Skip This
रुसतर्फ ढल्किँदै डोनाल्ड ट्रम्प 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२८:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसतर्फ ढल्किँदै डोनाल्ड ट्रम्प 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

वास्तवमा ट्रम्प प्रशासनले मस्कोलाई अहिले अन्तर्राष्ट्रिय सम्बन्धमा एक महान् शक्तिको रूपमा व्यवहार गरिरहेको छ

केही समयअघि फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको युद्ध समाधान गर्ने विषयमा रुसले वार्ता गर्ला त भन्ने विषयमा एक प्रश्न सोधिएको थियो । ‘मलाई लाग्छ उसले विश्वासका साथ वार्ता गर्नेछ,’ ट्रम्पको जवाफ थियो । ट्रम्पले स्पष्ट रूपमा जोड दिए कि द्वन्द्वमा मस्कोको हात माथि थियो । ‘रुसले युक्रेनका धेरै क्षेत्र कब्जा गरेको छ,’ उनले थपे  । सन् २०२४ को चुनावी अभियानका क्रममा ट्रम्पले ह्वाइट हाउस कमब्याक भएमा युक्रेन युद्ध तत्कालै अन्त्य गर्ने लगातार दाबी गर्दै आएका थिए । तैपनि, ट्रम्पले विगत केही दिनमा रुससँग प्रत्यक्ष वार्ता गर्न जुन गतिमा हतार गरेका छन्, त्यसले अमेरिकाका पश्चिमी सहयोगीलाई चकित पारेको छ र नेटो एकता टुक्रिने सम्भावना बढाएको छ । युक्रेन अहिलेसम्म वार्ताबाट बाहिर छ ।

युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले चालेका कदममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन कल, साउदी अरेबियामा उनका कूटनीतिक राष्ट्रिय सुरक्षा अधिकारी र रुसी समकक्षीबिचको उच्चस्तरीय बैठक र युक्रेनलाई दबाब दिन ट्रेजरी कोषका प्रतिनिधि र सेवानिवृत्त जनरल किथ केलागलाई किभ पठाउने समावेश छन् । ट्रम्पले भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक रूपमा कडा आलोचना पनि गरेका छन् । उनलाई सत्तामा टाँसिएका ‘तानाशाह’ भनेर सम्बोधन मात्र गरेका छैनन् रुसी हमलाका लागि दोषी करार गर्दै आएका छन् । यो दृष्टिकोणले तीन वर्षअघि रुसको पूर्णस्तरको आक्रमण सुरु भएदेखि युक्रेनप्रतिको अमेरिकी नीतिमा आश्चर्यजनक युटर्नलाई संकेत गर्दछ । ट्रम्पका पूर्ववर्ती जो बाइडेनको नेतृत्वमा वासिङ्टनले युक्रेनप्रति कडा समर्थन गर्दै पुटिन सरकारलाई आर्थिक दण्ड दिने रणनीति अपनायो ।

वास्तवमा ट्रम्प प्रशासनले मस्कोलाई अन्तर्राष्ट्रिय सम्बन्धमा एक महान् शक्तिको रूपमा व्यवहार गरिरहेको छ । सन् २००८ मा पुटिनले आफ्नो दक्षिणी छिमेकी जर्जियामा आक्रमण गर्नुभन्दा पहिलेदेखि नै पश्चिममा सम्भवतः उनको मनसायका बारेमा खतराको घण्टी बज्न थालेको थियो । यो परिवर्तनले रुस र युक्रेनसँगको अमेरिकी सम्बन्धमा मात्र नभई नेटो र इयूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पारेको छ । ट्रम्प पुनः निर्वाचित भएको केही हप्तामा युरोपमा अमेरिकी सहयोगी र संसद्मा रिपब्लिकनलाई उनले ‘शक्तिमार्फत शान्ति’को दृष्टिकोण अपनाउने आश्वासन दिएका थिए । बरु, ट्रम्प द्रुत गतिमा मस्कोतर्फ धेरै झुकाव देखाएकाले तिनीहरू युक्रेनको युद्धका लागि उनको नयाँ दृष्टिकोणको अर्थ के हो भनेर बुझ्न हतारिरहेका छन् । ‘ट्रम्पको प्राथमिकता परिणामको पर्वाह नगरी कुनै पनि मूल्यमा युद्धको अन्त्य गर्नु हो,’ सिएनएएसमा ट्रान्सएटलान्टिक सुरक्षा कार्यक्रमकी निर्देशक एन्ड्रिया केन्डल–टेलर भन्छिन्, ‘मलाई यति चिन्तित बनाउने कुरा के हो भने, पुटिनले अमेरिकाबाट छुट यसरी लिन लागेका छन् कि भविष्यमा थप आक्रामकताका लागि आफ्नो स्थितिलाई बलियो बनाउनेछन् ।’ कोलोराडोका डेमोक्र्याटिक सदस्य जेसन क्रोका अनुसार ‘धेरैजसो युद्ध जस्तै’ युक्रेन द्वन्द्व सम्भवतः वार्ताको टेबलमा समाप्त हुनेछ, तर ट्रम्पले यसलाई सही तरिकाले ह्यान्डल गरिरहेका छैनन् । ‘हाम्रो साझेदार युक्रेनविपरीत प्रतिद्वन्द्वीसँग वार्ता सुरु गरेर ट्रम्पले गलत सन्देश दिएका छन्’ क्रो भन्छन् । उनका अनुसार रुस र युक्रेनमा अमेरिकी नीति ‘अनियमित’ देखिन्छन् ।

ट्रम्प र पुटिनबिचको तुफान सम्बन्ध तब सुरु भयो जब ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी अधिकारीहरूसँग गोप्य वार्ता गर्न थाले । कैदी आदानप्रदानको व्यवस्थाअन्तर्गत अमेरिकी शिक्षक मार्क फोगेललाई रिहा गर्न दूतले पहल गरेका थिए । त्यहाँ उनले पुटिनसँग तीन घण्टाभन्दा बढी छलफल गरे । एक महिनाअघि गाजा युद्धमा वार्ताका लागि ट्रम्पका विदेशमन्त्री मार्को रुबियो रियादमा जाँदै थिए । साउदीे राजधानी युक्रेनका बारेमा रुससँग वार्ता सुरु गर्न सम्भवतः उपयुक्त स्थान थियो । साउदी प्रतिनिधिले दिरियाह दरबारमा वरिष्ठ अमेरिकी र रुसी अधिकारीबिचको बैठक आयोजना गरे जहाँ टोलीहरूले साढे चार घण्टा कुराकानी गरे ।

रुसी अधिकारी खुला दिलका साथ वार्तामा आएकोमा आफूहरू विश्वस्त भएको अमेरिकी अधिकारीहरूले बताए । उनीहरूले ऐतिहासिक गुनासोहरू उठाए । ‘कसरी, कति चाँडो र कुन संयन्त्रबाट यो युद्धको अन्त्य गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्न उनीहरू गम्भीर प्रक्रियामा संलग्न हुन चाहन्छन् भन्ने कुरामा विश्वस्त भएर म आज वार्तास्थलबाट बाहिर आएको छु, वार्तापछि रुबियोले भनेका थिए । अझै पनि धेरै राष्ट्रिय सुरक्षा लडाकु रहेको रिपब्लिकन पार्टीमा केही सदस्य ट्रम्पको रुस नीतिबाट चिन्तित छन् । लुइसियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले युक्रेनले युद्ध सुरु गरेको भन्ने ह्वाइट हाउसको भनाइप्रति असहमत जनाएका छन् । ‘मलाई लाग्छ भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । भ्लादिमिर पुटिन गुन्डा हुन् भन्ने तीतो यथार्थमा पनि म विश्वास गर्छु ।’

तर, ट्रम्प प्रशासनका अधिकारीहरूले रुसलाई दिइएको प्रस्तावको जोडदार बचाउ गरेका छन् र आफ्नो पंक्तिभित्रबाट हुने कुनै पनि आलोचनालाई सुरुदेखि नै निस्तेज पार्न खोजेका छन् । उनीहरूले तीन वर्षदेखि चलिरहेको द्वन्द्व समाधान गर्न खोजिरहेका तर्कसमेत गरेका छन् । ‘रुससँग वार्ता नगरेसम्म तपाईं कसरी युद्ध अन्त्य गर्न जाँदै हुनुहुन्छ ?’ उपराष्ट्रपति जेडी भान्स भन्छन्, ‘यदि तपाईं वास्तवमा द्वन्द्वलाई अन्त्य गर्न चाहनुहुन्छ भने तपाईंले लडाइँमा संलग्न सबैसँग छलफल गर्नुपर्छ ।’ उनी अगाडि भन्छन्, ‘शान्ति रुस र युक्रेनको हितमा छ । यो युरोपको हितमा छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा अमेरिकी जनताको हितमा छ ।’

विटकफको मस्को भ्रमणअघि ट्रम्प र उनको टोली वार्ताको टेबलमा आउन जेलेन्स्कीभन्दा पुटिन कम इच्छुक देखिन्छन् भन्ने कुरामा धेरै चिन्तित देखिन्थे । उनीहरूले मस्कोमाथि थप दबाब दिन रुसी ऊर्जामा अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी पनि दिएका थिए । तर, परिस्थिति नाटकीय रूपमा परिवर्तन भइसकेको थियो । अमेरिकी अधिकारीहरूले प्रस्ताव गरेको महत्वपूर्ण खनिज अधिकारसम्बन्धी सम्झौतालाई युक्रेनले अस्वीकार गरेको थियो । यसले ट्रम्पको जेलेन्स्कीप्रतिको मनोभाव बिग्रिएको छ ।

‘राष्ट्रपति ट्रम्प अहिले जेलेन्स्कीसँग धेरै निराश छन् । उनी वार्ताको टेबलमा नआएको तथ्य र हामीले गरेको प्रस्ताव अस्वीकार गरेको तथ्य जगजाहेर नै छ । मलाई लाग्छ उनी अन्ततः त्यो विन्दुमा पुग्नेछन् र चाँडै नै सहमत हुनेछ,’ राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टजले पत्रकारहरूलाई भने । सिग्नम ग्लोबल एडभाइजर्सका नीति अनुसन्धानका विश्वव्यापी प्रमुख एन्ड्रयु बिसप विश्वास गर्छन् कि ट्रम्पले दुवै पक्षको द्वन्द्वमा रहेको ‘उदासीनता’ तोड्न ‘केही नाटकीय’ कदम चाल्नुपर्ने निष्कर्षमा पुगे र रुसभन्दा युक्रेनलाई लिनु राम्रो हो भन्ने निर्णय गरे । ‘जेलेन्स्कीप्रतिको उनको सापेक्षिक घृणा र अर्थपूर्ण रूपमा तेलमा कडा प्रतिबन्ध लगाएर रुसलाई पछ्याउने सम्भावित आर्थिक लागत दुवैलाई ध्यानमा राख्दै उनले युक्रेनलाई रोजे,’ बिसप भन्छन् ।

– बेलायती समाचार संस्था मिररबाट