
घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घरभित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ अदुवाबारीमा बिहीबार राति स्थानीय मीनबहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् ।
चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मीनबहादुर र उनकी श्रीमती देवीमाया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । तर, देवीमायाले नजिकै रहेको घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते भएकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको र उनको टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रेफर गरिएको छ ।
यस्तै, भ्लोनदम्पती पनि घाइते भएको प्रवक्ता अर्यालले जानकारी दिए । भ्लोनदम्पतीको अवस्था सामान्य रहेको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाएलगत्तै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरीले उनीलाई उद्धार गरी उपचारका लागि हेटौँडा ल्याएको प्रवक्ता अर्यालले बताए ।