१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
विराटनगरको नोबेल अस्पतालमा उपचाररत काजल साफी
सौरभ यादव राजविराज
२o८२ बैशाख १६ मंगलबार o६:o३:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अप्रिय निर्णयले चार वर्षको छोराको मृत्यु, आमा आइसियूमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार o६:o३:oo

घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले एउटा चारवर्षे निर्दोष बालकको जीवन समाप्त भएको छ । सप्तरीको राजविराज नगरपालिका– १, चनौराकी २५ वर्षीया आमा काजल साफी विराटनगरस्थित नोबेल अस्पतालको आइसियूमा जीवन–मृत्युको संघर्ष गरिरहेकी छिन् ।

प्रहरीका अनुसार काजलले आफ्ना नाबालक छोरालाई विष खुवाएर आफैँ पनि ज्यान लिने प्रयास गरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काजलले आइतबार साँझ छोरा सौरभलाई विष खुवाएर आफूले पनि खाएकी हुन् । 

तर, तीनवटा अस्पताल दौडाउँदा–दौडाउँदै सौरभको सोमबार बिहान विराटनगरको नोबेल अस्पतालमा ज्यान गएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । नोबेलमै उपचाररत काजलको अवस्था पनि गम्भीर छ । उनको जीवन जोगाउन चिकित्सकले प्रयास गरिरहेका छन् । 

उनीहरूलाई आइतबार साँझ राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो । त्यहाँबाट आइतबार राति नै विराटनगरको नोबेल अस्पताल लगिएको थियो । तर, सौरभलाई भने जोगाउन सम्भव भएन । 

एक साताअगाडि धनुषाको सहिदनगर– ५, वासुदेवपट्टीमा पनि यस्तै हृदयविदारक घटना घटेको छ । एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँ पनि ज्यान लिन खोजेकी थिइन् । ३० वर्षीया गर्भवती पविता साहले ६ वर्षीय छोरा आदित्य, चारवर्षीया छोरी आकृति र दुईवर्षीया छोरी आरुषीलाई विष खुवाएकी थिइन् ।

विष सेवनबाट तीनै नाबालक सन्तानको ज्यान गएको थियो । पछि उपचारका क्रममा आमा पविताको मृत्यु भएको छ । शल्यक्रिया गरेर निकालिएका नवजात शिशुको जनकपुरस्थित रामजानकी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।