
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले आइतबार सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत निरीक्षण गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाउनुस्, काम तोकिएकै समयमा सक्ने गरी लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, कार्यप्रगतिका आधारमा बजेटको अभाव हुँदैन,’ उनले भने । ऊर्जामन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरुङ निर्माण सकिएकाले अब हेडबक्सको काम तीव्र गतिमा सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । ‘काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ति गर्न काम गर्नुभएन भने सरकारले वैकल्पिक बाटो सोच्छ, यो सरकारको बाध्यता हो,’ उनले बताए ।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिँचाइ हुने र ३२ मेगावाट विद्युत् उत्पादन हुने तथा कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकाले सबै मिलेर काम गर्नुपर्ने उनले बताए । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्य भेट्ने गरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताए । ‘अहिलेसम्म ५० प्रतिशत काम सकिनुपर्नेमा हेडबक्समा जम्मा १९ प्रतिशत मात्रै काम हुनु दुःखद कुरा हो, काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी लाग्नुहोस्,’ उनले भने । महानिर्देशक बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने बताए ।
१४ अर्बको आयोजनामा हालसम्म एक अर्ब २० करोड मोबिलाइजेसन खर्च परिचालन गरिसकेको उनको भनाइ छ । स्मेक कन्सल्यान्टका प्रतिनिधि दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरूले ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको बताए । आयोजनाका ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनका प्रतिनिधि रमन पटेलले विभागबाट हुने भुक्तानी वेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको भन्दै सरकारले सहयोग गरे आफूहरूले समयमै आयोजना सम्पन्न गर्ने बताए ।