
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै कारण राजावादीहरूले टाउको उठाएको दाबी गरेका छन् । वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध संघर्ष गर्दै माओवादी अगाडि बढ्ने बताए । उनले भने, ‘अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरूले यथास्थितिवादी धारको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरू परिवर्तन र प्रगति होइन, जनतालाई अधिकार अझ थप्ने पक्षमा होइन, पाएको अधिकार पनि खोस्ने लाइनमा हुनुहुन्छ र उहाँहरूको यही गतिविधिका कारण प्रतिगामी र निरंकुशतावादी तत्वहरूले फाइदा उठाएर धमिलो पानीमा माछा मार्ने जमर्को गरेको छ । हामी त्यसविरुद्ध बलियो जवाफ दिँदै आएका छौँ । र, आउने दिनमा पनि दिनु नै पर्नेछ ।’
संविधानको रक्षाको पक्षमा उभिनेसँग कहीँ न कहीँ कार्यगत एकता वा कुनै न कुनै किसिमको तालमेल हुन सक्ने सम्भावना पनि उनले औँल्याए । सरकारले भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमान्दारहरूलाई कारबाही गर्ने गरेबाट प्रतिगमनले टाउको उठाउने मौका पाएको भन्दै प्रचण्डले यथास्थितिवादलाई वैचारिक, राजनीतिक कहीँ कतै छुट दिन नसकिने स्पष्ट पारे ।सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँ माओवादीले लडेको हुनाले भ्रष्टाचार गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने एउटै हुन भन्ने भाष्य बनाउन खोजिएको त्यसको खण्डन गर्न निर्देशन दिए ।
राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाउँदा पनि त्यसको प्रतिवाद अरूले गर्न नसक्ने प्रचण्डले दाबी गरे । सरकारको कुनै हैसियत नै नभएको उनले जिकिर गरे । ‘राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए । त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत छैन । यसको इच्छा शक्ति पनि छैन । गफ हाक्नेबाहेक केही नै छैन । त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो, ’ प्रचण्डले भने । जरुरी परे जस्तो सुकै विद्रोह पनि गर्न तयार रहेको उनले बताए ।