
नौ महिनासम्म सम्पत्ति विवरण लुकाएको सरकारद्वारा सोमबारको मन्त्रिपरिषद् बैठकबाट सुशासन आयोग गठन
सरकार गठन भएको नौ महिना बित्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । उता सरकारले सुशासन कायम गर्न भन्दै उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीकै अध्यक्षतामा यस्तो आयोग गठन गरेको हो । आयोगमा विभिन्न मन्त्री र योजना आयोगका सदस्यसहित निजी क्षेत्रबाट समेत सदस्य राख्न लागिएको छ । आयोगले कसरी काम गर्नेछ भन्ने विस्तृत खुलाइएको छैन । बेथिति र भ्रष्टाचार बढ्दै गएको गुनासाको आधारमा आयोग गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जबकि सुशासन कायम गर्ने प्रधानमन्त्रीमातहतका सतर्कता केन्द्र, हेलो सरकारलगायत निकायलाई भने सक्रिय बनाउन चासो दिइएको छैन ।
सार्वजनिक रूपमा प्रश्न उठ्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाइएको छ । जबकि विगतका सरकारहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । संसद्मा समेत प्रश्न उठ्दा पनि सरकारले सम्पत्ति विवरण लुकाउँदै आएको छ ।
सचिवको सरुवा र बढुवा
सोमबारकै बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसचिवमा केदारनाथ शर्माको सरुवा गरेको छ । उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत थिए । सचिव अर्जुन पोखरेलले अवकाश पाएपछि भूमि व्यवस्था मन्त्रालयमा सचिवको पद रिक्त थियो । त्यस्तै, वरिष्ठतम सहसचिव चन्द्रकला पौडेलको सचिवमा बढुवा भएको छ । उनी भौतिक योजना तथा यातायात मन्त्रालयमा कार्यरत थिइन् ।