मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार १o:२५:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महँगो जीवनशैलीमा रमाउने रोनाल्डो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १o:२५:oo
  • साउदी अरेबियामा फुटबल खेल्ने विश्वचर्चित खेलाडीले असामान्य पारिश्रमिक मात्र पाइरहेका छैनन्, बसुन्जेल बिलासी जीवन बिताइरहेका पनि छन् । रोनाल्डोकै प्रभावले युरोपमा नाम चलेका खेलाडी पनि साउदी प्रो लिगमै आबद्ध भइरहेका छन् ।

पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो जोखिम लिन मन पराउँछन् । मैदानभित्र र बाहिरी जीवनमा समेत रोनाल्डोको लाइफ स्टाइल अलि भिन्नै छ । उनी वर्तमान समयका एक सफल फुटबलरसँगै व्यापारीसमेत हुन् । दुई दशक लामो करिअरमा उनले प्रयोग धेरै गरे र कहिल्यै हरेस खाएनन् । जे हुन्छ, राम्रोकै लागि हुन्छ भन्दै उनी निरन्तर रूपमा अगाडि बढिरहेका छन् । आजको समयमा रोनाल्डो विश्वकै धनी फुटबलर हुन् । उनको उमेर ४० वर्ष कटिसकेको छ । 

तर, उनीभित्रकोे जोस १८ वर्षका युवाको भन्दा कम छैन । मैदानमा युवासँगै एकैपटक कुदाउने हो भने रोनाल्डो अगाडि नै पर्न सक्छन् । यो सबै उनको ‘डेडिकेसन’ हो । नभए सन्न्यासको बाटोमा हिँड्नुपर्ने खेलाडी यो समय पनि मैदानमा सक्रिय छन् । रोनाल्डोका समकक्षी (लियोनल मेसी)बाहेक अरू सबैले फुटबल ‘बुट’ आआफ्नो दराजभित्र थन्क्याइसकेका छन् । तर, रोनाल्डोको अझै विपक्षी पोस्टमा बाइसाइकल तथा डाइरेक्ट फ्रिकिक गोल गर्ने भोग मेटिएको छैन । साउदी अरेबियन क्लब अल नासरले उनलाई यस वर्ष पनि विश्वकीर्तिमानी रकम १७६.९ मिलियन पाउन्डमा सम्झौता नवीकरण गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार युरोपियन फुटबलका चर्चित खेलाडीको पारिश्रमिक रोनाल्डोको आसपास छैन । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई चटक्क छाडेर अल नासर आउने निर्णय गर्दा उनले १६४ मिलियन पाउन्ड पाएका थिए । 

यतिले नपुगेर रोनाल्डोलाई फकाउन क्लबले प्रत्येक वर्ष थप पारिश्रमिकका रूपमा ४९ मिलियन पाउन्ड दिइरहेको छ । नयाँ तथ्यांकअनुसार अल नासरबाट रोनाल्डो प्रतिमिनेट तीन सय पाउन्ड पारिश्रमिक पाउँछन् । 

रोनाल्डोको आगमनले साउदी अरेबियामा फुटबलको क्रेज यसरी बढ्यो, जुन त्यहाँका जनताले मात्र नभएर विश्वभरिका फुटबल समर्थकले समेत साउदी प्रो लिगलाई पछ्याउन थालेका छन् । साउदीमा फुटबल खेल्ने मात्र होइन, अन्य विश्वचर्चित खेलाडीले असामान्य पारिश्रमिक पाइरहेका छन् । रोनाल्डोकै प्रभावले युरोपमा नाम चलेका खेलाडी पनि साउदी लिगमै आबद्ध छन् । एउटा यस्तो समय पनि थियो, विश्वचर्चित खेलाडी खोज्न युरोपियन क्लब चहार्नुपर्छ । 

अहिले तिनै स्टार फुटबलर युरोपमा भन्दा साउदी प्रो लिगमा देखिन थालेका छन् । यसमा रोनाल्डोकै योगदान धेरै रहेको मान्छन् । रोनाल्डोको नाम बिकाएर आफूहरूको साउदी प्रो लिग विश्वकै चर्चित बनाउने योजनामा अल नासरका मालिकहरूको योजना रहेको छ । उनीहरूले रोनाल्डोलाई खुसी पार्न पाँच सय मिलियनबराबरको सेयर दिने तयारीमा छन् । अब एकपटक साउदी अरेबिया र रोनल्डोबिचको सम्बन्ध छाड्यौँ । वार्षिक करोडौँ मिलियन डलर आर्जन गर्ने रोनाल्डोले कसरी खर्च गर्छन् ? उनको प्रतिमिनेट आम्दानी कति छ ? मैदानबाहिर उनको निजी जीवन कस्तो छ ? 

होटेल र बंगलामा लगानी
स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएपछि रोनाल्डोको करिअरसँगै आर्थिक हैसियतसमेत अकासियो । रियलले उनलाई विश्वकै धनी फुटबलर बनाउन कुनै कसर बाँकी राखेन । एक विश्लेषणअनुसार रोनाल्डो निकै छोटो समयमा मालामाल हुनुपछाडि रियलसँगको सम्झौता थियो । यो १५ वर्षभित्र उनले रियल, युभेन्ट्स, म्यानचेस्टर युनाइटेड र अल नासरबाट खेले । त्यहाँबाट प्रत्येक महिना मिलियन अमेरिकन डलर कमाए । एक कुशल खेलाडी नभएर रोनाल्डो राम्रा ‘बिजेसम्यान’ पनि हुन् । उनी जहाँ–जहाँ व्यावसायिक फुटबल खेल्न जान्छन्, त्यहाँ–त्यहाँ आफ्नो सिआर ७ ब्रान्ड प्रचारप्रसार गर्छन् । रियल म्याड्रिडमा उनले होटेलदेखि रेस्टुरेन्ट खोलेका छन् । साउदी अरेबियाको रियादमा उनी प्रतिमहिना दुई लाख ५० हजार पाउन्ड भाडा पर्ने एक अपार्टमेन्टमा बस्छन् । यो अपार्टमेन्ट अल मुहमादियाहकै सबैभन्दा महँगोमा पर्छ । 

सन् २०२१ मा रोनाल्डोले पोर्चुगलमा ‘क्वान्टिना डा मारिन्हा’ नामको प्रोजेक्ट लन्च गरेका थिए । दुई वर्ष उनले त्यो होटेल सञ्चालनमा ल्याए । गत वर्ष उनले एक हजार स्क्वायर फिटको स्विमिङ पुलसहितको एक बंगला नै किनेका थिए । गृह सहर लिस्बनको आइसल्यान्डमा उनले सात मिलियन पाउन्डबराबरको आलिसान भवन बनाएका छन् । सात तलाको यो भवनको भित्री संरचनामा रोनाल्डोले लाखौँ अमेरिकन डलर खर्चेको एजेन्सीले जनाएका छन् । 

रोनाल्डोको यस आइसल्यान्डमा सानो इन्डोर फुटबल मैदानसँगै दुई स्विमिङ पुल छन् । यस आइसल्यान्डमा कसैले सुटिङ गर्न चाहे रोनाल्डोको सिआर ७ कम्पनीलाई आठ हजार आठ सय पाउन्ड प्रतिघण्टा भाडा तिर्नुपर्छ । स्पेनको रियलनजिक उनले १.४ मिलियन पाउन्ड खर्चेर सानो भिल्ला किनेका छन्, जहाँ गल्फ कोर्ससमेत रहेको छ । 

महँगा घडीका सौखिन
हाइफाई जीवन बिताउन रुचाउने रोनाल्डो यति सौखिन छन् कि उनलाई सामान्य ड्रेसअप र सामान्य घडी लगाउन मन लाग्दैन । त्यसैले उनले लगाउने घडी एक मिलियन पाउन्डभन्दा कमको छैन । रोनाल्डोले एकपटक भनेका थिए, ‘मलाई विश्वकै महँगो घडी लगाउन र संकलन गर्न मन लाग्छ ।’ हो पनि, अहिले रोनाल्डोले कलेक्सन गरेका घडी र त्यसको मूल्य सुन्यौँ भने चकित हुनुपर्छ । हालै मात्र उनले लगाएको ‘गजेट डाइमन्ड इम्पेरियल’ घडीको मूल्य १.१३ मिलियन पाउन्ड रहेको छ । यो घडीको विशेषता नै सुनको सुई र सयौँ डाइमन्ड जडान हो । घडीमा जडित एउटा डाइमन्डको मूल्य १८ हजार आठ सय पाउन्ड पर्छ । उनको अर्को एउटा सिआर ७ लेखिएको घडीको मूल्य २.८ मिलियन पाउन्ड पर्छ । उनले रोलेक्स कम्पनीलाई विशेष अर्डरमा यो घडी बनाउन लगाएका थिए । आफ्नो संकलनमा उनले ६ लाख १८ हजार पाउन्डको ज्याकोब र ६ लाख ६५ हजार पाउन्डको ब्रगेट घडी राखेका छन् । 

दुबईको अल जुमेरिहामा नयाँ घर
चन्द्रमाबाटै देखिने दुबईको अल जुमेरिहाको मानव निर्मित आइसल्यान्डमा रोनाल्डोले आलिसान घर किनेको बताइएको छ । बेलायती मिडियाका अनुसार सम्भवतः रोनाल्डोले किनेको घर महँगोमध्येकै एक हो । यसको क्षेत्रफल ३० हजार स्क्वायर मिटर रहेको छ । यस भिल्लामा ६ बेडरुम, निजी विमान पार्किङस्थल, सात गाडी राख्न सकिने ग्यारेज र एउटा ठुलो स्विमिङ पुलसमेत छ । यसको मूल्य खुलाएकोे छैन । साउदी अरेबियाका खर्बपतिले खर्चेको रकमबराबरै उनले आफ्नो जुमेरिहाको भिल्ला किनेका हुन् । उनले यो भिल्ला किन्न म्यानचेस्टर युनाइटेडमा रहेको घर (५.५ मिलियन पाउन्ड) र अर्को सात बेडरुमसहितको घर (४.९ मिलियन पाउन्ड) बेचेका थिए ।

महँगा कार संकलनकर्ता
अक्सर धेरैलाई थाहा भएकै कुरा हो । रोनाल्डोलाई बजारमा महँगो र चिटिक्क परेको कार देख्नै हुँदैन । त्यो कार उनको ग्यारेजमा पुग्छ । गत जनवरी मात्र मात्र फेरारीले लन्च गरेको कालो रङको कारलाई रोनाल्डोले १.८ मिलियन पाउन्ड खर्चेर किने । यो एउटा उदाहरण मात्र हो । अहिलेसम्म रोनाल्डोले संकलन गरेका कार हेर्‍यौँ भने त्यो अन्य खेलाडीले किन्न पनि सक्दैनन् । उनले अहिलेसम्म किनेकामध्ये महँगो कार बुगाटी हो । बुगाटी कम्पनीले विशेष किसिमका १० वटा मात्र कार बजारमा ल्याएको थियो । त्यसमध्ये रोनाल्डोले ८.५ करोड पाउन्ड खर्चेर एक कार भिœयाए । यो कारको स्पिड प्रतिघण्टा २३६ एपिएएच रहेको छ । यसैगरी, चिरोन तथा भेरोनजस्ता महँगा कार उनको निजी संकलनमा छन् । उनले मर्सेडिजको जी बागोन ६ लाख पाउन्ड र बुगाटी मेरोन १.५ मिलियन पाउन्डमा किनेका थिए । म्याकरालेनलाई उनले दुई लाख ७० हजार पाउन्ड खर्चेका छन् । सन् २०२१ मा उनले फेरारीको मोन्जा १.४ मिलियन पाउन्डमा किनेका थिए । 

निजी विमानमै यात्रा
रोनाल्डो संसारको जुनै कुनामा जानुपरे पनि आफ्नै निजी जेटविमान प्रयोग गर्छन् । सन् २०२२ मा म्यानचेस्टरबाट दुबई आउँदा रातारात निजी विमानबाटै आएका थिए । हालै मात्र उनले जेट किनेका छन् । बाम्बोडिएर नामको जेटविमानको मूल्य ६१ मिलियन पाउन्ड बताइएको छ । रोचक पक्ष के छ भने कुनै नयाँ जेट किन्न उनी आफ्ना पुराना जेट बिक्री गर्छन् । जस्तो गल्फस्टेम जी २०० र ग्लोबर एक्सप्रेस ६५०० जेटलाई उनले १.६ मिलियनमा बेचे । हालैको बाम्बोडिएर जेटमा १५ जना यात्रु सवार गर्न सक्छन् । जेटभित्रको सुविधासम्पन्न डिजाइन बनाइएको छ । यसैगरी, रोनाल्डो समुद्री यात्रामा जाँदा आफ्नै ‘याच’ प्रयोग गर्छन् । फुटबल खेलाडीमध्ये उनीसँग महँगा याच छन् ।

(एजेन्सीको सहयोगमा)