
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरु शुक्रबार साँझ सिरहा प्रवेश गरेका छन् ।
पूर्व पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको पूर्वी भेगमा पर्ने भगवानपुर आइपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहीँ बास बसेको जिल्ला इञ्चार्ज अजयशंक नायकले जानकारी दिए । भगवानपुरमा स्थानीय बासिन्दा तथा नेता कार्यकर्ता, समर्थकहरुले स्वागत गरेपछि अध्यक्ष प्रचण्ड स्थानीय व्यवसायी बलराम साहको घरमा बास बस्ने व्यवस्था मिलाइएको उनले बताए । अभियानमा सामेल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुषाललगायतका नेताहरुलाई भगवानपुर क्षेत्रका फरक फरक ठाउँमा बासको व्यवस्था मिलाइको उनले बताए ।
अध्यक्षसहितका नेताहरु शनिबार बिहान साढे ७ बजे सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी नवराजपुर गाउँपालिका १ भगवतीपुरस्थित रिंकु सदाको घर पुगेर आधा घण्टा पीडित परिवारसँग भलाकुसारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
त्यसपछि हुलाकी सडकमा पर्ने नगराजपुर चोक, बरियारपट्टी, दरहैया, औरही, गणेशपुर, कृष्णपुर चोकमा स्वागत तथा भेटघाटपछि प्रचण्डसहितका नेताहरु दिउँसो जिल्ला सदरमुकाम सिरहामा बरिष्ठ तथा पुराना वामपन्थी नेताहरु, सहिद, बेपत्ता परिवारसँग सम्मान कार्यक्रमपछि क्याम्पस प्राङ्गणमा हुने जनसभामा सहभागी भई शनिबार अपरान्ह धनुषा प्रस्थान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सिरहाले जनाएको छ ।
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रम जनस्तरसम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीय स्तरसम्म बिस्तार गर्ने, जनताबाट सुझावहरु संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध बिस्तार गर्ने लगायतका उद्देश्यसहित हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान थालेको हो ।