१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १७ शनिबार २१:१७:oo
Read Time : > 1 मिनेट
समाचार

सांसदहरूद्वारा मदन भण्डारी विश्वविद्यालयको अवलोकन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार २१:१७:oo

अनुसन्धानमा आधारित पढाइ हुने नेपालको एक मात्र विश्वविद्यालय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संघीय सांसदहरूले अवलोकन गरेका छन्। संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरूले मकवानपुरको चित्लाङमा रहेको विश्वविद्यालयको शुक्रबार र शनिबार अवलोकन गरी प्राध्यापक तथा विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका हुन्।

 समितिका सभापति अम्मरबहादुर थापा तथा सदस्यहरू देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, सरिता भुसाल, ज्ञानु बस्नेतले अवलोकन र अन्तर्क्रिया गरे। 

उक्त भ्रमणका क्रममा सांसदहरूले डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन तथा दिगो तथा लचिलो पूर्वाधारसम्बन्धी अनुसन्धान प्रयोगशालाहरूको अवलोकन गरेका थिए। जसक्रममा  डा. भूषण श्रेष्ठ, डा. सबिना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ,  डा. सर्वेशदास डंगोल, डा. किशोर तिम्लसिना तथा डा. राजीव सुब्बाले आआफ्नो कार्यक्रमअन्तर्गत भइरहेको अनुसन्धानको बारेमा जानकारी गराएका थिए।     

 

विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशीले स्वागत मन्तव्य राखेका थिए भने निर्देशक डा. कीर्तिकुसुम जोशीले शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, वनजन्य जैविक सामग्रीहरू, दिगो तथा लचिलो पूर्वाधार विषयमा अध्ययनरत विद्यावारिधि तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले आफ्नो शोधसम्बन्धी जानकारी प्रस्तुत गरे।

विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन आवस्यक नीतिगत सहयोग शीर्षकमा प्रस्तुतीकरण गर्दै राजनीतिक क्षेत्रलगायत समाजका विभिन्न तह र तप्काबाट उक्त विश्वविद्यालयलाई आवश्यक सहयोगको बारेमा जानकारी गराए। उनले ज्ञान नै समृद्धिको आधार भएकाले अनुसन्धान नै राष्ट्रलाई विकास गर्ने आधार भएकाले सोही उद्देश्यअनुसार विश्वविद्यालय स्थापना गरिएको बताए।   

हाल मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई मासिक वृत्ति  ३० हजार रुपैयाँसम्म प्रदान गरिरहेको छ। यसले  विद्यार्थीहरूलाई आफ्नो अनुसन्धानमा दत्तचित्त रहन मद्दत पुगेको विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्।   

 

 

कार्यक्रममा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैँ आज मदन भण्डारी विश्वविद्यालयको प्रगतिले सार्थकता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै छोटो समयमा गरेको पूर्वाधार विकास र अनुसन्धान प्रगतिमा सन्तुष्टि व्यक्त गरे। आगामी दिनहरूमा मदन भण्डारी विश्वविद्यालयले नेपाल सरकारको अनुसन्धान नीति बनाउनमा सहयोग गर्ने अपेक्षा उनको छ। चित्लाङजस्तो रमणीय स्थानमा रहेको मदन भण्डारी विश्वविद्यालय नेपालका मात्र हैन, छिमेकी राष्ट्रलगायत अन्य राष्ट्रहरूबाटसमेत विद्यार्थीहरू यहाँ आउने वातावारण बनाउनुपर्ने उनको भनाइ छ। 

 सांसद छविलाल विश्वकर्माले मदन भण्डारी विश्वविद्यालय परिवारको प्रतिबद्धतालाई प्रशंसा गर्दै अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्मीहरूलाई नेपाल सरकारले उत्प्रेरणा दिनुपर्ने बताए। नेपालमा पनि कुनै अनुष्ठान गर्ने अठोटलाई एउटा मिसनका रूपमा लिएर अगाडि बढेमा उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने देखेर प्रतिनिधिमण्डललाई प्रेरणा प्राप्त भएको जानकरीसमेत दिए। 

 

प्राध्यापकहरूले मदन भण्डारी विश्वविद्यालय आउने चित्लाङ सडक'गणेशमान सिंह राजमार्ग'को दुरावस्थाको बारेमा अवगत गराउँदै सांसदहरूलाई सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई उक्त सडक समयमै सुरक्षित यात्राको लागि उपयुक्त हुने व्यवस्था गर्न अनुरोध गरेका छन्। 

कार्यक्रममा संघीय संसद् प्रतिनिधिसभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आफ्नो मन्तव्यको क्रममा विश्वविद्यालयले गरेको कामको प्रशंसा गर्दै विश्वविद्यालयले कृषिको उत्पादनमा आधुनीकरण कसरी गर्न सक्छ र सोको प्रत्यक्ष प्रभाव नागरिकसम्म पुर्‍याउन सक्नुपर्छ भन्ने कुरामा लाग्न अनुरोध गरे। मदन भण्डारी विश्वविद्यालयले अख्तियार गरेको नीति तथा कार्यक्रमहरू अरू विश्वविद्यालयका लागि पनि अनुकरणीय हुनेमा विश्वास व्यक्त गर्दै अबका दिनहरूमा विद्यार्थीहरू खाडी मुलुक जाने होइन, आफ्नो ज्ञानको सदुपयोग गर्दै आफ्नो अनुसन्धानको परिणाम नागरिकस्तरसम्म लान प्रयत्न गर्नुपर्ने सुझाव दिएका छन्।