
प्रधानमन्त्री केपी ओलीले जम्मु–कस्मिरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’
उक्त आक्रमणमा एकजना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकारनिकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एकजना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।