मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार o६:२७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

म्याग्दीका सहकारीको रकम हिनामिनामा एमाले नेताहरूको संलग्नता : जिसस प्रमुख थापाको नेतृत्वमा कुमारी सहकारीको एक अर्ब १३ करोड अपचलन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o६:२७:oo

बचतकर्ताको रकम हिनामिनामा संलग्न जिसस प्रमुख राजकुमार थापासहित २५ विरुद्ध मुद्दा दायर

म्याग्दीका एमाले नेता तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाकै नेतृत्वमा कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब १३ करोड अपचलन भएको छ । उनीसहित हिनामिनामा संलग्न २५ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा दायर गरेको छ ।

जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले हाललाई सहकारी ठगीमा मात्र मुद्दा दायर भएको र थप अनुसन्धान भइरहेकाले कैफियत भेटिएमा अन्य कसुरमा पूरक मुद्दा लैजान सकिने बताए । ‘प्रहरीबाट जुन कसुरमा मुद्दा चलाउन राय आएको छ, त्यसैमा मुद्दा चलेको छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेकाले कैफियत भेटिएमा अन्य कसुरमा पूरक मुद्दा लैजान सकिन्छ ।’ सरकारी वकिलको कार्यालयले बिहीबार नै मुद्दा दायर गरे पनि शुक्रबार मध्यरातिसम्म अभियोजनपत्र वेबसाइटमा राखिएको छैन । शुक्रबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अभियोजनपत्र उपलब्ध गराउन सकिने उनले बताए । 

जिल्ला प्रहरी कार्यालय म्याग्दी स्रोतका अनुसार गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले कुमारी सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रतिवेदन बुझाएको थियो । म्याग्दी प्रहरीले पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले राय मागेको थियो । तर, जिल्ला न्यायाधिवक्ता उपाध्यायले ‘आवश्यक परे पूरक मुद्दा अगाडि बढाउन सकिन्छ’ भन्दै सहकारी ठगीमा मात्र अनुसन्धान प्रतिवेदन ल्याउन भनेका थिए । 

सोहीअनुसार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यसपछि थापासहित २५ जनालाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएन । कुमारी सहकारीमा बयान लिने, प्रहरीको राय प्रतिवेदन अध्ययन र अदालतमा दायर भएको अभियोजनपत्रको अन्तिम रूप दिएका उपाध्यायले प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । 

सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिका पदाधिकारीसमेत रहेका थापा र उनको समूहले सहकारीको १६ करोड बुद्ध एकेडेमीमा र २८ करोड रुपैयाँ पर्वतको जलजला र कास्कीमा घरजग्गा व्यवसायमा लगानी गरेको गण्डकी सहकारी रजिस्ट्रार कार्यालय पोखराको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कुनै कसुर गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ आकर्षित हुन्छ भने संगठित रूपमै ठगी गरेमा संगठित अपराधमा मुद्दा चलाउने गरिएको छ । म्याग्दीमा सत्तारूढ दलका नेतासहितको मुद्दा कमजोर बनाउन प्रहरी र सरकारी वकिल कार्यालयले सहकारी ठगीमा मात्र मुद्दा अगाडि बढाएका छन् । 

अधिकृतसमेत रहेका म्याग्दी प्रहरीका प्रहरी निरीक्षक सागर पौडेलले कुमार सहकारीको बचत हिनामिनाको थप अनुसन्धानको बाटो खुलै रहेको बताए । ‘केही कागजपत्र अझै पनि आएका छैनन्, अनुसन्धान सकिएको छैन, अनुसन्धान गर्दै जाँदा थप कसुर पनि आकर्षित हुने देखिए त्यहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने । 

मुद्दामा आइतबार पेसी छ । आइतबारदेखि बयान लिइने म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले बताए । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी तारेखमा छाड्ने वा हिरासतमा पठाउने भन्ने आदेश न्यायाधीशबाट आउनेछ ।

कोसँग कति बिगो मागदाबी ? 
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासँग १७ करोड ५८ लाख ६३ हजार बिगो मागदाबी गरिएको छ । त्यस्तै, सहकारीका पूर्वप्रबन्धक रुद्र गुरुङसँग १३ करोड ५९ लाख, पूर्वअध्यक्ष मनप्रसाद थकालीसँग पाँच करोड ८२ लाख, सहकारीका सचिव, पूर्वसहसचिव र लेखा समिति सदस्य देवीकुमारी थापासँग तीन करोड ७१ लाख बिगो मागदाबी गरिएको छ । पूर्वकोषाध्यक्ष र ऋण समिति सदस्य थमबहादुर गर्बुजाबाट चार करोड ५५ लाख, लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश)सँग दुई करोड १० लाख ४६ हजार बिगो माग गरिएको छ । 

मुद्दा चलाइएका २५ प्रतिवादीमध्ये सातजना पक्राउ परे पनि अहिले राजकुमार थापासहित ६ जना मात्र प्रहरी हिरासतमा छन् । एकजना अस्पतालमा छन् । फरार १८ जनाको नाम र बिगो सार्वजनिक गरिएको छैन ।

एमालेका पूर्वजिल्ला उपसचिवसमेत रहेका थापाको समूहले यसरी गरेको थियो सहकारीको रकम हिनामिना

कुमारी सहकारीको प्रहरी अनुसन्धान प्रतिवेदन र अभियोजनपत्र सार्वजनिक गरिएको छैन । तर, गण्डकी सहकारी रजिस्ट्रारको कार्यालयले गत माघमा प्रहरीलाई बुझाएको छानबिन प्रतिवेदनअनुसार जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा मुख्य योजनाकार हुन् । ०७९ मा जिल्ला समन्वय समिति प्रमुख हुनुअघि उनी सहकारीको एक कार्यकाल उपाध्यक्ष र त्यसअघि दुई कार्यकाल सचिव थिए । उनले नियमविपरीत विनाधितो सहकारीबाट बेनीमा रहेको आफ्नै बुद्ध एकेडेमीमा १६ करोड ऋण लगेका थिए । त्यस्तै, थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड लगेर जलजलामा घरजग्गा किनेका थिए । उनीहरू दुवैसहित गेमबहादुर घर्ती र मनप्रसाद छलाजीको नाममा १० करोडमा जग्गा किनेर प्लटिङ गरिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा सहकारीको ३३ करोड सेयर र ५५ करोड बचतसँगै अन्य सम्पत्ति, दायित्व, ऋणको ब्याज, लागत कोषलगायतमा गरी एक अर्ब ४९ करोडको हिसाब हिनामिना देखिएको पाइएको थियो ।

सहकारीका सञ्चालक र सदस्यहरूले सहकारीको रकम ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउने, व्यक्तिगत प्रयोजनमा लगानी गरेको, सहकारीलाई नियन्त्रणमा लिई सम्पूर्ण सिस्टमको तालाचाबी राखेको, गलत लेखापरीक्षण गराएर झुटो प्रतिवेदन तयार गरेको, सहकारीको पुँजीकोषको १० प्रतिशतभन्दा धेरै कर्जा प्रवाह गरेको पाइएको छ । सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार तीन महिनाभित्र हिसाबकिताब मिलाउन निर्देशन दिइए पनि अटेर गरेपछि छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरिएको थियो । ‘बचत रकम र कोष हिनामिना भएको फेला परेपछि हिसाब मिलाउन भनेका थियौँ, तर मिलाइएन । त्यसपछि थप अनुसन्धान गरी कारबाहीका लागि २० माघमा प्रहरीलाई पत्राचार गरेका थियौँ,’ रिजालले भने । म्याग्दी प्रहरीले २१ माघमा सार्वजनिक सूचना जारी गर्दै १७ दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । ६३६ जनाले दिएको उजुरी, सहकारी रजिस्ट्रारको कार्यालयको प्रतिवेदन, प्रहरीले गरेको अनुसन्धान, पक्राउ परेकाले दिएको बयान, कागजातका आधारमा एक अर्ब १३ करोड हिनामिना भएको पाइएको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

एमाले सचिवालय सदस्य शाक्यले अवैध रूपमा परिवारको नाममा लगे कस्तुरी सहकारीको ४८ करोड, बेनीका मेयर सुरत केसीले लुकाए प्रतिवेदन
म्याग्दी एमालेका सचिवालय सदस्य राजेश शाक्य र उनको परिवारका नाममा कस्तुरी बहुउद्देश्यीय सहकारीको ४७ करोड ९९ लाख २९ हजार ऋण अवैध रूपमा प्रवाह भएको पाइएको छ । शाक्य कस्तुरी सहकारीका अध्यक्ष हुन् । नगरपालिकाको छानबिन प्रतिवेदनअनुसार चार हजारको बचत रकम रहेको सहकारीमा ५२ करोड ३२ लाख ऋण अवैध रूपमा लगानी भएको छ । यससम्बन्धी बेनी नगरपालिकाको छानबिन गत चैतमै सकिए पनि प्रतिवेदन गोप्य राखिएको छ । मेयर सुरत केसी पनि एमालेबाट निर्वाचित हुन् । 

प्रतिवेदनअनुसार अध्यक्ष शाक्यको नाममा ३३ करोड ६७ लाख, उनकी पत्नी रेश्माको नाममा नौ लाख, दिदीद्वय सुलोचनाकुमारी शाक्यको नाममा चार करोड ७९ लाख र आसमाया शाक्यको नाममा एक करोड ८३ लाख ऋण प्रवाह भएको छ । त्यस्तै, शाक्यका दाजु डम्बरबहादुर शाक्यको नाममा चार करोड ५९ लाख र भतिज सिद्धार्थ शाक्यको नाममा तीन करोड ऋण गएको छ । मेयर केसीले भने कसैलाई थुन्नभन्दा पनि बचतकर्ताको रकम कसरी फिर्ता गर्न सकिन्छ भनेर हल गर्नमा लागेको प्रतिक्रिया दिए । ‘हामीले गत वर्षको चैतमा नगरपालिकाभित्रका ४६ सहकारीको अध्ययन गरेका थियौँ । समस्या देखिएकामा समस्या समाधान गर्न र बचतकर्ताको रकम फिर्ता गराउने गरी लागेका छौँ,’ उनले भने, ‘कसैलाई जोगाउनका लागि होइन ।’ नगरपालिकाले २० फागुनमा सहकारीको साधारणसभा गरेर समस्या सुल्झाउन समय दिएको छ ।