
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिचौलियाको नियोजित चालका कारण मन्त्रीको स्वकीय सचिवको मृत्यु भएको दाबी गरेको छ। शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सहकारीको गिरोह र बिचौलियाहरूका कुत्सित स्वार्थले घटना भएको दाबी गरेको हो।
मन्त्रालयका प्रवक्ता कुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु सहकारीको गिरोह र बिचौलियाको अपेक्षाअनुसार मन्त्रालय र कर्मचारीहरूलाई प्रभावित पार्न नसकेपछि भएको अडियो सार्वजनिकीकरणको परिणाम भएको दाबी गरिएको छ।
मन्त्रालयले उक्त घटनामा संलग्नहरूको कुत्सित स्वार्थको भर्त्सनासमेत गरेको छ। ‘सुमेरु सहकारीका उपर भएको कारबाहीको निर्णयलाई कमजोर बनाउन प्रकाशित समाचार तथा सार्वजनिक अडियोअनुसार सम्बन्धित पदाधिकारीहरूलाई आर्थिक प्रलोभन तथा प्रभावमा पार्न खोज्ने कार्य भएको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
स्वकीय सचिवको मृत्युको विषयमा थप अनुसन्धान र छानबिन भइरहेकाले संलग्नहरूउपर नियमानुसार कानुनी कारबाही हुने र आर्थिक लेनदेनको कार्यमा मन्त्रालयबाट अन्य कुनै पदाधिकारी तथा कर्मचारी संलग्न नरहेको स्पष्टीकरण पनि दिइएको छ।
प्रवक्ता तामाङले मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा १ को उपदफा (१)मा निहित अवस्थाहरू उक्त सहकारी संस्थामा विद्यमान रहेको देखिएको हुनाले सोही ऐनको उपदफा (२) बमोजिम सुमेरु बचत तथा ऋण सहकारी संस्था, ललितपुरलाई मन्त्रीस्तरीय निर्णयअनुसार समस्याग्रस्त घोषणा गरेको बताएका छन्। मन्त्रालयको कारबाहीउपर चित्त नबुझी सो सहकारी संस्थाका सञ्चालकहरूले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उनको भनाइ छ।
उक्त सहकारीबाट चारजना बचतकर्ताको उजुरी तथा गुनासोमार्फत दुई अर्ब २५ करोड १४ लाख रुपैयाँ मागदाबी रहेको प्रवक्ता तामाङले जानकारी दिएका छन्। बचतकर्ताको निक्षेप फिर्ता गर्ने सम्बन्धमा उक्त संस्थासँग पटकपटक पत्राचार, छलफल र ताकेता हुँदासमेत बचतकर्ताको निक्षेप फिर्तासम्बन्धी कार्ययोजना पेस हुन नसकेपछि बचतकर्ताको बचत रकमको सुरक्षा प्रत्याभूतिका लागि मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको प्रवक्ता तामाङले बताए।