१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
रामचन्द्र शर्मा
२o८२ जेठ ३१ शनिबार o९:५९:oo
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

उद्धारको पर्खाइमा सनातन धर्म 

Read Time : > 4 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o९:५९:oo
  • मानिसको मन नै उनको मित्र र सत्रु हो । मनलाई संयमित बनाउँदै राग, द्वेष, मोहजस्ता विकारबाट मुक्त बनी निष्काम कर्ममा लगाए सुखशान्ति मिल्छ ।

कुनै व्यक्ति, वस्तु र स्थितिको खराब अवस्था सुधारी अपेक्षित लक्ष्य हासिल गर्न सहयोग गर्नुलाई उद्धार भनिन्छ । गलत काम कुरा वा भ्रमबाट मुक्त वा छुटकारा दिलाउन सही मार्ग देखाउनु उद्धारभित्रै पर्छ । धर्मको अर्थ धारण गर्नु हो भने सनातन शब्दले विगत, वर्तमान र भविष्यसम्म जस्ताको तस्तै रहने गुणलाई जनाउँछ ।

अग्निले तातो हुने गुण धारण गरेको छ, जल्नु जलाउनु अग्निको धर्म हो, जो विगत, वर्तमान र भविष्यसम्म जस्ताको तस्तै रहन्छ । हिजो, आज र भोलि एकनास रहने सत्य, सनातन हुन्छ । सत्य नै धर्म हो । त्यसैले धर्मको अगाडि सनातन शब्द जोडिन्छ । अहिले धारण गर्नुपर्ने धर्मलाई सुन्ने सुनाउनेमा र सनातन शब्दलाई पुरानो जनाउनमा सीमित गरिएकाले सनातन धर्मको रक्षा हुन सकेन । हिँडडुलले मानिस स्वतन्त्र देखिए पनि यथार्थमा राग, द्वेष र मोहको कैदमा परी आनन्दको रसास्वादन गर्ने अनुपम अवसर गुमाएको छ । धर्मका नाममा भइरहेका वर्तमान गतिविधि वस्तुवादी ढंगले नियाल्ने जुनसुकै सम्प्रदायले धर्मको उद्धार गर्नैपर्ने स्वअनुभूति गर्नेछ ।

धर्मको अवस्था कस्तो छ भन्नु पहिले धर्म के हो भन्ने चिन्नुपर्छ । सनातन धर्म चित्तको निर्मलता हो, समता हो, सरलता हो, परस्पर निर्भरता हो, प्रेम समर्पण हो, दया करुणा हो, सजगता जागरुकता हो, सुख शान्तिको जीवन जिउने कला र जीवन पद्धति हो । जसलाई वेदव्यासले परोपकाराय पुण्याय पापाय परपीडनम् अर्थात् अरूको सेवा गर्नु धर्म हो पीडा दिनु पाप हो भनी धर्मको सार बताउँदै सिंगो मानवजातिको ध्यानाकर्षण गराए । आफ्नै शरीरभित्र लामो आत्मानुसन्धान गरेर स्वअनुभूतिमा आएपछि धर्मको अनुभवगम्य सत्य प्रकाशित गरे वेदव्यासले । बाहिरी व्यक्ति कदापि दुस्मन नहुने, व्यक्तिभित्रका राग द्वेष र मोहले दुस्मनी उत्पन्न गरिदिने रहस्यबोध गरेर राग, द्वेष र मोहको बन्धनबाट मुक्त हुन धर्माचरणमा रहने ज्ञान र विधि वेद र गीतामा उल्लेख गरिदिए ।

वैदिककालमा ऋषिहरूले धर्म ओझेलमा पर्न सक्छ भनेर कुनै धर्म सम्प्रदाय खडा गरेनन् । कालान्तरमा शील सदाचार पालना गरी ध्यान साधनाबाट आचरणमा उतार्नुपर्ने धर्म यज्ञको कर्मकाण्डमा सीमित गरी धन र मान आर्जनको माध्यम बनाइयो । सनातन धर्ममा शुद्ध चित्तको व्यक्ति ब्राह्मण र अशुद्ध चित्तको शूद्र भनिने गरिएकोमा जन्मका आधारमा जात छुट्याई समाजमा जातीय विभाजन र द्वन्द्वको बिजारोपण गरी धर्मको ओज घटाइयो ।

सदा अतृप्त रहँदै ठुलो बडो हुन खोज्ने मानिसको मनको स्वभावले भगवान्को परिकल्पना गर्दै रामायण र महाभारत कथाको रचना भयो । भगवान् रामको आदर्श चरित्र दर्साएर मानिसलाई सुशील सदाचारी बन्न, बलवान् हनुमानको विनयशीलता झल्काएर शक्तिको घमन्ड नगरी ज्ञान र नम्रताद्वारा कार्य सफल पार्न सन्देश दिइयो । धर्म संस्थापनका लागि युद्ध गर्नुपर्ने कर्तव्यबाट विचलित अर्जुनलाई श्रीकृष्णको ज्ञानले दृढतापूर्वक युद्ध लड्ने साहस दियो । सो कृष्ण–अर्जुन संवादबाट बनेको भगवत गीताले निष्काम कर्म नै धर्म हो भन्दै फलाशक्तिमा चिन्तित भएर व्यर्थमा समय खेर नफाल, कर्म नै फल हो, कर्म नै पूजा र ईश्वर हो भनी समाजलाई कर्म प्रधान बनायो । मानिसको मन नै उनको मित्र र सत्रु हो । मनलाई संयमित बनाउँदै राग, द्वेष, मोहजस्ता विकारबाट मुक्त बनी निष्काम कर्ममा लगाए सुखशान्ति मिल्छ । अहंकारसँग मनले अंकमाल गर्‍यो भने जीवन राग, द्वेष र मोहको बन्धनमा पर्छ भन्दै गीताले धर्मलाई योगध्यानको साधना र कर्ममा आधारित बनायो ।

वैदिककालकै अन्त्यतिर सनातन धर्म कर्मकाण्डमा सीमित भयो । गीताकालमा पनि धर्मका नाममा निस्सार कर्म र पशुबली मौलायो । करिब २५०० वर्षअघि धर्म ओझेलिएको सम्प्रदाय हाबी भएको अवस्थामा युवराज सिद्धार्थ गौतमले दरबार छोडी जंगलमा तप ध्यान वेदान्तको गहिराइमा पुगेर चार आर्यसत्य दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ र निवारणको अष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक्, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि प्रतिपादन गरेका हुन् । बुद्धत्व प्राप्तपछि पनि नियमित ध्यान गर्दै अरूलाई विपश्यना अभ्याससहितको धर्म देशना गराए । सुरुवाती चरणमा चर्को विरोध गर्न पुगेका सबैजसो ब्राह्मण र राजा लाभान्वित महसुस गरी उनकै अनुयायी बने । लोपोन्मुख भएको सनातन धर्म पुनः क्रमशः बौरिँदै फैलिँदै गयो । आचरणमा ल्याई धारण गरिएकाले बुद्धको महापरिनिर्वाणपश्चात् पाँच सय वर्षसम्म निर्बाध चलेको सनातन धर्म क्रमशः आचरणमा ल्याएर धारण नगर्ने सुन्ने, पढ्ने र चिन्तनमनन गर्नमा सीमित हँुदै जाँदा अहिले खराब अवस्थामा पुगेको छ ।

श्रीमद्भागवत महापुराण धनधान्यचल महायज्ञ श्रीहरिहरेश्र्वर लक्ष्मीनारायण महोत्सव (०८२ वैशाख १० देखि १७ सम्म)मा गणेशको भूमिका निर्वाह गर्दा यो पंक्तिकारलाई सनातन धर्मको वर्तमान हालत साक्षात्कार गर्ने अवसर जुर्‍यो । व्यक्तिले निर्माण गरेको, पछि सार्वजनीकरण गरी एक साधुले सञ्चालनको जिम्मा लिई उनैले तेस्रो व्यक्तिमार्फत नियमित पूजा गराइँदै आएको र मन्दिर जिम्मा लिनेहरूले नै महायज्ञ लगाउने प्रस्ताव गर्दै उठेको दानले महायज्ञको खर्च नधाने हामी नै व्यहोर्छौँ कर्ता बसिदिनुहोस्, वाचक पण्डितसमेत हामीसँगै छन् । कर्तामध्येको भान्जा भए गणेश राख्नुहोस् भनेकाले भान्जा खोज्ने सिलसिलामा पंक्तिकार पर्न पुगे ।

नगरपालिकाको एउटा वडाका वासिन्दाको सामूहिक आयोजनाको महायज्ञ सञ्चालन गर्न समिति गठन गरी बिहान शोभायात्राले वडा परिक्रमा गर्दै प्रदेश सांसदको प्रमुख आतिथ्यमा उद्घाटन समारोहमा परिणत भई मन्दिर परिसरलाई एक धार्मिक पर्यटनस्थल बनाउने उद्देश्यले महायज्ञ आरम्भ गरियो । कुनै बिघ्नबाधाविनै सम्पन्न भएको महायज्ञमा नगद तीस लाख, कैयौँ मुरी धानचामल संकलन भयो ।

दियो–कलशसहितका देवता स्थापना गरिएको मूल पूजा मण्डप र वाचन गर्ने मञ्च अलग–अलग बनाएको हुँदा मूल मण्डपबाट संस्कृतमा र नेपालीमा वाचन सुरु गरिएकोमा दोस्रो दिन तदनुरूप नगरिँदा कर्ता खिन्न भएको देखेर तेस्रो दिनदेखि मौन व्रतमा रही गणेशको भूमिका निर्वाह गरे । शब्दमा शक्ति हुन्छ, धर्म शब्दको उच्चारण गरिएकाले मात्रै आयोजकमा एकता र उमंग छायो । धर्मप्रति आस्थावान् हुन प्रेरित गर्‍यो । बुद्धले झै अभ्यास गराइदिएको भए मनको गहिराइ देखिनै चित्त निर्मल भएर सबैजन र दुःख सुख दुबैप्रति समता भाव जागेर सदा आनन्दित हुने र टिक्ने रहस्य सबैको स्वानुभूतिमा आउँथ्यो । सुनिसुनाउबाट आएको खुसी केही दिनपछि हराउँछ र धर्म गरेर पनि दुःखी नै रहियो भन्ने हिनभाव आएर धर्मप्रति नै ‘ब्याक फायर’ गर्छ र सनातन धर्मको उद्धार गर्नैपर्ने अवस्थामा पुर्‍याएको छ ।

सिद्धार्थ गौतमले आना–पान सती (जाँदै–आउँदै गरेको श्वास नाकको कुनै एक प्वाल वा दुवैबाट घटीबढी वा समान जे–जसरी आएको छ जस्ताको त्यस्तै जान्नमा चित्तलाई केन्द्रित गरी शान्त र एकाग्र राख्ने) विपश्यना अभ्यास (आत्मबोध गर्ने बौद्ध विधि) गरी मनलाई राग, द्वेष, मोहजस्ता विकारबाट मुक्त राख्दै परमानन्दमा स्थित भई आफूले बुद्धत्व प्राप्त गरे । आफैँभित्र रहेको शान्तिबाहिर खोज्दा नपाएर दुःखित भएका मानिसप्रति करुणा जागेर आफूले झैँ अभ्यासै गराएर बुद्धले दुःख निवारण र सुखशान्तिको महसुस गराएका थिए । 

आचार्य सत्यनारायण गोयन्काको सम्यक संबुद्ध नामक पुस्तकमा बुद्धत्वमा सिद्धार्थ गौतमको मात्र एकाधिकार छैन । उनीभन्दा पहिले र पछि अनेकौं बुद्ध थिए, छन् र हुनेछन् भनिएको छ । बुद्धत्व प्राप्त गर्ने बाटो शील, समाधि र प्रज्ञाको आर्य अष्टांगिक मार्ग हो । हरेक समाजमा गलत निस्सार कर्मकाण्डी मान्यता बुद्ध अघिदेखि थिए, आज छन् र भोलि पनि हुनेछन् ।

देशमा मन्दिर, आश्रम, धाम बनाउने र महापुराण तथा कोटिहोम लगाउने लहर चलेको छ । बजेट अभाव छ भनी कुलो मर्मत नहुँदा पंक्तिकारको गाउँलेको उर्वर खेत बर्सेनि बगर बन्छ, सामान्य मर्मतले चल्ने मन्दिर भत्काएर सिमेन्टेड बनाउनमा कुलोलाई लाग्नेभन्दा बढी बजेट खर्चिएको छ । मन्दिरमा मूर्ति ढोगेर र घरमा पुराण लगाएपछि जे गरे पनि तरिन्छ भन्ने गलत प्रवृत्ति हाबी हुँदा सनातन धर्ममा आघात पुग्यो । फलस्वरूप भ्रष्टाचार, द्वन्द्व, अशान्ति र गरिखाने संस्कृति मेटिएर युवा र पुँजी विदेश पलायन भई देश शून्य उत्पादनउन्मुख छ । सबै धर्मको मर्म एउटै हो । धर्म ओझेलमा पर्नु सम्प्रदायप्रतिको आसक्ति बढ्नु समस्या हो । बुद्धले धर्मलाई भवसागर तर्ने पानीजहाजसँग आसक्ति राखेर बोकी हिँड्ने गल्ती नगर भनेका छन् । अतः मानिस बोकेका जहाजमा उत्पन्न खराबी हटाएर उद्धार गर्न सरोकारवाला सबैको यथाशीघ्र ध्यानाकर्षण होस् ।