
खैरो हेरोइन, गाँजा र अन्य लागुऔषधसहित कास्की प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १० शिवचोक बस्ने वर्ष ३९ का राज नेपाली र सोही स्थान बस्ने वर्ष ४५ का मिलन गुरुङ भन्ने राजेन्द्र गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
पोखरा– १० शिवशक्ति मार्गस्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन अर्थात् ब्राउनसुगर पाँच सय मिलिग्राम, लागुऔषध बुर्फिन नर्फिन २५ एम्पुल, डाइजापाम १३ एम्पुल र फेनेरागन १० एम्पुल गरी जम्मा ४८ एम्पुल र लागुऔषध गाँजा एक केजी पाँच ग्राम र दुई थान मोबाइल बरामद गरेको शर्माले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।