
सल्यानको त्रिवेणी गाउँपालिका– ३ ढुंगीबजारमा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन्। ती क्रसरले स्थानीयलाई सास्ती दिएको र पर्यावरणमा समेत क्षति पुगेको भन्दै स्थानीय राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन्।
उक्त क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको बताउँदै दलहरूले ध्वनि प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण गर्नुका साथै जथाभावी रूपमा शारदा नदीबाट गिटी बालुवा निकाल्दा सिँचाइ कुलो र पर्यावरणमा समेत क्षति पुगेकाले तत्काल उत्खनन रोकी क्रसर बन्द गराउन माग गरेको ढुंगीबजार बजार व्यवस्थापन समितिका अध्यक्ष रणपिवर ओलीले बताए।
बालुवा वासिङ कम्पनीको रूपमा दर्ता भएको ‘बगेश्वरी एग्रिग्रेट प्रालि’ले राजनीतिक संरक्षणमा उक्त स्थानमा क्रसर उद्योग नै चलाएको र नदीमा एक्स्काभेटर प्रयोग गरेर मनपरी दोहन गर्ने गरेको उनको आरोप छ।
क्रसर उद्योगबाट ५० मिटरको दूरीमा माध्यमिक विद्यालय, बजार र सय मिटरको दूरीमा बर्थिङ सेन्टर, स्वास्थ्य चौकी छन्। मापदण्डविपरीत बालुवा–गिट्टी उत्खनन गर्दा नदीको सतह घटी सिँचाइ कुलोहरूमा समेत समस्या भएको राजेन्द्रकुमार थापाले बताए।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले खोलानदीको जिम्मा स्थानीय सरकारलाई दिइएको र अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई भएको हुँदा उनीहरूसँग समन्वय गरेर अनुगमन गर्ने बताइन्। यस्तै जिल्ला समन्वय समिति उपप्रमुख असवीर बुढाथोकीले उक्त उद्योगको उजुरी पहिले पनि आएको र मापदण्डविपरीत सञ्चालन भएकाले समन्वय प्रमुख आएपछि छलफल गरेर पुनः अनुगमन र निर्देशन गर्ने बताए।
उक्त उद्योगविरुद्धको उजुरी गृह मन्त्रालयसम्म पुगेको, तर कुनै निर्देशन नआएकाले बन्द गराउन समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशरकुमार न्यौपानेले बताए। मन्त्रालयबाट कुनै जानकारी नआए पनि जथाभावी नदी दोहन नियन्त्रण गर्ने काम प्रहरीको भएकाले सोहीअनुसार स्थानीय प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ।