन्छ । यो डेंगुभन्दा निकै खतरा मानिन्छ । डेंगु गराउने एडिस प्रजातिको लामखुट्टेले टोक्दा ५ प्रतिशतसम्मको मृत्यु हुन्छ । तर, जापानिज इन्सेफ्लाइटिस भएकामध्ये ३० प्रतिशतको मृत्यु हुन सक्छ ।
नेपालमा सन् १९७८ मा रुपन्देहीबाट पहिलोपटक जापानिज इन्सेफ्लाइटिसको पहिलो संक्रमण देखापरेको थियो । त्यसपछि सन् २०१३ मा कैलालीमा यसको संक्रमण देखियो । सन् २००६ देखि नेपालमा यसको खोप लगाउन थालिएको थियो ।
हुन सक्छ प्यारालाइसिस र मानसिक समस्यासम्म
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिसका कारण उच्च ज्वरो आउँछ । जोडले टाउको दुख्छ । होस, चेत हराउँछ । बोल्दाबोल्दै मानिस बेहोस हुन्छ । मुख्यत: दिमागमा असर गर्ने भएकाले मानसिक रूपमा विक्षिप्त पार्न सक्छ । कसैलाई त प्यारालाइसिस नै हुन्छ । शाखाका प्रमुख डा. गौतमका अनुसार छिटो उपचार भए निको हुने र ढिलो गर्दा मृत्यु हुने जोखिम हुन्छ । भ्याक्सिन लगाएको छ भने ९५ प्रतिशत सुरक्षित हुन्छ । बालबालिकामा बढी जोखिम हुने भएकाले उनीहरूलाई खोप अनिवार्य लगाउन आवश्यक रहेको डा. गौतम बताउँछन् । सरकारले जन्मेको १५ महिनाभन्दा माथिका बालबालिकालाई यो खोप नियमित खोप तालिकाअनुसार लगाउँदै आएको छ । यो खोप एकपटक मात्रै लगाइन्छ ।
जोगिने मुख्य उपाय सचेतता र खोप
चिकित्सकहरूका अनुसार लामखुट्टे नष्ट अभियानले मात्रै जापानिज इन्सेफ्लाइटिस नियन्त्रण हुँदैन । डेंगु गराउने एडिस प्रजातिको लामखुट्टे सानो भाँडाको पानी वा सफा पानीमा बस्छ । यसको नियन्त्रण गर्न सम्भव हुन्छ । तर, जापानिज इन्सेफ्लाइटिस गराउने क्युलेक्स टाइट्यानोरिंकस प्रजातिको लामखुट्टे नियन्त्रण गर्न कठिन छ । यो प्रजातिको लामखुट्टे पोखरी, धानखेत, जनावर भएको स्थान र धेरै पानी जम्मा भएको स्थानमा हुने भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । जापानिज इन्सेफ्लाइटिसबाट जोगिने मुख्य उपाय भनेको सचेतता र खोप नै रहेको चिकित्सकहरूको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम भन्छन्–
जापानिज इन्सेफ्लाइटिस निकै घातक संक्रमण हो । यसबाट मृत्यु हुने दर पनि धेरै छ । क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्यो भने यो संक्रमण हुने हो । असारदेखि असोजसम्मको मौसम यस्तो प्रकारको रोग सार्ने लामखुट्टेका लागि राम्रो मानिन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगर र हाँस आदिलाई टोक्छ । त्यही लामखुट्टेले मानिसमा टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ । यस्तो प्रकारको लामखुट्टेले धान खेतमा बढी फुल पार्छ । त्यहीबाट बढी फैलिन्छ, त्यसैले सजग हुनैपर्छ ।