जलवायु परिवर्तनले प्रकोपको आवृत्ति र तीव्रता, समुदाय र व्यक्तिहरूको जोखिम एवं पानी तथा खाद्य सुरक्षामा तनाव बढाउँछ
एक्काइसौँ शताब्दीमा जलवायु परिवर्तनबारे कुरा नगरी वातावरणबारे कुरा गर्नु लगभग असम्भव छ भने प्राकृतिक प्रकोपबारे कुरा नगरी जलवायु परिवर्तनबारे कुरा गर्नु पनि सम्भव छैन । विश्वव्यापी तापक्रम वृद्धि, बढ्दो समुद्री सतह र बारम्बार खडेरी सबै उही कथाका अंश हुन् । तीव्र जलवायु प्रेरित बाढी, आँधीबेहरी, खडेरी, तातो हावाको लहर (लु), आगलागीजस्ता प्रकोप विश्वव्यापी रूपमा बढ्दै गएका छन् । एकै समयमा वायुमण्डलमा हरितगृह ग्यासको बढ्दो घनत्वसँगै तापक्रम औसतमा बढ्दै गएको छ र थप परिवर्तनशील एवं बिकराल हुँदै गइरहेको छ । वर्षा पनि थप परिवर्तनशील र बिकराल भएको छ ।
कुनै स्थान विशेषमा लामो अन्तरालमा औसत मौसम अर्थात् तापक्रम, वर्षा, हावाको बहाव, आद्र्रता इत्यादिमा अनुभव गरिएको अर्थपूर्ण परिवर्तन नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचनागत महासन्धि (युएनएफसिसिसी) ले जलवायु परिवर्तनलाई मानव सिर्जित गतिविधिका रूपमा व्याख्या गर्दै यसले वायुमण्डलको संरचनामै परिवर्तन ल्याउन सक्ने र यो प्रकृतिमाथि मानवीय क्रियाकलापले गरेको हस्तक्षेपको परिणाम भएको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का अनुसार विपत् समाज वा समुदायका कार्यमा गम्भीर अवरोध हो, जसले गर्दा व्यापक मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ, जुन त्यो समाज वा समुदायका आफ्नै स्रोत प्रयोग गरेर सामना गर्ने क्षमताभन्दा अधिक हुन्छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले भनेका छन्, ‘जलवायु परिवर्तन हाम्रो समयको परिभाषित मुद्दा हो । हामी हरेक दिन कार्य गर्न असफल हुनु भनेको त्यस्तो भाग्यको नजिक पाइला चाल्नु हो, जुन भाग्य हामीमध्ये कोही पनि चाहँदैनौँ, जुन भाग्य पुस्ताभरि मानवजाति र पृथ्वीमा जीवनलाई भएको क्षतिमा प्रतिध्वनित हुनेछ ।’ जलवायु संकट पृथ्वी र मानवले सामना गरिरहेको सबैभन्दा ठुलो आर्थिक, सामाजिक र वातावरणीय खतरा हो । औद्योगीकरण र वन फँडानीको परिणामस्वरूप वायुमण्डलमा हरितगृह ग्यासको सञ्चयबाट उत्पन्न हुने आँधीबेहरी, खडेरी र अन्य खतरामा भएको वृद्धि स्पष्ट रूपमा प्राकृतिक होइनन् ।
विभिन्न निकायका अध्ययनमा उल्लेख भएअनुसार जलवायुसम्बन्धी प्रकोपहरू विगत बीस वर्षको तुलनामा लगभग दोब्बर भएका छन् । विश्वव्यापी उत्सर्जनमा सबैभन्दा कम योगदान पुर्याउने मुलुक र त्यहाँका बासिन्दाले जलवायु आपत्कालको सबैभन्दा खराब प्रभाव अनुभव गरिरहेका छन् । जलवायु परिवर्तनले प्रकोप जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्कसहित दिगो विकासका लागि दिगो विकास लक्ष्य, २०१६–२०३० प्राप्त गर्ने क्षमतालाई कमजोर बनाइरहेको छ । तीव्र गतिको हावा, वर्षामा कमी, लामो समयसम्मको खडेरी र बढ्दो गर्मीको परिणामस्वरूप भर्खरै अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको आगो जलवायु परिवर्तनको परिणाम हो ।
विभिन्न निकायका अध्ययन प्रतिवेदनअनुसार विश्वव्यापी उष्णता २.५ डिग्री सेल्सियससम्म वृद्धि हुँदा सबैभन्दा विनाशकारी आँधीबेहरी (चक्रवात्) आजको तुलनामा दोब्बर हुने अनुमान गरिएको छ । बढ्दो विश्वव्यापी तापक्रमसँगै थप खडेरी र आँधीबेहरीको तीव्रता बढ्ने सम्भावना हुन्छ । विश्वभर चरम खडेरीबाट पीडित मानिसको संख्या ८० वर्षभन्दा कम समयमा दोब्बर हुन सक्नेछ । प्रत्येक एक डिग्री सेल्सियस विश्वव्यापी उष्णतामा दैनिक अत्यधिक वर्षाका घटना लगभग सात प्रतिशतले तीव्र भई विश्वले बिकराल बाढीको सामना गर्नुपर्ने अवस्था आउनेछ । अत्यधिक गर्मी र आद्र्रताबाट हुने तातो हावाको लहरले सन् २१०० सम्ममा वार्षिक रूपमा एक अर्ब २० करोड मानिसलाई असर गर्न सक्नेछ । सन् २०५० सम्ममा मलेरियाजस्ता ‘भेक्टर’बाट हुने रोग बोक्ने लामखुट्टेले अनुमानित ५० करोडभन्दा बढी मानिसलाई असर गर्न सक्नेछ । समुद्री सतह वृद्धि भई तटीय बाढीका घटनाले विश्वव्यापी कुल गार्हस्थ उत्पादनको २० प्रतिशतसम्मको सम्पत्तिलाई खतरामा पार्न सक्नेछ । सन् २०३० सम्ममा जंगली आगोको सम्पर्कमा रहेका क्षेत्रमा आगलागीको समयावधि अहिलेको भन्दा तीन महिना लामो हुन सक्नेछ ।
सन् २१०० सम्म विश्वव्यापी तापक्रम १.१ देखि ६.४ डिग्री सेल्सियसले बढ्नेछ । समुद्री सतह १८ देखि ५९ सेन्टिमिटरसम्म बढ्नेछ । समुद्रहरू बढी अम्लीय हुनेछन् । तातो लहर र भारी वर्षा बढ्नेछ । उष्ण प्रदेशीय चक्रवात्मा वृद्धि हुनेछ । हिमालय क्षेत्रमा हिमनदी निरन्तर पग्लनेछन् । बाढी, चट्टानी हिमस्खलन र पानीका स्रोत सुक्ने दर बढ्नेछ । एउटा अध्ययनले सन् २०५० सम्ममा बाढीको लागत करिब ११ अर्ब डलरले बढ्ने अनुमान छ । विश्वमा करिब तीन अर्ब ६० करोड मानिस जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको क्षेत्रमा बसोवास गर्छन् । गरिब देशका मानिस र धनी देशका गरिब मानिस पीडित हुने सम्भावना अधिक छ । जलवायु संकट तीव्र हुँदै जाँदा प्रकोप निम्त्याउने बिकराल मौसमको तीव्रता र आवृत्ति बढ्दै गएकामा कुनै शंका छैन । जलवायु संकटले निम्त्याउने प्रकोप वैज्ञानिकले सुरुमा अनुमान गरेकोभन्दा निकै खराब छन् ।
जलवायु परिवर्तनले प्रकोपको आवृत्ति र तीव्रता, समुदाय र व्यक्तिहरूको जोखिम एवं पानी तथा खाद्य सुरक्षामा तनाव बढाउँछ । हालका दिनमा मौसम र जलवायु जोखिममा वृद्धि भएको छ । पारिस्थितिक प्रणालीको क्षयीकरणमार्फत समुदायको प्राकृतिक प्रकोपको जोखिममा वृद्धि, पानीको स्रोतमा कमी र बाढीमा बढोत्तरी एवं जीविकोपार्जनमा परिवर्तन आएको छ । उच्च तापक्रम र घट्दो वर्षाले सुख्खापन बढाएको छ र खडेरी निम्त्याएको छ । समुद्री सतहको तापक्रम, हावा र हिउँको ढाँचामा आएको परिवर्तन पनि खडेरीसित जोडिएको छ । परिवर्तनशील जलवायुमा प्रकोपको सम्भावना बढेको छ । उही क्षेत्रमा बढ्दो खडेरीले जमिनको क्षय, बालीनालीमा क्षति वा उत्पादनमा कमी, पशुधनमा क्षति, जनसंख्याको विस्थापनजस्ता समस्या निम्त्याएको छ । धेरै शक्तिशाली चक्रवात्को संख्या र तीव्रतामा भएको वृद्धिले तटीय क्षेत्रमा ठुलो जनधनको क्षति गराउने अवस्था छ ।
उच्च तापक्रम र हिउँ पग्लने दरले हिमनदी/हिमताल विस्फोट गराउने र तल्लो तटीय बस्तीलाई बाढीले जोखिममा पार्ने परिस्थिति सिर्जना भएको छ । पर्यटकीय गन्तव्यमा परिवर्तन हुने स्थिति छ । जलवायु अनुकूलनका लागि विपत् जोखिम न्यूनीकरण रणनीति अर्थपूर्ण र उचित कदम हो । विपत् जोखिम न्यूनीकरण र जलवायु अनुकूलन दुवै धेरै अवस्थामा समान छन् । जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरण नजिकबाट जोडिएका छन् । युएनएफसिसीका अनुसार कार्बन उत्सर्जन घटाउने विषय रोकथाम हो भने जलवायु परिवर्तनको प्रभावसँग जुध्नु अनुकूलन हो । रोकथामले विपत् प्रभावलाई न्यूनीकरण गर्नुको सट्टा हरितगृह ग्यास घटाउने बुझाउँछ । अनुकूलनले केवल जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई कम गर्ने बुझाउँछ । वातावरणीय स्रोतको संरक्षण, भूमि प्रयोग योजना तथा भवन संहिता र तिनको कार्यान्वयन, जोखिम मूल्यांकन र प्रारम्भिक चेतावनी प्रणाली, जनचेतना र शिक्षासम्बन्धी कार्यक्रम, राजनीतिक प्रतिबद्धता, नीति, बजेट र प्रशासनिक प्रणालीले प्रभावकारी जोखिम न्यूनीकरण एजेन्डालाई चलायमान गराई सोको समर्थन गर्छ ।
हालका न्यूनीकरण प्रयास अपर्याप्त छन् । जोखिम सूचित अनुकूलनमा लगानी गर्न ढिलो भइरहेको छ । दीर्घकालीन प्रभाव र अवशिष्ट जोखिम व्यवस्थापन गर्ने कार्य अपर्याप्त छ । लगानी र वित्तीय प्रणाली उद्देश्य प्राप्तिका लागि पर्याप्त छैनन् । जलवायु परिवर्तन र प्रकोपले असमानतालाई बलियो बनाइरहेका छन् । विकास प्रक्रियामा विपत् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनबारे साझा सहमति नहुनु एक अवरोधका रूपमा रहेको छ । जीवाश्म इन्धनका कारण हाम्रो जलवायु प्रणाली खतराको स्थितिमा छ । हामी अनुकूलन गर्न सक्छौँ र थप लचिलो हुन सक्छौँ, तर यसका सीमा छन् । विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नु महत्वपूर्ण छ, तर हामी ट्र्याकबाट धेरै टाढा पुगिसकेका छौँ ।
दिगो शुद्ध शून्य कार्बन संसारमा रुपान्तरणका लागि ऊर्जा, खाद्य र स्वास्थ्यजस्ता प्रमुख क्षेत्रसहित द्रुत प्रणालीगत परिवर्तन आवश्यक पर्छ । पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियस सुरक्षित सीमाभित्र विश्वव्यापी औसत तापक्रम राख्न सामूहिक कार्य, राजनीतिक नेतृत्वको प्रतिबद्धता, दिगो वित्त र कार्यान्वयनको गतिलाई बढावा दिनुपर्छ । व्यापक रूपमा विपत् र जलवायु जोखिम व्यवस्थापनलाई अगाडि बढाउनुपर्ने देखिन्छ । समुदायलाई सशक्त बनाउने, मानव सिर्जित गतिविधिका रूपमा विपत् भएको यथार्थबारे जनचेतना अभिवृद्धि गर्ने र कसैलाई पनि पछाडि नछोड्ने सुनिश्चितता गर्न समाजलाई परिचालन गर्ने नीति अख्तियार गर्न जरुरी छ । वित्तीय रूपमा सबल अनुकूलन प्रयासले विपत् जोखिम न्यूनीकरण अभ्यासलाई स्तरीकृत गर्न, स्थानीय र विशेषज्ञ ज्ञानको आधारलाई बलियो बनाउन र परिमाणात्मक सूचनाको विकासलाई गति दिन मद्दत गर्छ । अनुकूलन पहल पनि विकास प्रक्रियामा एकीकृत गरिनुपर्छ । यसका लागि दिगो र उत्थानशील पूर्वाधार प्रणालीमा लगानी गर्ने, नवीनतम लगानी र वित्त संयन्त्रलाई प्रवर्द्धन गर्ने एवं विज्ञान, प्रमाण र प्रभावकारी सञ्चारमार्फत व्यवहार परिवर्तन गर्न अपरिहार्य छ । प्रारम्भिक चेतावनी क्षमता सुधार गर्न र विद्यमान चेतावनी प्रणालीलाई बलियो बनाउन अन्य कोषसँगै अनुकूलन कोष प्रयोग गरिनुपर्छ ।
जवाफदेहिताका लागि विश्वव्यापी रूपमा बलियो संयन्त्र निर्माण गर्नु आवश्यक छ । हामीले जीवाश्म इन्धन त्याग्नुपर्छ र हरितगृह ग्यासको उत्सर्जन घटाउनेतर्फ विशेष ध्यान दिनुपर्छ । प्रकृति हाम्रो सहयोगी हो भन्ने सोचको विकास गर्न आवश्यक छ । प्रभाव घटाउने, अनुकूलन क्षमता बढाउने, जोखिम मूल्यांकन गर्ने, पानी प्रणाली संरक्षण गर्ने, कृषि विधिमा सुधार गर्ने, जलस्रोतको व्यवस्थापन गर्ने, सुरक्षित क्षेत्रमा बस्ती विकास गर्ने, बलिया संरचना निर्माण गर्ने, जोखिमका कारक कम गर्ने, विपद् जोखिम न्यूनीकरण र अनुकूलनलाई जोड्न राष्ट्रिय समन्वय संयन्त्र विकास गर्ने, विपत् जोखिम न्यूनीकरण र अनुकूलन प्रयासको स्थितिमा आधारभूत मूल्यांमकन गर्ने, अनुकूलन योजना तयार गर्नेलगायत विषयमा ध्यान दिनु जरुरी छ ।
अतः हरितगृह ग्यास र जलवायुमा हुने परिवर्तनबिचको वैज्ञानिक सम्बन्धसँगै प्राकृतिक प्रकोपको बढ्दो मात्रा र वायुमण्डलमा मानव निर्मित हरितगृह ग्यास उत्सर्जनबिचको सम्बन्धलाई पनि ध्यान दिनु आवश्यक छ । यसको अर्थ जलवायु न्यूनीकरण र जलवायु अनुकूलनलाई प्रकोप जोखिम न्यूनीकरण सम्बद्ध कार्यको हिस्सा बनाउनुपर्छ । प्रत्येक वर्ष प्राकृतिक प्रकोपबाट हजारौँको मृत्यु हुन्छ र अर्बौं डलरको विपत्ति सहायता, वाणिज्यमा अवरोध र घर एवं महत्वपूर्ण पूर्वाधार विनाशको लागत बढाउँछ । प्राकृतिक प्रकोप र विश्वव्यापी उष्णताले विद्यमान जोखिमलाई मिश्रित गर्छ र दोहोरो खतरा निम्त्याउँछ । यी दुईबीच एकीकरण महत्वपूर्ण छ, तर विचार–विमर्शविना होइन ।
(केसी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हुन्)