
ऊर्जामन्त्री दीपक खड्काको अभिव्यक्तिले ‘राम्रो काम गर्नेलाई नेपालमा टिक्न दिँदैनन्’ भन्ने नकारात्मक विचारलाई थप प्रोत्साहन गरेको कर्मचारी संगठनहरूले बताएका छन्।
कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्रीको अभिव्यक्तिले ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ बनाउने अभियानमा खटिने विद्युत् प्राधिकरणको नेतृत्व र आमकर्मचारीलाई हतोत्साहित गरेको प्रतिक्रिया दिएका हुन्।
ऊर्जामन्त्री खड्काले बिहीबार संसदको रोस्ट्रमबाट नेपालमा लोडसेडिङ अन्त्य प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नभई भारतले गरेको बताएका थिए। साथै उनले प्राधिकरण कागजमा मात्रै नाफामा रहेको बताएका थिए।
‘...लोडसेडिङ अन्त्यलाई नेपालको कारणले अन्त्य भएको होइन भनेर जिम्मेवार व्यक्तिबाट सम्मानित सदनमा अभिव्यक्ति दिनुले विद्युत् प्राधिकरणमा कार्यरत स्थायी तथा म्यादी/ज्यालादारी कर्मचारी मात्रै नभएर सिंगाे सार्वभौमसत्तासम्पन्न नेपाली जनताको अपमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘...विद्युत् प्राधिकरणको नाफा केवल कागजी नाफा हो भन्ने वक्तव्यले सिंगाे विद्युत प्राधिकरणको लेखा प्रणाली, प्राधिकरण सञ्चालक समितिबाट पास भएको वित्तीय प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदनलाई समेत खण्डित गरेको छ। यस्तो झुट र भ्रामक तथ्य सम्मानित सदनमा समेत प्रस्तुत गरिनु आफैँमा दुःखदायी छ।’
मन्त्रीले निरन्तर नाफामा गइरहेको संस्थामा राजनीतिक हस्तक्षेप बढाउने र कर्मचारीहरूको नामै किटान गरी सरुवा गर्न निर्देशन दिने कार्य गरेको भन्दै कर्मचारीहरूले भनेका छन्, ‘यस्ता कार्यलाई समर्थन नगरेको आधारमा संस्था प्रमुखलाई हतोत्साहित गर्ने र आमकर्मचारीको मनोबल कमजोर हुने गरी पटक–पटक स्पष्टीकरण सोधेर उज्यालो नेपाल–समृद्ध नेपालको अभियानमा अवरोध सिर्जना भइरहकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’