
नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार चर्च ब्वाइज र थ्री स्टार क्लबबिच प्रतिस्पर्धा हुादेछ । दुवै क्लबका प्रशिक्षक र कप्तानले उपाधिमाथि आ–आफ्नो दावी प्रस्तुत गरेका छन् । विराटनगरको सहिद रंगशालामा बुधबार साँझ ६ बजे फाइनल हुनेछ । चर्च ब्वाइज पहिलो र थ्री स्टार दोस्रोपटक गोल्डकप विजेता हुने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।
थ्री स्टारले क्वार्टरफाइनलमा मच्छिन्द्रलाई २–१ र सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–२ ले पाखा लगाएको थियो । चर्च ब्वाइजले क्वार्टरफाइनलमा एनआरटीलाई २–० र सेमिफाइनलमा नेपाल पुलिसलाई १–० को झिनोअन्तरले हराउँदै थ्री स्टारसँगको फाइनल भेट पक्का गरेको थियो । यी दुई क्लबबिच पहिलोपटक यस सिजनको गोल्डकप प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । थ्रीस्टार पाँचौँ संस्करणमा आर्मीलाई ३–० ले हराउँदै उपाधि हात पारेको थियो ।
चर्च ब्वाइज नौ गोल्डकपको फाइनलमा
चर्च ब्वाइजले भने यस सिजनमा चारवटा गोल्डकप जित्ने दाउमा छ । यो सिजन ९ मध्ये ८ गोल्डकपको फाइनलमा चर्च ब्वाइज पुगेको छ । जसमध्ये तीनमा विजेता र पाँचमा उपविजेता बनेको थियो । चर्च ब्वाइजले फिदिम फाल्ष्गुनन्द, झापा कप, र बागमती गोल्डडपको उपाधि जितेको छ । सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फरेन्समा चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले पहिलोपटक फाइलन खेल्दा उत्साहित भएको बताए । ‘हामी यहाँ पहिलोपटक उपाधि भिडन्तमा उभिएका छौँ, विराटनगरबाट सिजनकै चौथो उपाधि जित्दे फर्कने योजना छ,’ श्रेष्ठले भने, ‘यसअघि हामीले मोफसलमा तीन वटा गोल्डकप जितिसकेका छौँ ।’ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘फाइनलमा खेल्नु नै पहिलो उपलब्धि हो,’ बुढाथोकीले भने, ‘चौथो उपाधि जित्ने विश्वास खेलाडीले गरेका छन् ।’ उनले थ्री स्टारविरुद्ध टेक्निकल खेल खेल्ने बताए ।
थ्री स्टारका प्रशिक्षक गणेश खड्काले प्रतिष्ठित विराट गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले कप्तान योगेशलाई मिस गर्नेछौँ, दोहोरो पहेँलो कार्डका कारण उहाँले फाइनल गुमाउनु भएको छ,’ प्रशिक्षक खड्काले भने, ‘हामी उत्कृष्ट खेलाडी ल्याउनेछौँ, खेलअगाडि मात्रै कप्तानी जिम्मेवारी एकजनालाई दिन्छौँ ।’
थ्री स्टारलाई कप्तान योगेशको अभाव हुने
थ्री स्टारका कप्तान योगेश गुरुङले आफू अनुपस्थित रहे पनि राम्रो टिमवर्कका साथ उपाधि जित्ने बताए । ‘प्रतिस्पर्धी बलियो भए पनि रणनीतिअनुरूप खेल्नुपर्छ,’ गुरुङले भने, ‘सवै खेलाडीले फाइनललाई विशेष बनाउने लक्ष्य राखेका छन् ।’ १९ फागुनबाट सुरु गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टोली सहभागीता रहेको थियो । विजेताले ११ लाख र उपबिजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार रुपैयाँ दिइनेछ ।
मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमिफाइनलमा
मच्छिन्द्र फुटबल क्लब पाँचौँ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टाको मेचीनगर मैदानमा मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्रले एपिएफ क्लबलाई १–० ले हराउँदै अन्तिम दुईको स्थान पक्का गरेको हो । मच्छिन्द्रको जितसँगै अन्तिम चारको समीकरण पूरा भएको छ ।
मच्छिन्द्रले अब फाइनल प्रवेशको खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । क्वार्टरफाइनलमा चर्च ब्वाइजले झापा एफसीलाई सडनडेथमा ५–४ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिस सेन्टर र धरान एफसीबिच खेल हुनेछ । उद्घाटन खेलमा काँकडभिट्टाले भारतको जर्जियन एफसीलाई ४–२ ले हराएको थियो । धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पाखा लगाउँदै अन्तिम चारको टुंगो लगाएको थियो ।
युसुफको निर्णायक गोल
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रलाई जिताउन विदेशी खेलाडी युसुफ मलिकले निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा अर्का विदेशी खेलाडी स्टेफन कामहको क्रसलाई वान टचमै गोल गरेका हुन् । दोस्रो हाफमा दुवै टोलीका खेलाडीले अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । खेलको प्लेयर अफ दी म्याच मलिक नै घोषित भए । उनले ११ हजार प्राप्त गरे ।
यसअघि खेलमा एपिएफका गोलरक्षक विशाल गुरुङले मच्छिन्द्रका आधा दर्जनभन्दा बढी प्रहार रोक्दै सम्भावित ठुलो गोलअन्तरको हार टारेका थिए । उनले मच्छिन्द्रका मिडफिल्डर आदित्य शाक्यको दुई, विदेशी खेलाडीहरू युसुफ, स्टेफनका समान वान भर्सेज वानको अवस्थामा टोलीलाई गोल खानबाट जोगाए । मच्छिन्द्रका प्रशिक्षक गणेश कटवालले लगातार मोफसलको खेल हुँदा खेल्न गाह्रो भएको बताए । एपिएफविरुद्ध मच्छिन्द्रको कप्तानी विशाल श्रेष्ठले गरेका थिए । एपिएफका प्रशिक्षक टोप विष्टले अवसर बनाएपछि सदुपयोग गर्न नसक्दा गोल गर्न चुकेको बताए ।
धेरै गोल्डकप हुँदा खेल्न भ्याइनभ्याइ भयो
गणेश कटवाल, प्रशिक्षक, मच्छिन्द्र
एपिएफ सेट टिम हुँदा समस्या भयो । हामीले सोचेजस्तो गोल भएन । नयाँ खेलाडी हुँदा अहिले गाह्रो भयो । तर, एपिएफविरुद्ध जित निकाल्न सफल भयौँ । सेमिफाइनलमा पुग्दा सबै खुसी छन् । अहिले मोसफलमा गोल्डकप धेरै हुँदा हामी मात्र नभएर अरूलाई पनि खेल्न गाह्रो भएको छ । लगातार खेल भइरहेका छन् । एन्फाले गोल्डकप एकैपटक आयोजना गर्न मिति राख्दा धेरै आएको हो । बाँकी खेलमा खेलाडी थपेर खेल्छौँ ।
हामीले अवसर सदुपयोग गर्न सकेनौँ
टोप विष्ट, प्रशिक्षक, एपिएफ क्लब
हामी जितको हकदार थियौँ । फोर्थ अफिसलका कारण हामीले गोल व्यहोरेका हौँ । मच्छिन्द्रको त्यो गोल थिएन । हामीले दुवै हाफमा राम्रो खेल्यौँ । काउन्टरमा दुवै टोलीले राम्रो अवसर पाए । हामी त्यसमा सफल भएनौँ । विपक्षी राम्रो हुँदा खेलमा एक वा दुईपटक मात्र अवसर पाउछ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।