
वीरगन्ज महानगरपालिकामा थप १५ जनामा हैजा संंक्रमण पुष्टि भएको छ । योसँगै सोमबार रातिसम्ममा हैजा संक्रमितको संख्या ९३ पुगेको छ । आइतबार ३६ नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ७८ पुगेका थिए ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार हैजा संक्रमण पुष्टि भएका सबै वीरगन्ज महानगरपालिका– ३, ११, १२, १३ र १६ नम्बर वडाका हुन् । यस्तै सुरुको दिन शनिबार ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
ठाकुरका अनुसार हैजा संक्रमण पुष्टि भएका ९३ सहित १२२ जना उपचाररत छन् । तीमध्ये २२ जनाको आइसियूमा उपचार भइरहेको छ । अहिलेसम्म अस्पतालमा भर्ना भएकामध्ये एक सय ७८ जना डिस्चार्ज भइसकेका छन् । ठाकुरका अनुसार नारायणी अस्पतालमा ४९, तराई हस्पिटलमा २५, नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ११ जना, भवानी अस्पतालमा एकजना तथा वीरगन्ज हेल्थकेयर हस्पिटलमा नौजना, तराई अस्पतालमा १४ जना , सर्वोत्तम अस्पतालमा तीनजना उपचाररत छन् ।
यस्तै, एडभान्स मेडिकेयर अस्पतालमा पाँचजना, प्रभु अस्पतालमा एकजना, भवानी अस्पतालमा एकजना, नीलकण्ठ अस्पतालमा एकजना र नेपाल मेडिसिटी बयोधामा दुईजना उपचाररत रहेको अवस्था छ ।
खानेपानी मन्त्रालयअन्तर्गतको पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरले सोमबार साँझ सार्वजनिक गरेको परीक्षण रिपोर्टले भने वीरगन्जमा संस्थान वा डिप बोरिङको पानीबाट झाडापखाला र हैजाको संक्रमण नफैलिएको पुष्टि गरेको छ । संस्थान र डिप बोरिङ धाराको पानीको नमुना संकलन गरेर परीक्षणका लागि गत शनिबार पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरमा पठाइएको थियो । उक्त पानीको परीक्षण गर्दा त्यसमा झाडापखाला र हैजाको संक्रमण हुने कोलिफर्म नामक जीवाणु र तथा दिसामा भेटिने फिकल कोलिफर्म नामक जीवाणु नभेटिएको प्रयोगशालाका असिस्टेन्ट केमिस्ट मनोजकुमार अधिकारीले सोमबार साँझ सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
चिकित्सकसहितका टोली वीरगन्जमा
प्रादेशिक अस्पताल गौर रौतहटबाट दुईजना चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली वीरगन्ज आएको छ । महानगरआसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि सहयोग गर्न गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली नारायणी अस्पतालमा आइपुगेको हो । वीरगन्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली आइपुगेको नारायणी अस्पतालले जनाएको छ ।
उपचारमा समस्या नहुने मन्त्री पौडेलको आश्वासन
हैजाको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा भर्ना भएका बिरामीलाई भेटेका छन् । सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगन्ज आएका मन्त्री पौडेलले अस्पताल पुगेर हैजाका बिरामीको अवस्थाबारे जानकारी लिनुको साथै उपचारमा समस्या नहुने आश्वासन दिएका छन् । मन्त्री पौडेलले बिरामीहरूको स्वास्थ्य अवस्था र औषधि वितरणबारे चासो व्यक्त गरेका थिए । भर्ना भएका बिरामीका आफन्तले डाक्टरले तोकेको औषधि आफैँले किन्नुपरेको गुनासो राखेपछि मन्त्रीले तत्काल समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । स्वास्थ्यकर्मीले स्लाइन र इन्जेक्सन नि:शुल्क उपलब्ध हुने, तर अन्य केही औषधिका लागि शुल्क लाग्न सक्ने जानकारी गराएका थिए ।