मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार o९:१२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o९:१२:oo
  • ७० अर्ब ४४ करोड आम्दानी र ५९ अर्ब आठ करोड खर्च भएको विवरण सार्वजनिक, आठ वर्षदेखि निरन्तर नाफा आर्जन गरिरहेको प्राधिकरण सबैभन्दा धेरै नाफा गर्नेमा अग्रस्थानमध्येको संस्थान

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा (करकट्टीअघि) कमाएको छ । यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । 

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुअघि आव ०७२/७३ मा आठ अर्ब ८९ करोड घाटामा थियो । तर, कुलमानले नेतृत्व लिएयता प्राधिकरणले निरन्तर नाफा आर्जन गरिरहेको छ । आव ०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ । प्राधिकरणले चालू आवको ६ महिनामा विद्युत् बिक्रीबाट मात्रै ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सहायक तथा सम्बद्ध कम्पनीहरूबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । 

हिउँदमा उत्पादनमा भएको गिरावटले माग धान्न नसक्दा भारतबाट आयात थालिएको छ । ६ महिना अवधिमा भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गर्दा एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।

यो वर्ष १६ अर्ब ७० करोडको बिजुली निर्यात
विद्युत् प्राधिकरणले यो वर्ष जेठदेखि मंसिरसम्म भारत र बंगलादेशमा १६ अर्ब ७० करोड आठ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । बंगलादेशमा एक दिन ३८ लाख रुपैयाँबराबरको ४० मेगावाट बिजुली निर्यात भएको थियो भने भारतमा १६ अर्ब ६९ करोड ६५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

बंगलादेशसँग १ असारदेखि ३० कात्तिकसम्म दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी सम्झौता भएको छ । त्यसैले यो वर्ष सबै तयारी गर्दा ३० कात्तिकमा मात्रै एक दिन बिजुली निर्यात गर्न सकिएको प्राधिकरणले जनाएको छ । यो वर्ष ३० अर्ब हाराहारीको बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य थियो । तर, १२ असोजमा आएको बाढीपहिरोले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीमा क्षति भएकाले लक्ष्यअनुसार निर्यात हुन नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेठ र असारमा तीन अर्ब ६४ करोड ५१ लाखको विद्युत् निर्यात भएको थियो । त्यसैगरी, साउनमा चार अर्ब १४ करोड ५० लाख, भदौमा तीन अर्ब ६७ करोड ८४ लाख, असोजमा तीन अर्ब ६ करोड ५१ लाख, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा २८ करोड १४ लाखको विद्युत् निर्यात भएको थियो ।

अधिकांश जलविद्युत्गृह नदी प्रवाहमा आधारित भएकाले बर्खामा धेरै उत्पादन भएको बिजुली भारततर्फ निर्यात हुने गरेको छ । हिउँदमा भने मागअनुसार उत्पादन नहुँदा भारतबाटै आयात हुने गरेको छ । गत वर्षको बर्खामा भने १५ अर्ब २४ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै पहलमा तीन वर्षयता निरन्तर बिजुली निर्यात भइरहेको छ ।