
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बिहीबार भएको घटना शंकास्पद देखिएको छ। चोर भनी प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन्।
इन्द्रसरोवर गाउँपालिका– ३ अदुवाबारीमा बिहीबार राति मीनबहादुर र उनकी श्रीमती देवीमाया भ्लोनले चोर भनी घरेलु औजारले हिर्काउँदा गम्भीर घाइते भएका ३९ वर्षीय भरथकुमार भ्लोनको मृत्यु भएको हो। घाइते भएका भरथकुमारको उपचारको क्रममा भरतपुरस्तिथ अस्पतालमा शुक्रबार दिउँसो पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै आक्रमणमा परेर गम्भीर घाइते भएका व्यक्तिलाई हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको थियो। चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो छरेको र देवीमायाले घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका पुरुष गम्भीर घाइते भएका प्रहरीले जनाएको थियो।
उपचारको क्रममा मृत्यु भएका व्यक्ति मीनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। ‘चोरी गर्न आएको भनी मीनबहादुर र देवीमायाको आक्रमणबाट घाइते भएका व्यक्तिको सुरुमा परिचय खुलेको थिएन। उनको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेको थियो। हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाएका थियौँ। उपचारको क्रममा उनको मृत्यु भएको हो,’ डिएसपी अर्यालले भने, ‘पछि मीनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको हो।’
प्रहरी प्रवक्ता अर्यालले घटनामा भ्लोनदम्पती पनि घाइते भएकाे बताए। उनका अनुसार मीनबहादुरको बायाँ हातको औँला र करङको हड्डी तथा देवीमायाको करङको हड्डी भाँचिएको छ। उनीहरूलाई उपचारका लागि परिवारले काठमाडौं लगेको छ। घटनाको जानकारी पाएलगत्तै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले तीनैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल ल्याएको प्रवक्ता अर्यालको भनाइ छ।
प्रवक्ता अर्यालले सुरुमा आज्ञात भनिएका व्यक्ति भ्लोनदम्पतीको जेठो छोरो रहेको पुष्टि भएको र घटना शंकास्पद भएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताए। ‘घरमा वृद्धदम्पती मात्रै बस्दै आएको स्थानीयले बताएका छन्। भरथकुमार आफ्नै घरमा चोरी गर्न आएको देखिन्छ। वृद्ध दम्पतीको आँखामा खुर्सानीको धुलो दलेर चोर्ने प्रयास गरेपछि प्रतिकार भएको भन्ने जानकारीमा आएकाले घटना शंकास्पद छ,’ डिएसपी अर्यालले भने।
मृतक भरथकुमार काठमाडौं बस्दै आएको र चार वर्षदेखि घर नआएको स्थानीयले जानकारी दिएका प्रहरी प्रवक्ता अर्यालले बताए।