
प्रसिद्ध सहिद र वीर देशभक्त सूर्यसेनको नियुक्ति बंगालको एउटा विद्यालयमा भएको थियो । उनी स्वभावले निर्भीक र आदर्शवादी थिए । उनी आफ्नो आदर्शमा चल्ने एक अनुशासित शिक्षक थिए ।
उनी नियुक्त भएर काम गर्ने समयमा विद्यालयमा वार्षिक परीक्षा चलिरहेको थियो । जुन कोठामा उनको ड्युटी थियो, त्यस कोठामा विद्यालयका अंग्रेज प्रधानाध्यापकका छोराले पनि परीक्षा दिइरहेका थिए । परीक्षा कक्षामा घुमिरहेका वेलामा उनले प्रधानाध्यापकको छोराले चिट सारिरहेको देखे । उनले ती चिटचोर विद्यार्थीलाई तुरुन्तै समाए र परीक्षा दिनबाट वञ्चित गरे ।
जब परीक्षाको परिणाम घोषित भयो, तब ती विद्यार्थी सो दिनको परीक्षामा अनुत्तीर्ण भएका थिए । त्यसैले सबै शिक्षकले सूर्यसेनको नोकरीप्रति आशंका गरे । सायद अब उनको नोकरी खोसिन्छ भन्ने अनुमान धेरैले गरे ।
एक दिन अचानक तिनै मास्टर सूर्यसेनलाई प्रधानाध्यापकले आफ्नो कार्यकक्षमा बोलाए । उनको सोचाइविपरीत प्रधानाध्यापकले मास्टर सूर्यसेनको स्वागत गरे र स्नेहपूर्वक भने, ‘यो कुरा थाहा पाएर मलाई खुसी लाग्यो कि मेरो विद्यालयमा तपाईंजस्तो कर्तव्यनिष्ठ र आदर्शवादी अध्यापक पनि हुनुहुन्छ, जसले मेरो छोरालाई दण्ड दिनमा पनि हिच्किचाउनुभएन । यदि तपाईंले उसले चोरी गरेको देखेर पनि उत्तीर्ण गरिदिनुभएको भए म तपाईंलाई यो जागिरबाट अवश्यै बर्खास्त गर्ने थिएँ ।’
प्रधानाध्यापकको भनाइ सुनेर सूर्यसेनले गर्वसाथ भने, ‘यदि तपाईंले अझै पनि उसलाई उत्तीर्ण गराउन मलाई बाध्य बनाउनुभएको भए म आफ्नो राजीनामा गोजीमा राखेर आएको थिएँ सर !’ उनको यस्तो जवाफ सुनेर प्रधानाध्यापक महोदयको दृष्टिमा उनीप्रतिको सम्मान झनै बढ्यो ।