राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन् । प्रधानमन्त्रीनिकटका व्यक्तिहरूले करोड–करोडको अफर गरिरहेको उनको भनाइ छ ।
शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै उनले भने–
प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्नुभयो । तर, सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिराखेको छ । भ्रष्टाचार निवारण ऐन विधेयक पेस हुँदा कुनै पनि पदाधिकारी आफ्नो पदबाट बिदा भएपछि जिम्मेवारी बस्दा गरेको भष्टाचारको पाँच वर्षभित्र उजुरी गरिसक्नु हदम्याद राख्ने प्रस्ताव चौतर्फी विरोधबाट हट्यो । तर, प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो । हामीले त्यस्तो लेखेको थिएन, ल्याएको थिएन भनेर पक्षमा बोल्नुभयो भनेपछि कि प्रधानमन्त्रीले हेर्नुभएको छैन वा भ्रममा हुनुहुन्छ । ऐनको कुरा मात्र होइन, अर्काे राजस्व विभाग प्रधानमन्त्रीमातहत राखिएको छ । त्यसले अहिले पनि प्रधानमन्त्रीमातहत छौँ, कुनै नेतालाई नभन्नु, भन्यो भने दुःख पाउनुहुन्छ भनेर व्यापारीलाई सताएर पैसा उठाइएको छ । अहिले कुन व्यापारीको पसलमा छापा मार्याे भनेर बिल नमिलेको सामान नभेटिएला ? खुला बोर्डरबाट छोडिदिएको छ । छापा मार्ने अनि सल्लाह गर्न आऊ भन्ने भइरहेको छ ।
तपाईंको ६ महिने कार्यकालमा अहिले पनि तपाईंवरिपरिका मान्छेले सरकारले नियुक्त गर्ने पदहरूमा करोड–करोड अफर गरिरहनुभएको छ । तपाईंले गर्नुहुन्छ गर्नुहुन्नँ थाहा छैन, तपाईंका वरिपरिकाले भ्रष्टाचार गरिराखेका छन् । तपाईं सूचनाबाट विमुख हुनुहुन्छ । अहिले पनि भ्रष्टाचार चरम रूपमा छ । तपाईंका वरिपरिकाहरू भ्रष्टाचारमा छन् । उठ्ती–पुठ्तीमा छन् । सरकारले निर्माण व्यवसायीलाई दिने भुक्तानीमा समेत पैसा उठाइरहेका छन् । सरकारले ऐन कानुनै बनाएर जुन हिसाबले भ्रष्टचारीलाई संरक्षण दिने काम जुन गरेको छ, त्यो रोकिनुपर्छ ।
भिडियोः