Skip This
उच्चस्तरीय संयन्त्रका सदस्य कांग्रेस महामन्त्री गगन थापा नै भन्छन्– प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
प्रेम गौतम काठमाडाैं
२o८२ बैशाख ३ बुधबार o६:५o:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उच्चस्तरीय संयन्त्रका सदस्य कांग्रेस महामन्त्री गगन थापा नै भन्छन्– प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच

Read Time : > 6 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार o६:५o:oo

सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्मा भन्छन्– महामन्त्रीको अभिव्यक्ति कांग्रेसको संस्थागत धारणा हो

कांग्रेसले नौ महिनाअघि आफैँले समर्थन गरेर बनाएको सरकारसँग भरोसा टुटेको सार्वजनिक टिप्पणी गरेको छ । सरकारको काम र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरूका पछिल्ला टिप्पणी सत्ता–राजनीतिको सम्भावित ‘कोर्स’का लागि पर्याप्त रहेको विश्लेषण हुन थालेको छ । 

सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका पार्टी महामन्त्री गगन थापाले मंगलबार सरकारको काम र प्रधानमन्त्रीको नियतमाथि उठाएका प्रश्नलाई कांग्रेसले ‘संस्थागत धारणा’का रूपमा स्वीकार गरेपछि सरकारको स्थायित्वमाथि गम्भीर आशंका उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार हेरफेर हुन सक्ने संकेत गरेको तथा ‘उपचार’का लागि यसै साता कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जान थालेको सन्दर्भमा सत्तागठबन्धनबिचको अविश्वास अर्थपूर्ण छ । 

कांग्रेस महामन्त्री थापाले सरकार बिचौलियाहरूले चलाउन थालेको भन्दै इसारैइसारामा प्रधानमन्त्री ओलीलाई कठघरामा उभ्याएका छन् । सत्तागठबन्धनकै एक शीर्ष नेताले प्रधानमन्त्रीमाथि उठाएको यो प्रश्न असामान्य छ । ‘यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री म भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो,’ कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै थापाले भने ।

थापा यतिमा मात्र रोकिएनन्, प्रधानमन्त्री ओलीलाई काँध थाप्न नसक्ने अवस्था आएको भन्दै सरकारकै भविष्य नै अनिश्चित भएको जनाउ दिएका छन् । सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजे पनि मूल नेतृत्वमा उत्साह र गति नदेखिँदा रामराम भन्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ । 

‘सरकारले कतिपय निर्णय गर्‍यो, त्यो गर्नुपर्ने आवश्यकता नै थिएन । चलाउनै नपर्ने कर्मचारीलाई अनावश्यक रूपमा चलाएर मानिसहरूलाई सडकमा आउनुपर्ने अवस्था सरकारले बनाइदियो । यस्तो अवस्थामा हामीले रामराम भन्ने हो, गर्ने के त ?’ थापाले प्रधानमन्त्री ओलीबाट संयुक्त सरकारको अभ्यास नभएको जनाउ गरे । 

केही काम गर्न सकिन्छ भनेर सुरुदेखि नै जोडबल गरे पनि सरकारले गति पक्रिन नसकेको, बरु ट्रयाक्टरजस्तो चलिरहेको थापाले विश्लेषण सुनाए । ‘सुरुको चरणमा जोतिएर काम गरेको पनि हो । एकदम उत्साहको साथ धेरै बदल्न सकिन्छ भनेर लागेको पनि हो । आज एउटा, भोलि एउटा, पर्सि एउटा यहाँ राम्रो भएको छ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्नेछ । देशलाई कंकर्डको स्पिड चाहिएको छ । तर, बिस्तारै के लाग्न थालेको छ भने सरकार ट्रयाक्टरको स्पिडमा छ ।’ 

संसद्बाट विधेयक पारित गरेर जाने बाटो हुँदाहुँदै तीव्र गतिका काम गर्न अध्यादेश ल्याएको उनको दाबी छ । तर, सरकारले त्यसअनुसार काम नगरेको थापाले बताए । ‘सरकारले स्पिडमा काम गरेको भए आज शिक्षक सडकमा आउनुपर्ने स्थिति बन्दैन थियो । सहकारीपीडितको सन्दर्भमा पाँच लाखभन्दा मुनिको बचतकर्ताको रकम फिर्ता गर्न संसदीय समितिले सुझाव बुझाएको र त्यसका लागि संयन्त्र बनाएको महिनौँ भइसक्यो । ती कुनै पनि मानिस सडकमा आउनुपर्ने स्थिति आउँदैन थियो,’ उनले भने ।

यति मात्र होइन, थापाले समाजले कन्फिडेन्स लुज गरेको भन्दै सरकार ‘असफल’ बनेको जनाउ दिए । ‘इकोनोमी यति धेरै दबाबमा परेको मैले देखेको थिइनँ । हाम्रो अर्थतन्त्र धेरै ठुलो दबाबमा छ । हाम्रो आर्थिक गतिविधि जताततै सुस्ताएको, सेलाएको छ । नेपालका बैंकमा यति धेरै पैसा कहिल्यै पनि थिएन । बैंकमा पैसा छ, लोन लिन कोही पनि जाँदैन,’ उनले भने, ‘यति धेरै विदेशी मुद्राको सञ्चिति पनि कहिल्यै थिएन । तर, त्यसको प्रयोग कहाँ गर्ने हो थाहा छैन । हामीसँग अझै पनि सार्वजनिक ऋण लिन पाउने ठुलो स्पेस बाँकी छ । थुप्रै इन्डिकेटर ठिक ठाउँमा छ । तर, सिंगो समाजले कन्फिडेन्स लुज गरेको छ । बजारले कन्फिडेन्स लुज गरेको छ ।’ थापाले भविष्यको राजनीतितिर संकेत गर्दै भने, ‘जनताका गुनासा र असन्तुष्टि हामी सम्हाल्छौँ भनेर कांग्रेसले भरोसा दिनुपर्ने अवस्था छ ।’ 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा महामन्त्रीको मात्रै विषय नभई कांग्रेसकै प्रश्न भएको बताउँछन् । ‘महामन्त्रीको मात्रै होइन, कांग्रेसकै कुरा हो त्यो । सरकारले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न सकेको छैन भन्ने हाम्रो प्रश्न हो । सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्‍यो । संयन्त्रबाट महामन्त्रीले सुझाव दिनुभयो । सभापतिले पनि सुझाव दिनुभयो । तर, परिणाम नआएको अवस्थामा सबै ठिक छ भनेर बोल्न सक्ने स्थिति छैन,’ उनले भने, ‘विपक्षी दलले सरकारको विकल्प खोज्दै छन् । हामी सत्तारूढ दलले सरकारको कार्यशैलीको विकल्प खोज्दै छौँ । हाम्रो सभापतिले प्रधानमन्त्रीको कार्यशैलीको विकल्प खोज्नुभएको छ, सरकारको विकल्प होइन ।’ 

सरकारको नेतृत्व गरिरहेको एमालेले बजारीकरणका लागि कांग्रेस महामन्त्रीको अभिव्यक्ति आएको दाबी गरेको छ । ‘गगनजी आफूलाई बजारीकरण गर्नका निम्ति निकै सिपालु हुनुहुन्छ । नेपाली राजनीतिमा आफूलाई बजारीकरण गर्ने अनि त्यसमा आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नुहुन्छ । पपुलारिटीका लागि उहाँ निकै माहिर हुनुहुन्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘उहाँ बिहान एउटा भन्नुहुन्छ, बेलुका अर्को । उहाँले अहिले विकल्प होइन, सरकारको कार्यशैलीमा परिवर्तन भनिसक्नुभयो । जिम्मेवार नेतृत्वले विषयवस्तु, अन्तर्य र गम्भीरतालाई हेरेर अभिव्यक्ति दिनुपर्छ ।’ 

प्रमुख प्रतिपक्ष दल माओवादीले भने सबै क्षेत्रमा असफल भएको सरकार जनताको चौतर्फी घेराबन्दीमा परेपछि सत्तारूढ दलका नेताहरूको असन्तुष्टि सार्वजनिक भएको दाबी गरेको छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कांग्रेस–एमालेबिचको अन्तरविरोध सत्तारूढ दलका नेताको अभिव्यक्तिमा झल्किएको बताए । ‘सरकार सबै क्षेत्रमा असफल भएको छ । चौतर्फी रूपमा आन्दोलनको घेराबन्दीमा छ । अब उम्कनै नसक्ने गरी जनताको घेराबन्दीमा गरेपछि सत्तारूढ दलबाटै असन्तुष्टि आउनु स्वाभाविक हो,’ सापकोटाले भने, ‘दुईतिहाइको दम्भले गर्दा आफ्नै भारले सकिने अवस्थामा सरकार पुग्यो । सत्तारूढ दलका नेताहरूको अभिव्यक्ति हेर्दा उहाँहरूको बिचमा अन्तरविरोध चर्किएको देखिन्छ ।’ 

राजनीतिक विश्लेषक कृष्ण पोखरेल सत्तारूढ दलका नेताको असन्तुष्टिले प्रधानमन्त्री दबाबमा पर्ने बताउँछन् । सरकार परिवर्तनको रूपमा नभई प्रधानमन्त्रीलाई दबाब दिने कांग्रेसको रणनीति भएको उनी दाबी गर्छ । ‘सरकारको आलोचना तीव्र रूपमा भइरहेको छ । सरकारले राम्रो काम गर्न सकिराखेको छैन । यस्तो वेला प्रश्न उठ्नु स्वाभाविक हो । सत्तारूढ घटककै नेताले कुरा उठाएपछि प्रधानमन्त्री दबाबमा पर्छन् । तर, कांग्रेसको निर्णायक ठाउँमा गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला छैनन्,’ उनले भने, ‘मासमा गगनले राम्रो बोले भन्ने पर्ने भयो । कुरा उठ्नेबित्तिकै प्रधानमन्त्रीले देउवालाई भेटिसके । ओलीलाई झुकाउनका लागि यी कुराले मद्दत गर्छ जस्तो लाग्छ । यसलाई राजनीतिक कोर्स परिवर्तनको हिसाबमा मैले बुझेको छैन । किनकि, नेपालमा अगाडि बढ्ने काम सुटुक्क हुन्छ, नेपाली जनताले पछाडि थाहा पाउँछन् । जबसम्म देउवा तात्दैनन्, तबसम्म फेरबदल हुँदैन ।’ 

नेताहरूको असन्तुष्टि चर्किएपछि कांग्रेसले बोलायो बैठक
कांग्रेसले यही ७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सरकारको समीक्षा पनि हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीमाथि गगनका चार गम्भीर प्रश्न

१. यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री म भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो ।

. सरकारले कतिपय निर्णय गर्‍यो, त्यो गर्नुपर्ने आवश्यकता नै थिएन । चलाउनै नपर्ने कर्मचारीलाई अनावश्यक रूपमा चलाएर मानिसहरूलाई सडकमा आउनुपर्ने अवस्था सरकारले बनाइदियो । यस्तो अवस्थामा हामीले रामराम भन्ने हो, गर्ने के त ?

३. सुरुको चरणमा जोतिएर काम गरेको पनि हो । एकदम उत्साहको साथ धेरै बदल्न सकिन्छ भनेर लागेको पनि हो । आज एउटा, भोलि एउटा, पर्सि एउटा यहाँ राम्रो भएको छ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्नेछ । देशलाई कंकर्डको स्पिड चाहिएको छ । तर, बिस्तारै के लाग्न थालेको छ भने सरकार ट्रयाक्टरको स्पिडमा छ । 

. इकोनोमी यति धेरै दबाबमा परेको मैले देखेको थिइनँ । हाम्रो अर्थतन्त्र धेरै ठुलो दबाबमा छ । हाम्रो आर्थिक गतिविधि जताततै सुस्ताएको, सेलाएको छ । नेपालका बैंकमा यति धेरै पैसा कहिल्यै पनि थिएन । बैंकमा पैसा छ, लोन लिन कोही पनि जाँदैन । यति धेरै विदेशी मुद्राको सञ्चिति पनि कहिल्यै थिएन । तर, त्यसको प्रयोग कहाँ गर्ने हो थाहा छैन । हामीसँग अझै पनि सार्वजनिक ऋण लिन पाउने ठुलो स्पेस बाँकी छ । थुप्रै इन्डिकेटर ठिक ठाउँमा छ । तर, सिंगो समाजले कन्फिडेन्स लुज गरेको छ । बजारले कन्फिडेन्स लुज गरेको छ ।

गगन अहिले बोले, प्रचण्डले उतिवेला नै संसद्बाटै आरोप लगाएका थिए 
प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले चलाइरहेको दाबी गरेका थिए । ‘सरकारको दुईतिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैलेचाहिँ देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् । तपाईंहरूले गर्ने नियुक्ति, तपाईंहरूले गर्ने सेटिङ तपाईंहरूले गरेको मैले त देख्दिनँ, ती त बिचौलियाहरूले उनीहरूले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु– एउटै नियुक्ति, एउटै नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए मात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छ, केही समयअघि प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरूको हस्तक्षेप रहेको दाबी गर्दै भनेका थिए । 

प्रधानमन्त्रीको कार्यशैलीको विकल्प खोज्दै छौँ : मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख, कांग्रेस
महामन्त्रीको मात्रै होइन, कांग्रेसकै कुरा हो त्यो । सरकारले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न सकेको छैन भन्ने हाम्रो प्रश्न हो । सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्‍यो । संयन्त्रबाट महामन्त्रीले सुझाव दिनुभयो । सभापतिले पनि सुझाव दिनुभयो । तर, परिणाम नआएको अवस्थामा सबै ठिक छ भनेर बोल्न सक्ने स्थिति छैन । विपक्षी दलले सरकारको विकल्प खोज्दै छन् । हामी सत्तारूढ दलले सरकारको कार्यशैलीको विकल्प खोज्दै छौँ । हाम्रो सभापतिले प्रधानमन्त्रीको कार्यशैलीको विकल्प खोज्नुभएको छ, सरकारको विकल्प होइन ।

गगनजी बिहान एउटा बोल्नुहुन्छ, बेलुकी अर्कै बोल्नुहुन्छ : राजेन्द्र गौतम, प्रमुख, एमाले प्रचार विभाग
गगनजी आफूलाई बजारीकरण गर्नका निम्ति निकै सिपालु हुनुहुन्छ । नेपाली राजनीतिमा आफूलाई बजारीकरण गर्ने अनि त्यसमा आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नुहुन्छ । पपुलारिटीका लागि उहाँ निकै माहिर हुनुहुन्छ । उहाँ बिहान एउटा भन्नुहुन्छ, बेलुका अर्को । उहाँले अहिले विकल्प होइन, सरकारको कार्यशैलीमा परिवर्तन भनिसक्नुभयो । जिम्मेवार नेतृत्वले विषयवस्तु, अन्तर्य र गम्भीरतालाई हेरेर अभिव्यक्ति दिनुपर्छ ।

जनताको घेराबन्दीमा परेपछि सत्तारूढ दलबाटै असन्तुष्टि आउनु स्वाभाविक हो : अग्नि सापकोटा, प्रवक्ता, माओवादी
सरकार सबै क्षेत्रमा असफल भएको छ । चौतर्फी रूपमा आन्दोलनको घेराबन्दीमा छ । अब उम्कनै नसक्ने गरी जनताको घेराबन्दीमा परेपछि सत्तारूढ दलबाटै असन्तुष्टि आउनु स्वाभाविक हो । दुईतिहाइको दम्भले गर्दा आफ्नै भारले सकिने अवस्थामा सरकार पुग्यो । सत्तारूढ दलका नेताहरूको अभिव्यक्ति हेर्दा उहाँहरूको बिचमा अन्तरविरोध चर्किएको देखिन्छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी : सत्तारूढ घटककै नेताले कुरा उठाएपछि प्रधानमन्त्री दबाबमा पर्छन्
सरकारको आलोचना तीव्र रूपमा भइरहेको छ । सरकारले राम्रो काम गर्न सकिराखेको छैन । यस्तो वेला प्रश्न उठ्नु स्वाभाविक हो । सत्तारूढ घटककै नेताले कुरा उठाएपछि प्रधानमन्त्री दबाबमा पर्छन् । तर, कांग्रेसको निर्णायक ठाउँमा गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला छैनन् । मासमा गगनले राम्रो बोले भन्ने पर्ने भयो । कुरा उठ्नेबित्तिकै प्रधानमन्त्रीले देउवालाई भेटिसके । ओलीलाई झुकाउनका लागि यी कुराले मद्दत गर्छ जस्तो लाग्छ । यसलाई राजनीतिक कोर्स परिवर्तनको हिसाबमा मैले बुझेको छैन । किनकि, नेपालमा अगाडि बढ्ने काम सुटुक्क हुन्छ, नेपाली जनताले पछाडि थाहा पाउँछन् । जबसम्म देउवा तात्दैनन्, तबसम्म फेरबदल हुँदैन ।

‘उपचार’का लागि सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीसँग देउवाको भेटवार्ता, संयन्त्रको बैठक राख्ने समझदारी


सरकारको काम र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाउन थालेपछि सत्तारूढ दलका शीर्ष नेता संवादमा लागेका छन् । सोहीअनुसार सरकारबारे बाहिर भइरहेको आलोचना र असन्तुष्टिबारे राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएका छन् । 

सरकारको कामबारे सत्ताको प्रमुख सहयात्री कांग्रेसको शीर्ष तहबाटै आलोचना बढिरहेका वेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच मंगलबार भएको भेटवार्तामा समझदारी बनेको हो । उनीहरूको समझदारीसँगै बिहीबारभित्र राजनीतिक संयन्त्रको बैठक बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सभापति देउवा ६ वैशाखमा उपचारको सिलसिलामा सिंगापुर प्रस्थान गर्ने तयारीमा छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवाले प्रधानमन्त्री ओलीसँग शिक्षकसहित विभिन्न पेसागत संस्थाको आन्दोलन, सरकारका विषयमा बाहिर देखिएका असन्तुष्टि र आफ्नो सिंगापुर भ्रमणको उद्देश्यसहित समसामयिक विषयमा छलफल गरेका हुन् । 

दुई नेताबिच सरकारको काम प्रभावकारी बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । ‘गभर्नर नियुक्ति, निर्वाचन आयोगमा रिक्त हुन लागेको प्रमुख आयुक्तको नियुक्तिसहित अहिले चलिरहेको आन्दोलन, प्रमुख प्रतिपक्ष दलका नेताले सरकार हेरफेर हुने भन्दै गरेको टिप्पणीलगायत विषयमा केन्द्रित रहेर कुराकानी भएको छ,’ स्रोतले भन्यो, ‘सरकारका विषयमा संयन्त्रकै सदस्यले बाहिर प्रश्न उठाउँदा गलत सन्देश गएको छ । संयन्त्रकै बैठकमा छलफल गर्ने उहाँहरूबिच समझदारी छ ।’