
झापाको सीमावर्ती क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रबाट ३०१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–१२ का २४ वर्षीय सुदीप विक र सुनसरी रामधुनी नगरपालिका–३ का २७ वर्षीय हिरालला बिक रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शुक्रबार साँझ भद्रपुर–३ झोलुङ्गेपुलस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत बिओपी महेशपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले प्रक्राउ गरेको हो ।
उनीहरू सवार क्रममा बा ९०प १६७५ नम्बरको स्कुटरको ब्याट्री रहने बक्सभित्र लागूऔषध ब्राउन सुगर फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । स्कुटरभित्र ४ वटा पोका उक्त परिणामको लागुऔषध फेला पारिएको हो । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।