मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार o८:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मधेश फराकिलो अन्तरले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार o८:३७:oo

 मधेश प्रदेशले प्रधानमन्त्री कप (पिएम) क्रिकेट प्रतियोगितामा मंगलबार कोशीलाई १६५ रनको फराकिलोअन्तरले हराएको छ । सिद्धार्थनगर रंगशालामा पहिलो ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । प्रत्युत्तरमा कोशीले ३३ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र जोड्यो । मधेशले आफ्नो पहिलो खेलमै जित निकाली दुई अंक जोडेको छ । कोशीले लगातार दुई खेल गुमाएको छ । 

मधेशका अनुभवी कप्तान अनिलकुमार साह र पवन सर्राफले अर्धशतकीय योगदान दिएका थिए । ओपनर अनिलले ७५ बलमा १० चौकाको सहयोगमा ७५ रन जोडे । उनी इनिङ्सको २९.१ ओभरमा आउट भए । यसैगरी, पवनले ८५ बलमा ११ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ९२ रन बटुले । पवनले दीपेश दाससँग पाँचौँ विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । दुवैले टोलीलाई १४५–४ बाट २६८–५ को स्थितिमा राखे । दीपेशले ६० बलमा सात चौका र एक छक्का प्रहार गरी ५६ रनको योगदान दिए । 

प्रत्युत्तरमा कोशीले गतिलो ब्याटिङ गर्न सकेन । मधेशका रूपेश सिंहले घातक बलिङ गर्दै २९ रनमा पाँच विकेट लिए । उनले शीर्ष, मध्य तथा पुछारका खेलाडीलाई आउट गर्दै मधेशको जित पक्का पारे । कोशीको ब्याटिङमा सकिव हकले सर्वाधिक २५ रन तथा सुरज थपलियाले २४ रन बनाएका थिए । कोशीका चार खेलाडी डकआउट भएका थिए । 

प्रतियोगिताको लमाहीमा भएको खेलमा कर्णालीमाथि गण्डकीले चार विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भयो । गण्डकीका चन्द्र पौडेल, सुभाष भण्डारी तथा विपिन खत्रीले समान दुई विकेट लिए । सहज लक्ष्य पछ्याउँदा गण्डकीले कमजोर सुरुवात गरेको थियो । इनिङ्सको एक समय गण्डकी २२–६ को अवस्थामा थियो । दीपक द्रुमेले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा गण्डकीको जित सुनिश्चित भयो । उनले ७८ बलमा सात चौका प्रहार गरेका थिए ।