
सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटालाई २–१ ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले प्रतियोगितामा पहिलोपटक फाइनलमा स्थान बनाएको हो।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीको जितमा राष्ट्रिय टोलीका सदस्यहरू नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एक गोल गरे। नवयुगले खेलको साताैँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। कप्तान जिलेस्पीजंग कार्कीले मिलाएको पासमा नवयुगले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन्।
१९ फागुनमा हुने फाइनलमा आर्मीले केपी एफसी र दुईपटकको च्याम्पियन मच्छिन्द्र एफसीबिचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल शनिबार हुनेछ।
खेलको ६६औँ मिनेटमा दिनेशले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। जिलेस्पीलाई संकटाका अभिषेक लामाले पेनाल्टी बक्सभित्र लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए।
खेलको इन्जुरी समयमा संकटाले एक गोल फर्कायो । वैकल्पिक खेलाडी भिषन गुरुङले सहज गोल गरे। बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन्।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा नाै टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्।
फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने प्रवक्ता निरोज पौडेलले जानकारी दिए।