
हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।
‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।
तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् ।
‘कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो’, उनले भने, ‘तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।’
नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ ।