
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाली सेनाले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । मध्यपृता हेडक्वार्टर हेटौँडाले महाशिवरात्री तथा २६२ औं सेना दिवशको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेपाली सेनाले देशको सिमा सुरक्षासँगै देशभित्र भइपरि आउने विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताए ।
‘गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रमाथी भइपरी आएका सबैखाले विपत्तिमा जनताहरुको जनधनको सुरक्षा र सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपाली सेनाले जनतालाई केन्द्रबिन्दुमा राखेर गरेका सम्पूर्ण कामहरु प्रशंसनीय छन्।’ प्रदेश प्रमुख देवकोटाले देशका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागी नेपाली सेना निरन्तर लागि परेको बताए ।
सेना दिवसको अवसरमा प्रदेश स्तरमा आयोजना गरिएको कार्यक्रमले बागमती प्रदेशमा रहेका जनतालाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्रदान गरी नेपाली सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि भएको उनको भनाई थियो ।अनेकता विचको एकताको प्रतिकको रुपमा नेपाली सेनाले पाइरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको उनले दाबी गरे ।
मध्य पृतना हेडक्वार्टरले सेना दिवसको अवसरमा ‘हिँड्नु र दौडनु, आफ्नो उत्कृष्टताका लागि’ भन्ने मूल नारासहित हेटौँडाका विभिन्न विद्यालयका विद्यार्थी, नेपाली सेना र सर्वसाधरणको सहभागीतामा वाकाथन र एडभेन्चर रेस च्यालेन्ज प्रतियोगिताको आयोजना गरेको हो।कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनाका पृतनापती हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवं, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख एवंं प्रतिनिधिहरुको उपस्थितिर रहेको थियो ।