
नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। नेता साहले सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।
झन्डै एक वर्षदेखि माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले नेता साहको राजीनामा माग गर्दै आएका थिए । तर, पार्टीका उपसचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको संरक्षणको कारण नेता जोगिँदै आएका थिए ।
विवाद मिलाउन पार्टी अध्यक्ष प्रचण्ड स्वयंले पहल गरेका थिए । विवाद नमिलेपछि अध्यक्ष प्रचण्डले नै नेता साहलाई राजीनामा दिन निर्देशन दिएको माओवादीका एक प्रदेश सांसदले बताए ।
उनीमाथि पार्टीका सांसदहरूकाे कुरा नसुन्ने, पार्टीलाई आघात पुग्ने काम गरेको तथा अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप छ । मधेश प्रदेशमा माओवादीका नौजना सांसद छन् । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहवर अन्सारी गरी ६ जना सांसद नेता साहको विरोधमा थिए ।