
गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो सोमबार कम्तीमा १७ थप प्यालेस्टिनीको मृत्यु भएपछि अक्टोबर २०२३ देखि इजरायलको नरसंहारकारी युद्धमा मारिने प्यालेस्टिनीको संख्या ५१ हजार पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ६९ जना थप घाइतेलाई पनि अस्पताल स्थानान्तरण गरिएको बताएको छ । योसँगै इजरायली आक्रमणमा घाइते हुनेको संख्या एक लाख १६ हजार ३४३ पुगेको छ । ‘कैयौँ पीडित अझै पनि भग्नावशेषमुनि र सडकमा फसेका हुन सक्छन् । उद्धारकर्ता घाइतेसम्म पुग्ने अवस्था छैन,’ विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो युद्धविराम सम्झौता लम्बिन नसकेपछि इजरायली सेनाले मार्च १८ मा गाजापट्टीमा पुनः आक्रमण सुरु ग¥यो । जनवरीमा युद्धविराम भएर कैदी आदानप्रदान सम्झौता भए पनि यसबिच इजरायली कारबाहीमा एक हजार ६३० जना मारिए भने चार हजार ३०० भन्दा बढी घाइते भएका थिए ।
गत नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका पूर्वरक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ वारेन्ट जारी गरेको थियो । इजरायलले गाजामा गरेको बमबारीका लागि अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहार मुद्दाको सामना पनि गरिरहेको छ ।