मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २७ मंगलबार o८:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजावादी पनि आन्दोलनको तयारीमा

फागु पूर्णिमालगत्तै राप्रपाले रणनीति बनाउने, साझा मोर्चाका लागि राप्रपा नेपालको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार o८:२८:oo


 पोखराबाट काठमाडौं आउँदा पूर्वराजाको स्वागतमा समर्थकहरूको उपस्थितिले हौसिएका राजावादी दल तथा समूहले आन्दोलनको तयारी गरेका छन् । होलीलगत्तै उनीहरूले मोचाबन्दी र अलग–अलग कार्यक्रमका विकल्पसहित आन्दोलनमा जाने तयारी थाल्ने भएका हुन् । राजावादी विचार समूहको सबैभन्दा ठुलो दल राप्रपाले आइतबार पूर्वराजा शाहको उपस्थितिमा भएको प्रदर्शनको समीक्षा गर्न र आन्दोलनको भावी रणनीति तय गर्न ३ चैतका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइसकेको छ ।

‘आइतबारको उपस्थिति वास्तवमा जनसागर थियो र त्यसले स्पष्ट संकेत गरेको छ कि देश यही अवस्थामा रहन सक्दैन । हामी समान विचारका दल, नागरिक समाज सबैको साथ लिएर आन्दोलन अघि बढाउनेछौँ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । राप्रपाले आफ्नो एजेन्डाका लागि वातावरण थप सहज भएको र सत्ता तथा प्रतिपक्षी दलहरूले सोच्नुपर्ने परिस्थिति बन्दै गरेको निष्कर्ष निकालेको छ । पूर्वराजा शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको तथा आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राप्रपाको दाबी छ । 

राप्रपा नेपाल पनि आइतबारको प्रदर्शनबाट हौसिएको छ । राप्रपा नेपालले प्रजातन्त्र दिवसमा पूर्वराजा शाहले गरेको सम्बोधनलाई जनताले आत्मसात गरेको दाबी गरेको छ । आइतबारको प्रदर्शनलाई ‘ऐतिहासिक जनप्रदर्शन’भनेको राप्रपा नेपालले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने संकेत देखिएको पनि तर्क गरेको छ । ‘आइतबार जनप्रदर्शनको राप र ताप जुन स्केलमा आएको छ, यसलाई निरन्तर अघि बढाउनुपर्छ । तर, अन्योलमा अघि जान नसकिने भएको हुनाले म विचारधारा मिल्ने सबैसँग समन्वय गरेर अघि बढ्नेछु,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार पदाधिकारी बैठकमा भने । 

राप्रपा नेपालले जनताको आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको जनाएको छ । ‘सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नुहुँदैन भन्नेमा हामीले पुनःजोड दिएका छौँ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्तशक्तिहरू यथासम्भव चाँडो एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।

राप्रपा नेपालले ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत सम्बद्ध सबैमा आह्वान गरेको छ । ‘अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । विचारधारा मिल्ने सबै दल, समूह र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्छ, त्यसका लागि प्रयास र समन्वय पनि हामीले नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ बर्तौलाले भने ।