
बर्दियामा हुलाकी राजमार्गको ८९ प्रतिशत काम पूरा भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार बर्दियामा हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडकखण्डको ८९.२९ प्रतिशत काम सम्पन्न भएको हो।
०७९ मंसिरदेखि शर्मा एन्ड कम्पनीले निर्माणको जिम्मा पाएको २८ किलोमिटर लामो सो सडकमा भादा नदीदेखि गणेशपुरसम्मको करिब तीन किलोमिटर सडकको काम भइरहेको छ। बजार क्षेत्रमा नालीसहित चार लेन र अन्य क्षेत्रमा दुई लेनमा बनाइएको सडकमा बजार क्षेत्रमा पैदलयात्रुका लागि सडकपेटी निर्माण कार्य जारी छ।
०८२ मंसिरसम्म सडक निर्माण सम्पन्न गर्ने गरी दुई अर्ब ७५ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएको कम्पनीले अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए।
यता गुलरियास्थित जिल्ला प्रहरी कार्यालयदेखि भादा पुलसम्म तथा खजुराको धनौली चौकीदेखि १ नम्बर चोकसम्मको चार किलोमिटर सडक गुणस्तरहीन निर्माण भएको भन्दै तीव्र विरोध भएको थियो। ठेक्का पाएको गजुरीमुखी निर्माण सेवाले सडक निर्माणको काम अलपत्र छाडेको छ।