१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ जेठ २८ बुधबार o९:४१:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेसनल नमोबुद्ध र सुमेरु सहकारीको अनियमितता छानबिनको खुल्यो बाटो 

छानबिन रोक्न नमोबुद्ध र सुमेरुले दिएको रिट निवेदन सर्वोच्चबाट खारेज 

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o९:४१:oo

बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको नेसनल नमोबुद्ध र सुमेरु ऋण सहकारीमा भएको आर्थिक अनियमितताको छनबिनका लागि बाटो खुलेको छ । मन्त्रालयले छनबिन गर्न समिति गठन गरेपछि त्यसलाई रोक्न सहकारी व्यवस्थापन पक्ष गत २ चैतमा रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले सोमबार रिट खारेज गरेपछि छानबिनको बाटो खुलेको हो ।

  • अच्युत कुइँकेल, प्रवक्ता, सर्वोच्च अदालत
  • नमोबुद्ध र सुमेरु सहकारीको रिट निवदेन खारेज भएको छ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेलगत्तै हुने भनिएको छानबिन रोक्न सहकारी व्यवस्थापन पक्ष रिट लिएर सर्वोच्च आएका थिए । उक्त रिट सोमबार खारेज भएको हो ।

सर्वोच्चका न्यायधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासदले सोमबार उक्त रिट खारेज गर्ने फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नमोबुद्ध र सुमेरु सहकारीको रिट निवेदन खारेज भएको बताए । उनले भने,‘नमोबुद्ध र समेरु सहकारीको सर्वोच्चमा रिट निवेदन परेको थियो । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेलगत्तै हुने भनिएको छानबिन रोक्न भन्दै उनीहरू रिट लिएर सर्वोच्च आएका थिए । उक्त रिट सोमबार खारेज भएको छ ।’

मन्त्रालयले गत २८ पुसमा ती सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आर्थिक अनियमितता छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको थियो । त्यसलाई रोक्न सहकारीका व्यवस्थापन पक्ष विभिन्न शक्तिकेन्द्रसमेत पुगेका थिए । तर, छानबिन हुने निश्चित भएपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चको फैसला हालसम्म प्रदेशस्थित मन्त्रालय भने पुगेको छैन । मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले रिट निवेदन खारेजी फैसला भएको पत्र मन्त्रालय आइनपुगेको बताए । 

उनले भने, ‘नमोबुद्ध र सुमेरु सहकारी समस्याग्रस्त घोषणा भएको जानकारी छ । तर, उक्त विषयमा परेको रिट सर्वोच्च अदालतबाट खारेज भएको विषय भने जानकारी भएन । सर्वोच्चको फैसला मन्त्रालय आइनपुगेको हुँदा पनि यस्तो भएको हुन सक्छ ।’

एमाले सांसदले चलाउँथे नमोबुद्ध सहकारी
नमोबुद्ध सहकारीको सञ्चालक बागमती प्रदेश सभाका सांसद ज्ञानबहादुर तामाङ हुन् । उनी एमालेको कोटाबाट सांसद भएका थिए । यस्तै, सुमेरुका सञ्चालक वीरेन्द्र महर्जन हुन् । समस्याग्रस्त घोषणा भएलगत्तै गत २९ पुसमा तालाबन्दी गरिएको थियो । तालाबन्दीसँगै कार्यालयबाट कम्प्युटरका हार्डडिक्स र अन्य कागजात जफत गरिएको थियो । प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयबाटै समस्या समाधान गर्ने वा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने सम्बन्धमा अध्ययन हुँदै गर्दा व्यवस्थापन पक्ष रिट लिएर सर्वोच्च पुगेका थिए । त्योसँगै सबै प्रक्रिया अवरुद्ध भएको थियो ।

मन्त्रालयका अनुसार नमोबुद्धले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड डुबाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सुमेरुका तत्कालीन अध्यक्ष महर्जनले दुई अर्ब २५ करोड १४ लाख रुपैयाँ अपचलन गरेका छन् । नमोबुद्धका सञ्चालक तामाङ सम्पर्कविहीन छन् भने महर्जन सपरिवार बेलायतमा लुकेर बसेका छन् । सुमेरुसँग १३ अर्ब बढीको सम्पत्ति रहेको अनुमान गरिएको छ भने सात अर्बभन्दा बढीको दायित्व रहेको छ । सुमेरुविरुद्ध ८४८ जना बचतकर्ताले उजुरी दिएका छन् । 

सांसद तामाङले सहकारी बैंकलाई समेत ठगे 

ज्ञानबहादुर तामाङ

नेसनल नमोबुद्ध सहकारी लिमिटेडका तत्कालीन अध्यक्ष तथा हाल बागमती प्रदेशका सांसद तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्ता रकम उठाएका थिए । सहकारीको वचत रकमबाट नुवाकोट लिखु गापा–९ थानसिङमा ४४ रोपनी जग्गा खरिद गरे र, सबै जग्गा नुवाकोट ककनी गापा– ९ की चिनिमाया लामाको नाममा दर्ता गरे । 

सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखे । सहकारीको नाममा बैंकबाट १४ करोड रुपैयाँ ऋण झिके । र, रकम मनोमानी ढंगले खर्च गरे । सुरुका केही किस्ता उनले ऋण तिर्दै गए । तर, जब समय घर्किँदै गयो, ऋण तिर्न आलटाल गर्दै गए । बैंकले ऋण तिर्न ताकेता गर्‍यो । तर, विभिन्न बहाना देखाउँदै उनले ऋण तिर्ने भाका बदल्दै गए ।

केही सिप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना नै सार्वजनिक गर्‍यो । सूचना तामाङसहित सहकारीका वर्तमान अध्यक्ष राजकुमार लामा, विमल बस्नेत, राजु सापकोटा, श्यामबहादुर तामाङ, बाबुराम लोप्चान, बुद्धिबहादुर तामाङ, पेम्बा शेर्पा र बुद्धि  तामाङको नाममा सार्बजनिक भएको थियो । तर, उक्त ऋण उनीहरूले अझै चुक्ता गर्न सकेका   छैनन् । काठमाडौं महानगरपालिका– २९ सामाखुसीमा छ, नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडको कार्यालय । समस्याग्रस्त घोषणा भएलगत्तै कार्यालयमा अहिले ताला लागेको छ । 

२९ पुस २०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीको अध्यक्ष राजकुमार लामा छन् । त्यसअघि सहकारीको अध्यक्ष ज्ञानबहादुर तामाङ थिए । सहकारीमा उपाध्यक्ष बिमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्य बाबुराम लोप्चान र बुद्धिबहादुर तामाङ छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन् । तर, उनीहरू कार्यालय निकै कम आउने गर्छन् । 

सहकारी स्थापना भएको करिब डेड दशकमा सहकारीले बचतकर्ताको संख्या ११ हजार पुर्‍यायो । उनीहरूबाट दुई अर्ब रुपैयाँभन्दा धेरै बचत संकलन भयो । तर, उक्त सबै रकम अहिले संकटमा पुगेको छ ।

सुमेरुका अध्यक्षको मुद्दा अदालतमा

ललितपुरको पुलचोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध जिल्ला अदालत ललितपुरमा करिब चार अर्ब रुपैयाँ बिगोदाबीसहित दर्ता भएको मुद्दा विचाराधीन छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुुरले महर्जनविरुद्ध मुद्दा दर्ता गरेको थियो । महर्जन अहिले सपरिवारसहित बेलायतमा छन् । बेलायत जानुअघि उनले सहकारीको रकम लगानी गरी खोलिएका विभिन्न कम्पनी निजीसरह प्रयोग गर्दै आएका थिए । अनुसन्धान प्रतिवेदन अनुसार उनले हुँदै नभएको व्यक्तिको नाममा समेत ऋण प्रवाह गरि सहकारीको रकम दोहन गरेका थिए । समग्रमा उनले मात्रै सहकारीको तीन अर्ब ९३ करोड ४२ लाख २० हजार ९४९ रुपैयाँ अपचलन भएको देखिएको थियो । 

भरत महर्जन 

प्रतिवेदनअनुसार उनले सबैभन्दा धेरै रकम सुमेरु अस्पतालका नाममा अपचलन गरेका छन् । यसका लागि उनले सहकारीबाट एक अर्ब ४३ करोड ७९ लाख ४३ हजार ३६९ रुपैयाँ ऋण लिएका थिए । उक्त रकम उनले निजी प्रयोजनमा खर्च गरेका थिए । त्यस्तै, उनले सुमेरु सिटी अस्पतालका नाममा पनि सहकारीको रकम अपचनल गरेका छन् । उक्त अस्पतालका नाममा उनले सहकारीबाट ९० करोड ७१ लाख ७७ हजार ४२१ रूपैयाँ ऋण निकालेका थिए । उक्त रकम पनि उनले अपचलन गरेका थिए ।

यस्तै, उनले एसियन कलेजका नाममा ५७ करोड ५३ लाख २९ हजार ७५०, सुमेरु हाउजिङका नाममा २४ करोड ४५ लाख १५ हजार ७५३, सुमेरु किड्नी अस्पतालका नाममा सात करोड ९३ लाख ७९ हजार १६९, सुमेरु डाइग्नोस्टिकका नाममा एक लाख ९९ हजार ८९२, पिए नेपालका नाममा तीन करोड ४२ लाख ७६ हजार २२९, सुमेरु कलेजका नाममा चार लाख र सातदोबाटो चोक कन्स्ट्रक्सनका नाममा पाँच करोड १३ लाख ६२ हजार ५६६ रुपैयाँ अपचलन गरेका थिए ।

त्यसबाहेक उनले हुँदै नभएको व्यक्तिको नाममा समेत ऋण निकाली रकमको दुरुपयोग गरेका थिए । जस्तै– विवेक मानन्धरका नाममा ५२ करोड ९३ लाख २६ हजार ०१९, अमितराज उपाध्यायका नाममा ६ करोड ६ लाख २६ हजार ६६९ र बिश्वास भट्टराईका नाममा १ करोड ३६ लाख ८४ हजार ११२ रूपैयाँ ऋण झिकि अपचलन गरेका थिए ।