
सरकार बनेको करिब १० महिनापछि बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणको काम सुरुवात भएसँगै दलीय रूपमा गठित कार्यदलले मन्त्रीहरूको कामको समीक्षा आज गर्ने भएको हो । बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकनसहित समीक्षा गरिने कार्यदलका सदस्य एवं कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
मुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना अवधिको मूल्यांकनसहित समीक्षा गर्न लागेको उनले बताए । समीक्षा कार्यक्रममा सत्तारूढ दल कांग्रेस र एमालेबाट कार्यदलको सदस्यमा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठसहित मन्त्रीहरू रहनेछन् ।
बैठकले प्रदेश सरकारको मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकनसहित समीक्षा गर्न आवश्यक निर्देशन गर्ने कार्यदलका सदस्य रामकृष्ण चित्रकारले बताए । समीक्षामार्फत प्रदेश सरकारको आगामी गति तथा लय सुधार गर्ने योजना रहेको उनको भनाइ छ । उक्त समीक्षामार्फत प्रदेश सरकारको आगामी नीति कार्यक्रम र बजेट निर्माणमा समेत मन्त्रीहरूलाई सुझाव दिइने पनि उनले बताए । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट यथार्थपरक र आवश्यकतामा आधारित बनाउन मन्त्रीहरूलाई निर्देशन दिइनेछ ।