राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिप्रति जनताको घृणा बढेको र अहिलेको व्यवस्था नै रहनेमा प्रश्न गरेका छन् । शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक पार्टी र राजनीति गर्ने मान्छेप्रति घृणा बढेकाले सच्चिनुपर्ने बताए ।
सम्बोधनका क्रममा उनले भने–
सरकारले अध्यादेशबाट शासन चलाउन कोसिस गरेका कारणले प्रतिपक्षीले एउटा सक्रियता देखाएको छ । सरकारलाई दबाब पर्याे, सरकारले सुन्यो । सुन्नुपर्छ । त्यसकारणले अब पाँचौँ अधिवेशनमा हामीले के गर्ने ? कसरी मुलुकलाई हामीले एउटा अप्ठ्यारोबाट उज्यालो स्थितितिर लाने ? अहिले मुलुकको स्थितिभन्दा सबैभन्दा घृणा छ राजनीतिक पार्टीप्रति, राजनीति गर्ने मान्छेप्रति । पहिले कस्तो आदर, सम्मान गर्थे । आज नेपाली जनताले के व्यवहार गर्छन्, ख्याल गरेका छौँ ? कारण हामी आफ्ना घोषित सिद्धान्तअनुसार चलेनौँ । मुलुकको यथार्थ तस्बिर के हो भने दिनको १५ सयदेखि दुई हजारको दरले नयाँ पिढी सब बाहिर गइरहेको छ । यही हो प्रगति ? विद्यालयमा नेपालमा केही हुन्न, जाने अमेरिका अस्ट्रेलिया हो भन्ने सिकाइएको छ, यही हो विकास ?
पुँजीवादीले नांगो आक्रमण गर्याे । यहाँ भएको उद्योग, कलकारखाना सबै सखाप पार्याैँ । हामीले नयाँ पिँढीलाई दिएको शिक्षा भनेको विदेश जाने, खाडी जाने, त्यहाँबाट आएको पैसाले देश चलाउने ? प्रधानमन्त्रीले विकासको कुरा गर्दा अचम्म लाग्यो । तपाईं पनि हुनुहुन्थ्यो त चारवटा अधिवेशनमा सरकारमा ? के गर्नुभयो ?
जनताले यति घृणा प्रकट गरेपछि रहन्छ यो व्यवस्था ? संविधान संशोधन गर्ने भनेको खै त ? संशोधन गर्नुपर्छ । नेपालमा सिंहदरबार चलाउन सक्ने खुबी नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । प्रदेश चलाउनुको औचित्य के हो ? प्रदेश मन्त्री बनाउन केन्द्रबाट आदेश पठाउने ? कति दिन यसरी चलाउने, खारेज गरौँ ।
अध्यादेशको पछाडि भूमिहीन किसानलाई हो ? यसपटक मात्रै हो सरकारमा गएको ? बहुदलपछि सरकारमा हुनुहुन्न ? कति भूमिहीन, सुकुम्बासीले पाए ? सबै जग्गा दलालहरूले फाँटका फाँट बेचेको, करोडपति भएको होइन ?
सहकारीको यत्रो होहाल्ला छ । व्यक्तिले लुट्छ कि सरकारको संरक्षणमा ठगले ठग्छ ? त्यसकारण राज्यले पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । लुटेको पैसा सरकारले खोजी गरेर जायजेथा कहाँबाट हुन्छ पीडितको पैसा मिलाउनुपर्छ । होइन भने जनताको सरकारप्रति, राजनेताप्रति यति घृणा देख्दा मलाई चिन्ता छ । लोकतन्त्रक कसैले गणतन्त्र दिएको होइन, लडेर ल्याएको हो । मुख्यमन्त्री, प्रधानमन्त्री, मन्त्री भएपछि जनतालाई दिएको के हो ? महँगी भ्रष्टाचार, राष्ट्रघात होइन ? ल भन्नुस् त ?
अमेरिकी सरकारले युएसएड फिर्ता लियो । एमसिसी त लिएन । किन फिर्ता लिएन ? उद्देश्य त अर्कै छ । यसभित्रको खेल त इन्डाे–प्यासिफिक रणनीति हो भनेका थियौँ । १२ बुँदेको खोल ओढाएर तपाईंले पारित गरेको होइन ?
हामी सच्चिनुपर्छ । हामी सच्चिएनाैँ भने लोकतन्त्र र गणतन्त्र मात्र होइन, राष्ट्र नै संकटमा छ । शक्तिराष्ट्रले प्ले ग्राउन्ड बनाउन खोजेका छन् । देश बचाउन, बचाइराख्नु छ । राजनीति गर्ने इमानदार, चरित्रवान हुनुपर्छ । तर, आफ्नो लागि, आफ्ना परिवार, नातागोता, पार्टीका मान्छे जोगाउनका लागि भइरहेको छ ।
यहाँ त सत्ता र शक्ति भएकालाई केही पनि नहुने, सत्ताबाहिर हुँदा साथीहरू उफ्रिनुभएको छ । उहाँहरूको उफ्राइलाई म समर्थन गर्दिनँ । एउटा कुरा के हो भने सत्ता भएकाले भ्रष्टाचार गरे पनि, घुस खाए पनि, जे गरे पनि हुने, स्वयं अहिलेको रास्वपा सभापति दुईपटक गृहमन्त्री हुँदा चोखो हुनुहुन्थ्यो । यही प्रधानमन्त्रीले भनेको होइन, उहाँ चोखो हुनुहुन्छ, महान्यायाधिवक्ता र आइजिपीले भनेको होइन, उहाँ चोखो हुनुहुन्छ भनेर । यस्तो गति हो ? हामीले राजनीति गरेको सत्ता र शक्ति दुरुपयोग र कमाउनै हो ?