मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार o९:३o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o९:३o:oo

 झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृंखलाका अवसरमा बकैया कला साहित्य महोत्सव सुरु भएको छ । महोत्सव शुक्रबारबाट बकैया गाउँपालिकाको वडा नम्बर ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा सुरु भएको हो ।

महोत्सवअन्तर्गत शुक्रबार बकैया गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएको झरनाका सचिव मसान उपासकले जानकारी दिए ।

दुई दिनसम्म चल्ने महोत्सव अन्तर्गत शनिवार स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तक्र्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका कार्यक्रमहरु हुने उनले बताए । 

शुक्रबार भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले झरना साहित्यिक परिवारले प्रत्येक वर्ष गर्ने साहित्यीक महोत्सवले झरनालाई मात्रै नभई समग्र गाउँपालिकालाई नै नेपालभर चिनाउन मद्दत गरेको बताए । उनले कला साहित्य र संस्कृतिलाई जोगाई राख्न झरनाले गरेको पहलकदमीलाई गाउँपालिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

झरनाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्राध्यापक डा. कपिल लामिछाने, बकैया ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्बा, ६ नम्बर वडा अध्यक्ष फुलमान भोम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

झरनाले २०७६ सालबाट सुरु गरेको महोत्सवको यो छैठौँ श्रृङ्खला हो । झरना साहित्यिक परिवार मकवानपुरले अहिलेसम्म पाँचवटा बकैया कला साहित्य महोत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ  झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि बिध्यालयहरूमा काव्य प्रशिक्षण, एक सयभन्दाबढि मूर्धन्य साहित्यकारहरूलाई सम्मानित गरिसकेको सचिव मसान उपासकले जानकारी दिए ।