
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने बिस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरे ।
अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गरे। सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।
‘हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायाे, तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए,’ अध्यक्ष प्रचण्डले भने, ‘विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एक ठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।‘’ उनले मधेशको मुद्दा उठाउन पार्टीले अभियान सुरु गरेको बताए ।