Skip This
जाजरकोटमा दुई बेलिब्रिज र एक पक्की पुलको शिलान्यास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
रेशमबहादुर खड्का जाजरकोट
Invalid date format o९:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जाजरकोटमा दुई बेलिब्रिज र एक पक्की पुलको शिलान्यास

Read Time : > 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
Invalid date format o९:२७:oo

सडक बनेको १५ वर्षपछि पुल बन्दै, स्थानीय खुसी

पश्चिम जाजरकोटको छेडाचाँदे सडकखण्डमा सडक सञ्चालनमा आएको १५ वर्षमा बल्ल पुल बन्ने भएको छ । बर्सातका समयमा रिठे खोला, साल्मा खोलाजस्ता स्थानमा पक्की पुल नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । हरेक वर्ष असार मसान्तदेखि कात्तिकसम्म खोलामा पानीको बहाव बढ्दा सवारीसाधन सञ्चालन ठप्प हुने र यात्रुहरू खोला–किनारमै रात बिताउन बाध्य हुने अवस्था सिर्जना हुन्थ्यो ।

सडक सञ्चालन भएको करिब १५ वर्ष बितिसक्दा पनि पुल निर्माण नहुँदा स्थानीयमा व्यापक असन्तोष रहेको छेडागाड नगरपालिका–१ का काशीराम आचार्यले बताए । ‘धेरै नेता आए, गएको देख्यौँ, तर हाम्रो पीडा सुन्ने कोही थिएन,’ उनले भने । तर, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले शनिबार रिठे खोलामा पक्की मोटरेबल पुलको शिलान्यास गरेसँगै स्थानीयमा आशा जागेको छ । साथै, छेडागाड–६ देखि जुनीचाँदे– ५ जोड्ने बेलिब्रिज र मनाघाटमा अर्को बेलिब्रिजको समेत शिलान्यास गरिएको छ ।

‘सडक खुलेको दशकौँपछि पश्चिम जाजरकोटीका लागि पक्की पुलको निर्माण सुरु हुनु ऐतिहासिक उपलब्धि हो ।’ छेडागाड नगरपालिका– १ का पूर्ववडाध्यक्ष गणेशप्रसाद जैसीले भने । उनका अनुसार मन्त्री शाहको पहलले पश्चिमी जाजरकोटका जनताको विकासको ढोका बिस्तारै खुल्न थालेको छ । ‘पहिला स्काभेटर लगाएर सवारी वारपार गर्नुपर्ने बाध्यता थियो, अब स्थायी समाधानको बाटो खुलेको छ,’ जैसीले भने ।

छेडागाड नगरपालिका– ९ का वडाध्यक्ष दीपक खड्काले निर्वाचन जितेपछि गाउँ फर्किंदैनन् भन्ने पुरानो भाष्य मन्त्री शाहले तोडेको बताए । पश्चिम जाजरकोटका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छेडाचाँदे सडकखण्डअन्तर्गत शिवालय– ९ र छेडागाड– १ जोड्ने रिठेखोला मोटरेबल पुल, छेडागाड– ६ देखि जुनीचाँदे– ५ जोड्ने लामातडा बेलिब्रिज र मनाघाट बेलिब्रिजको शिलान्यास गरिएको हो । शिवालय– ९ र छेडागाड– १ जोड्ने रिठे खोला मोटरेबल पुल निर्माणको जिम्मा आशिष आर्शीवाद जेभी चितवनले लिएको छ । ग्रामीण सडक सुधार आयोजना–परियोजना इकाइ, सुर्खेतका अनुसार पुल ०८२ चैत २६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । २५ मिटर लम्बाइ रहेको उक्त पुलको निर्माण कार्य ०८० चैत २८ गते सम्झौता भई पाँच करोड १२ लाख सात हजार ६० रुपैयाँ लागतमा सञ्चालन गरिएको हो । सम्झौता भएको एक वर्षपछि पुल निर्माणको शिलान्यास भएको हो । यसअघि बर्सेनि खोला पार गर्न समस्या व्यहोर्दै आएका स्थानीयका लागि मन्त्री शाहको विशेष पहलमा रिठे खोलामा पुल निर्माण थालिनु सुखद समाचार भएको मन्त्रीका स्वकीय सचिव बस्नेतले बताए ।

त्यस्तै, मनाघाटमा निर्माण हुने बेलिब्रिजको जिम्मा एज निर्माण सेवा धुम्बाराही, काठमाडौंले लिएको छ । उक्त पुल ०८२ चैत २२ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । ०८१ चैत २२ गते सम्झौता भई २ करोड १ लाख ८९ हजार ८ सय ६८ रुपैयाँ लागतमा काम थालिएको हो । छेडागाड– ६ र जुनीचाँदे– ५ जोड्ने लामातडा बेलिब्रिजको निर्माण गौरव हान्दिक इन्जिनियरिङ जेभीले लिएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटमार्फत सञ्चालनमा रहेको यो आयोजना ०८२ माघ २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह भन्छन्–
जनताले विगतका दिनमा भोग्दै आएको कष्टकर यात्रा तथा दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री ढुवानीसम्मको समस्या अब अन्त्य हुनेछ । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम धमाधम सुरु भएको छ । शिलान्यास गरिएका पुलको कार्य समयमै सम्पन्न हुने गरी गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई पनि निर्देशन दिएको छु ।