मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १७ शनिबार o७:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कानुन निर्माणलाई तीव्रता  दिनेबारे कांग्रेसमा छलफल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o७:५४:oo

सत्तारूढ दल कांग्रेसले महत्वपूर्ण कानुन निर्माणमा ध्यान केन्द्रित गर्ने गरी छलफल थालेको छ । अहिले कानुन निर्माणमा सुस्तता रहेको निष्कर्षसहित यसलाई चिरेर कानुन बनाउन आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ ।

शुक्रबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कानुन निर्माणमा सरकार र पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । प्रमुख सचेतक श्याम घिमिरेले सुस्तता चिरेर कानुन निर्माणमा केन्द्रित हुने विषयमा छलफल भएको बताए । ‘कुनै निर्णय भएको छैन, तर कानुन निर्माण बढाउने विषयमा छलफल भयो,’ उनले भने ।

अर्जुननरसिंह केसीले कानुन निर्माणमा सरकार र पार्टीको भूमिकाका विषयमा बैठक केन्द्रित भएको बताए । विधेयकका व्यवस्थाका विषयमा भने बैठकमा छलफल नभएको उनको भनाइ छ । कांग्रेसले पाथीभरामा केबलकारको विषयमा भएको विवाद रोक्न सरकारलाई कदम चाल्न आग्रहसमेत गरेको छ । ‘सरकारले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ,’ केसीले भने, ‘निष्कर्षमा नपुगुन्जेलका लागि केबलकार निर्माण स्थगन गर्नुपर्छ ।’ 

कुलमानको विषयमा छलफल नै भएन
कांग्रेस पदाधिकारी बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा छलफल नभएको नेताहरूले बताएका छन् । कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्का कुलमान हटाउन अथक कोसिस गरिरहेका छन् । तर, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा गृहमन्त्री रमेश लेखकले यस्तो कदमले पार्टीलाई नै अहित गर्ने सुझाव दिएका छन् । 

यसैबिच शुक्रबार बसेको बैठकमा घिसिङको विषयमा छलफल नभएको नेता केसीले बताए । ‘कुलमानजीको विषयमा बैठकमा कुनै विषय उठेन,’ उनले भने । बैठकमा महामन्त्रीद्वय भने सहभागी भएका थिएनन् । शुक्रबार शर्मा गृहजिल्ला झापा र थापा पोखरामा थिए । 

कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर (कान्छाराम) तामाङले पनि कुलमानलाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने माग गर्दै आएका छन् । ऊर्जामन्त्री खड्काले कुलमानलाई ‘पदबाट किन नहटाउने’ भन्दै मंगलबार पाँचौँपटक स्पष्टीकरण सोधेका थिए । कुलमानले बिहीबार त्यसको जवाफ पठाइसकेका छन् ।